कमलरी [कविता]

अनन्त वाग्ले

मैले घरका भुइँ र भित्ता पुछिवरी
दूध ल्याएर, पानी भरेर
हरचिज ठीक पारेर चिया पुर्याीएपछि
मालिकले पल्टाए अखबार र पढे मेरो मुक्तिको खबर

मैले धोइदिएका अन्तरवस्त्रहरू फेरेर
डान्स पार्टीबाट फिरेकी मेमसाहेब
टीभीमा हेर्दैछिन् मेरो मुक्तिको खबर

विजयको माला लगाएर अन्तरवार्ता दिँदैछन्
हाम्रो मुक्ति घोषणा गराउने संस्थाका हर्ताकर्ता
र, म मालिकको खेतको माटोमा मुछिँदैछु निरन्तर

अहिले पनि उस्तै छ मेरो पसिना
उही छ मेरो दैनिकी
मेरो पहिरन झन् मैलिएको छ
मेरो यौवन हुर्कन नपाउँदै लुटिएको छ
मैले मेरै आँगन पाउन
डिलमा आगो सल्काउनुपरेको छ
मैले आफ्नै शरीर आफ्नो भन्न
सडकमा घाँटी सुकाउनुपरेको छ

खै कहाँ भयो महोदय मेरो मुक्ति
कहाँ गर्न पायो मेरो मन, मगज र देहले मुक्तिको अनुभव
झुन्डाउनु पर्दैन मेरो नामअगाडि अब ‘मुक्त’विशेषण

चाहिएन मलाई मुक्ति र स्वतन्त्रता
दया, आश्वासन र सहानुभूति
तपाईं गणतान्त्रिक मुलुकका
श्री ३ चन्द्रशमशेरहरूलाई
सबैसबै फिर्ता दिन्छु म
यो स्वतन्त्रता, यो मुक्ति र यो दया
तिमी पनि फिर्ता देऊ मलाई मेरो बैँस,
मेरो सपना र तिमीले लुटेको मेरो विगत।

Leave a Reply

Your email address will not be published.