अविनाश चौधरी।
करिब एक महिनाको सुख्खापछि मनसुनको अन्त्यतिर मङ्गलबार बिहान करिब तीन-चार बजेबाट कैलालीमा ठूलो वर्षा भयो । नदीनाला भरिए । बाढीको कहर मच्चियो । मोहना र खुटिया दुवै नदीमा आएको बाढीले खतराको घन्टी बजाउँदा ललितपुरबासी मिठो निन्द्रामै थिए । झिसमिसे बिहान हुँदासम्म बाढी घरमा पस्दा उनीहरुको निन्द्रामात्रै भताभुङ्ग भएन । यसअघि सुख्खा भएका कारण यसवर्ष दसै, तिहार राम्ररी मनाउने चकनाचुर भयो सपना पनि ।
स्थानीयहरु चारैतिरबाट बाढीले घेरिए । कतै भाग्न पनि पाएनन् । आवश्यक सामान र ज्यान त जोगाए । तर, घर डुवेका कारण दिनभरी भोकभोकै बस्न बाध्य भएका थिए । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको ललितपुरमा डुवान समस्या नौलो होईन । उनीहरु विगत २६ वर्षदेखि निरन्तर डुब्दै आएका छन् ।
‘डुवानमा नपरेको कुनै वर्ष छैन’, स्थानीय प्रेमबहादुर चौधरीले भने–‘२०४७ सालदेखि हरेक वर्ष डुब्दै आएका छौं । यो वर्षमात्रै घर डुवानमा परेको दुई पटक भयो ।’ वर्सेनि डुवानमा पर्दै आएका कारण उनीहरुले घर पनि राम्रो बनाउन पाएका छैनन् । झुपडीमा बस्दै आएका स्थानीयहरु जसोतसो सोही ठाउँमा गुजारा चलाएका छन् ।
निरन्तर डुवान हुने गरेकाले बस्ती सार्न विगतदेखि नै माग गर्दै आएको भौनु चौधरीले बताए । ‘यस्तो दुःख पाएर हामीलाई यहि ठाउँमा बसी रहनु मन छैन’, उनले भने–‘तर, हाम्रो सुनुवाई कसले गरोस ? बस्ती सार्नु पर्ने चित्कार कसैले बुझेन । वर्सेनि यहि पीडा खेप्न बाध्य छौं ।’
घरजग्गा नभएका उनीहरुलाई सुकुम्बासी आयोगले २०४० सालमा ललितपुरमा बसाएको हो । सुरुमा ६०÷६५ घरपरिवार बसेपनि बाढीकै कारण केहि अन्यत्र विस्थापित हुँदा हाल ३० परिवारको सो गाउँमा बसोबास रहेको छ । नदी बगरमा बसाइएका उनीहरुले २०४० सालदेखि नै सामान्य खेतीपाती गर्दै जग्गाजमिन जोडेका छन् ।
खेतीपातीका लागि जग्गाजमिन पनि जोडेकाले अब चटक्कै छाड्न पनि नसकिने कतिपयको भनाइ छ । तर, बाढीको समस्याले भने बस्न नसकिने अवस्था पनि सृजना भएको कृष्णीदेवी चौधरीले बताइन् । उनले भनिन्–‘यो ठाउँ चटक्कै छोडेर जाने मन त छैन । माटोसंग साइनो गाँसिएको छ । तर, हरेक वर्ष डुवान हुने हुनाले यहि ठाउँमा बसिरहौं भन्ने पनि अवस्था छैन ।’
२०४७ सालमा व्यापक डुवान भएपछि त्यहि बेला नै ललितपुरबासीले गाउँ अन्यत्र सार्नु पर्ने आवाज उठाएका थिए । तर, सुनुवाई भएन भन्छन् रामबहादुर चौधरी । उनका अनुसार त्यसपछि निरन्तर डुवान बढ्दै गयो । बस्ती सार्ने आवाज पनि उठि नै रह्यो । बस्ती सार्न माग गर्दागर्दै २६ वर्ष पुगेपनि सुनुवाई नभएको चौधरीको गुनासो छ ।
‘यो ठाउँमा जग्गाजमिन पाए पनि धेरै कुरा गुमाएका छौं’, उनले भने–‘कहिलेसम्म डुवान समस्या झेल्दै एक पोका चाउचाउ र चिउराले गुजारा गर्ने ?’ मङ्गलवारको बाढीले खेतमा पाक्ने तयारीमा रहेको धान पनि डुवायो । स्थानीयको धानखेत नदीजस्तै देखिएको थियो । बाढीले करिब २२ बिघा जमिनमा लगाइएको धान डुवाएको स्थानीयले बताए । ‘घर भित्र्याउने अवस्थाको धान डुवेपछि भोकमरी बढ्ने चिन्ताले सताएको छ’, भौनुले अगाडि थपे–‘खेतमै नदीजस्तै पानी बगेपछि धान पाउने के आश गर्नु !’
उपमहानगरपालिकाको बासिन्दा रहेका ललितपुरबासीले डुवान समस्याबाट त छुटकारा पाउन सकेका छैनन् । उनीहरुले बाढी आएपछि भाग्ने बाटो पनि पाएका छैनन् । अन्यत्रतिर ग्राभेल र कालोपत्रेको माग भइरहँदा हिड्नका लागि कच्ची बाटो बनाइदिनु पर्ने ललितपुरको माग एकादेशको कथा जस्तै भइसकेको छ ।
‘चारैतिरबाट बाढीको पानीले गाउँ घेर्छ’, भौनुले अगाडि थपे–‘भाग्ने बाटो पनि नभएकाले टापु जस्तै भएको बस्तीमा बसेर ज्यान जोगाउँदै आएका छौं । घर पनि सुरक्षित छैन ।’ ललितपुर गाउँको दक्षिण र पूर्वतिर मोहना नदी पर्दछ । उत्तरतिर घुरहा नदी । गाउँको पश्चिमतिर हुँदै मोहनाको बाढी घुरहातिर बगेपछि ललितपुबासीले कतै भाग्ने ठाउँ पनि पाउँदैनन् । चारैतिरबाट पानीले घेरिएपछि बस्तीमै जसोतसो बसेर ज्यान जोगाउँदै आएका छन् । बाढी नभएको बेला उनीहरु खेतको डिल भएर हिड्ने गरेका छन् ।
‘अहिलेसम्म घरमात्रै डुब्ने गरेकाले जसोतसो जोगिएकै छौं’, मङ्गलवार डुवान भएको घरमामाथि बस्नका लागि झुण्ड्याइएका खाट देखाउँदै कृष्णीले भनिन्–‘तर, घर बगाउने गरी बाढी आयो भने हाम्रो ज्यान सुरक्षित रहँदैन । घरसंगै बाढीमै बग्छौं होला ।’
उक्त ठाउँमा जग्गाजमिन भएकाले नजिकको सुरक्षित ठाउँमा बस्ती सार्न स्थानीयको माग छ । नजिकै सुरक्षित ठाउँमा बस्ती सारिएमा ज्यान पनि जोगिने र ललितपुरमा भएको जग्गाजमिनमा खेतीपाती गरेर गुजारा पनि गर्न पाईने उनीहरुले सुनाएका छन् । ललितपुरका बासिन्दाहरु जोखिमबाट जोगिने उपायको प्रतिक्षामा बसेका छन् ।