उर्मिला चौधरी
मुक्त कमलरी विकास मञ्च
जन्म दर्ता गर्ने, नागरिकता बनाउने, विवाह दर्ता गर्ने, जग्गाको लालपुर्जा गर्ने आदि विषयमा थारु समुदाय धेरै टाढा थियो । पूर्वकमलरी उर्मिला चौधरीले नागरिकता बनाउँदामात्रै आफू जन्मेको मिति थाहा पाइन् । त्यो पनि आफ्नै प्रयासमा पत्ता लगाइन् आफू जन्मेको साल । आमालाई तिहारको बत्ती बालिसकेपछि उनको जन्म भएको भन्नेमात्रै थाहा थियो । त्यसैको आधारमा उनले आफ्नो जन्म मिति (२०४८ मंसिर) पत्ता लगाइन् र नागरिकता बनाइन् ।
उर्मिलाको जन्म दाङको गढवा–६ मानपुर गाउँमा अति निम्न वर्गको परिवारमा भएको थियो । उनका बुबा गाउँकै जमिनदारको घरमा कमैया बस्थे र आमा बेगाली गर्थिन् । उनको परिवार जमिनदारका घरमा बन्धकी नै थिए भन्दा पनि फरक पर्दैन । उनीहरूले काम गरेबापत न त ज्याला पाउँथे, न त महिनावारी तलब नै । उनका बुबाले साँझबिहानको खाना पाउँथे, आमाले निःशुल्क काम गरिदिन्थिन् । बुबाले पाएको भात घरमा ल्याएर छोराछोरीलाई खुवाउँथिन् । कहीलेकाहीँ खान नपाएर आमाबुबा नुन र मार खाएको त कहीलेकाहीँ भोकै सुतेको उनले देखेकी छिन् ।
सम्पत्तिको नामा उनीहरूसँग सानो एउटा घरमात्रै थियो । जोतेर खानलाई उनीहरूसँग कुनै जमिनको टुक्रा पनि थिएन । आमाबुबाले कमैया र बेगारी गरेर ल्याएको खानेकुरा खाएर उनीहरूको ९ जनाको परिवार पालिएको थियो । खाने मुख बढ्दै गएपछि उनीहरू भोकभोकै बस्नुपर्ने अवस्था आउन थाल्यो । उनको आमाबुबासँग छोराछोरी कमलरी र ग्वाला राख्नुको अर्को विकल्प थिएन । त्यसैले पालैपालो कमलरी र ग्वाला राख्न थाले । उनकी ठूली दिदी जमिनदारकै घरमा कमलरी बसिन् भने माइली दिदी वार्षिक २ सय रुपैयाँमा अर्कैको घरमा कमलरी बसिन् । दाजुभाइ पनि त्यसैगरी जमिनदारको घरमा गाईभैंसी चराउने काम गर्न थाले । खानका लागि उनीहरू अर्कैको घरमा काम गर्न बसे । ठूली दिदीको विवाहपछि माहिली दिदीलाई काठमाडौंमा कमलरी बसालियो । उनलाई पनि कमलरी बस्नुपर्ने बाध्यता आयो । उनकै दिदी बसेको साहुको छोरीको घरमा दाइजोस्वरूप उनलाई पठाउने निधो गर्यो उनको परिवारले ।
राप्ती नदीमा पुल नभएकाले दाजुले बोकेर नदी तारेर काठमाडौंको बस चढाएका थिए । त्यतिबेला उनी ६ वर्षकी थिइन् । पढाइदिने र बच्चा हेर्ने भनेर उनलाई काठमाडौं लगिएको थियो । कमलरीको अर्थ नबुझ्ने उनले के काम गर्नुपर्ने थाहा थिएन । त्यतिबेला गाउँमा सजिलै सस्तोमा काम गर्ने मान्छे पाइन्छ भन्ने सबैको बुझाइ थियो । त्यसैले माघी सुरु भएपछि धेरै मान्छेको भिडभाड हुन्थ्यो । कुखुराको बार्गेनिङ गरेजसरी मान्छेहरूको बार्गेनिङ हुन्थ्यो । दिदी अलि ठूली भई, बहिनीलाई लैजादाँ राम्रो हुन्छ । भनेजस्तो काम लगाउन सकिने, चुरोट, रक्सी, किन्न पठाउन सकिने भएकाले धेरैको रोजाइमा पर्थिन् उनी । बच्चालाई ललिपप दिएर फकाएझैं नयाँ लुगा र जुत्ता दिएर उनलाई फकाइएको थियो । मिठो खान र जुत्ता लगाउन पाएपछि उनी पनि दंग भइन् र काठमाडौं जानका लागि तयार भएकी थिइन् । “नयाँ चप्पल नलगाएको मान्छे, लगाउन पाएपछि दंग परेर चुइँ चुइँ गर्छ कि भनेर उफ्रन्थें,” उर्मिला सम्झिन्छिन् ।
काठमाडौं आएपछि आफूभन्दा ठूला केटाकेटीलाई हेर्ने जिम्मा दिइयो । ती केटाकेटीको झोला बोकेर स्कुल पठाउन र लिन जान्थिन् । उनलाई सबैले थरुनी भनेर बोलाउँथे । आफ्नो नामले नबोलाएकाले दुःखी हुन्थिन् । तर, उनको गुनासो सुनिदिने कोही थिएन । पढ्छु भन्दा ‘तँलाई काम गर्न ल्याएको, खुरुक्क काम गर किन पढ्नुपर्यो’ भन्दै हकार्थे । उनी त्यहाँ करिब ७ वर्ष बसिन् । पढ्ने रहर पूरा गर्न उनले मालिकका छोराछोरी पढेको देखेर लेख्न पढ्न सिकिन् । भाँडा माझ्दा साबुनले लेखेर, घर बढार्दा पनि उनले लेख्न थालिन् र आफ्नो नाम लेख्न सिकिन् । उनलाई दोस्रो घरमा लगियो । त्यहाँ रहँदासम्म उनले कैदीको जीवनझैं बिताउनुपर्यो । ४ वर्षसम्म परिवारसँग सम्र्पकविहीन बनाइयो । उनको परिवारले हराई भन्ने ठानेका थिए । “धेरै ठाउँ खोज्नुभएछ, कतै फेला नपरेपछि खोज्न छाड्नु भएको रहेछ । माया नै मारिसक्नु भा रैछ,” उर्मिला भन्छिन् ।
पहिले बसेको घरभन्दा अलि फरक व्यवहार पाइन् उनले । उनलाई घर बाहिर निस्कन बन्देज लगाइएको थियो । अनुमतिबिना निस्कन पाउँदैनथिन् । पिँजडामा राखिएको चरीजस्तै राखिएको थियो । उनले घरको सम्पूर्ण काम गर्थिन् । काम बिगारे गालीसमेत खानुपथ्र्यो । उनले खाने भाँडामात्र होइन, खाने, सुत्ने घरसमेत छुट्टै थियो । सबैलाई मैसाप, महारानी र महाराजा भनेर बोलाउनुपथ्र्यो । माघी पर्व आएको टिभी र रेडियो सुनेर थाहा पाउँथिन् । घरमा आएका पाहुनाको लागि मिठो मिठो खाना पकाउँथिन् र बास्ना सुँघेर चित्त बुझाउँथिन् । ती खाना खान उनलाई अनुमति थिएन ।
यसरी मुक्त भइन्
मालिकनीको कपालमा तेलले मसाज गर्दै उनी टिभी हेरिरहेकी थिइन् । तीनकुनेमा दाङ, कैलाली, कञ्चनपुर र बर्दियाका मुक्त कमैया आन्दोलनमा बसेका थिए । जाडोको समय थियो । कम्बल ओढेर कुक्रुक्क बसेको दाइलाई देखिन् । दाइलाई देखेपछि उनी झसंग झस्किइन् । मालिक्नीलाई दाजुलाई भेट्न बिन्ती चढाइन् । उनले जान अनुमति पाइनन् । दुई दिन खाना नखाई जिद्दी गरिन् । उनको जिद्दीको अगाडि मालिक्नीको केही सीप लागेन र भेटाइदिन राजी भइन् । उनको हात चिसोले फुटेका थिए । त्यही हात लुकाउन उनलाई गोजी भएको स्वेटर दिइयो । दाइलाई हात नदेखाउनु भनेर मालिक्नीले भनेको सम्झिइन् । दाजुलाई भेट्दा पनि हात ननिकालेर नमस्ते गरिन् । केही कुरा गरेपछि पुनः घर फर्किइन् । दाइलाई भेटेर आएपछि उनी खुशीले रातभरि निदाउनसमेत सकिनन् । घर सम्झिइन्, घर फर्किन कौतूहल जाग्यो । घर फर्किने कुरा गर्न थालिन् । उनले दाइलाई बोलाइन् । घर जाने भनेर उनले एक हप्तासम्म अनसन नै बसिन् । धेरै बिन्ती गरिन् । परिवारलाई भेटेर फेरि फर्किने वाचा गरेपछि घर जाने अनुमति पाइन् । उनका दाइ काठमाडौं लिन आए । अनि काठमाडौं फेरि कहिले नफर्किने गरी दाङ गइन् । २०६३ सालमा उनी कमलहरीबाट मुक्त भइन् ।
मुक्त कमलरीको अभियन्ता
देश नै अन्दोलनमय भएको थियो । २०६२/६३ मा लोकतन्त्र बहालीको आन्दोलन चलिरहेको थियो । कमैया, कमलरीहरू पनि आन्दोलनमा उत्रिएका थिए । घर नपुग्दै विद्यालयमा कमलरी राख्न पाइँदैन भनेर नाटकबाट देखाइएको उनले देखिन् । सानो मान्छे स्कुलमा, ठूलो मान्छे काममा, कमलरी राख्ने होसियार लेखिएको प्ले कार्ड, ब्यानर बोकेर चर्को चर्को स्वरमा नारा लगाइरहेका थिए । उनी घर नगई दिनभरि कार्यक्रममा बसिन् । यतैबाट कमलरी मुक्त गर्ने अभियानमा लाग्नुपर्छ भन्ने सोचेर अभियानमा होमिइन् । त्यहाँ सबैले उनलाई ट्वाँ परेर हेरिरहेका थिए । आफ्नो सबै कथा व्यथा सुनाएपछि उनलाई अभियानमा सामेल बनाए । अभियानले चर्को रूप लिइरहेको थियो । कमलरी संगठित भइसकेका थिए । एफएनसीको सहयोगमा कञ्चन चौधरीको अध्यक्षमा ‘कमलरी मुक्तका लागि साझा मञ्च’ गाउँ समिति गठन गरे । त्यतिबेला उनी उपाध्यक्ष भइन् । अभियानले सफलता पाउँदै गएपछि उनको नेतृत्वमा जिल्ला समिति गठन भयो । उनीहरूले घर–घरमा गएर कमलरी मुक्त गर्न थाले । अहिले त्यसको नाम परिर्वतन भएर ‘मुक्त कमलरी विकास मञ्च’ राखिएको छ ।
अभियानमा लाग्दा उनलाई ज्यान जोगाउनै हम्मे भयो । कमलरी मुक्त गर्न जाँदा बोक्सी भन्ने, लछारपछार गर्ने, मार्नेसमेत धम्की दिएका थिए । घरमा बस्न नसकेर होस्टेलमा बस्नुपर्यो ।
०६४ सालमा सरकारले नै दाङलाई मुक्त कमलरी जिल्ला घोषणा गर्यो । जिल्लाबाट ८ देखि २० वर्षका करिब ५ हजार कमलरी मुक्त गरिएका थिए । तर, त्यतिबेला सरकारले पूरा गर्ने भनेको १० बुँदे माग हालसम्म पनि पूरा भएको छैन । ती माग पूरा गर्न उनी अझै पनि लागिपरेकी छन् ।
बाह्रखरीबाट साभार