महोत्तरीमा भूत मेला

अनादीकालदेखि नै बडादसैँका बेला भूतमेलाका लागि विख्यात महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला सुरु भएको छ ।

जिल्लाको सोनामाई–४ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात रहेको छ । हरेक वर्ष वडादसैंको षष्ठीदेखि सोनामाईमा लाग्ने भूतमेला यस वर्ष पनि आजदेखि सुरु भएको सोनामाई देवीका पुजारी कामेश्वर झाले बताए ।

वडादसैंको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौँ पीडित र दर्शनार्थीको भीड लाग्ने गर्दछ । भूतप्रेत, बोक्साबोक्सी र दुष्टात्माले सताइएका हजाराँै पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असीम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको छ ।

वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेका सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै को कसबाट सताइएको भन्नेबारे आफैं भन्न थाल्छन् भने देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै, रुँदै, हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन् र दरबारमा पुगेका पीडित माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी झगरु झाले बताए ।

षष्ठीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौँडा, धरान, विराटगर र काठमाडौँदेखि तथा भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको माताका अर्का पुजारी रमेश झाले बताए ।

घरघरमा भूतप्रेतले रातदिन दुखी र पीडित भएका कारनी (पीडित) आ–आफ्ना घरबाट रुँदै कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको झाँक्रीहरु बताउँछन् । सोनामाई शक्तिपीठमा दर्जनौँ धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने चौबिसै घन्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितको पीडाहरण गर्ने गरेको अर्का पुजारी घनश्याम झाले बताए ।

माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत र बोक्साबोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ । प्रत्येक वर्ष लाखौँ दर्शनार्थी मेला भर्न आउने यस सोनामाई शक्तिपीठमा यस वर्ष सोनामाईको भूतमेलामा १५ लाख देखि २० लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाई पूजा समितिले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.