राप्तीपारीका ६ गाविसलाई टुक्र्याउन नदिने

पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । गढवा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार राप्तीपारीका ६ वटै गाबिसका राजनितिक दलहरु र संघसंस्थाहरुको उपस्थिती रहेको एक अन्तरक्रिया कार्यक्रमले यस्तो निश्कर्ष निकालेको हो ।

यसअघि स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितीले राप्तीपारीका गढवा, कोइलावास, बेला, राजपुर र सतबरिया गाविसलाई मिलाएर एउटा गाउँपालिका बनाउने भनि प्रस्तावित खाका ल्याएको थियो ।

उक्त खाकाप्रति देउखुरीबाटै चौतर्फी बिरोद्ध हुदै आएको छ । सतबरिया गाबिसलाई गढवामा मिलाउनु, गोबरडिहालाई लालमटियामा र गंगापरस्पुरलाई लमही नगरपालिकामा मिसाउनु अमिल्दो अबैज्ञानिक प्रस्ताव भएकोले राप्ती दक्षिणका दलहरु तथा आम नागरीकले जोडदार बिरोध गरिरहेका छन् ।

राप्तीपारीका कुनै पनि गाबिस र भूगोल टुक्रिने गरी गाउँपालिका बनाउन नदिने नेकपा माओवादी केन्द्र गोबरडिहाका अध्यक्ष तिलक घिमिरेले बताए। उनले बिकासे गतिबिधिलाई सञ्चारमाध्यमहरुले समेत उपेक्षा गर्ने गरेको बताए। ‘उनीहरुका पक्षमा थोरै गरेपनि सञ्चार माध्यमले स्थान दिने तर हाम्रा गतिबिधिलाई ओझल पार्ने गरिन्छ, अब त्यस्तो नहोस,’ उनले भने।

लालमटियाले गोबरडिहाबासीहरुलाई सधै सौतेलो ब्यबहार गरेको उनको आरोप थियो। बिपन्नता, भौगोलिक दुर्गमता, जनसंख्या आदिका कारणले उत्तरी देउखुरीले सधै दक्षिण देउखुरीलाई हेपिरहेको यादव समाज सेवा संघका महासचिव नरेन्द्र यादवले बताए।

‘दाङले देउखुरीलाई हेप्ने र देउखुरीको उत्तरी बेल्टले दक्षिण देउखुरीलाई हेप्ने गरेको कुनै नौलो कुरा होइन, त्यसैले राप्तीपारीको कुनै पनि भू–भागलाई हामी उत्तर देउखुरीसंग मिसाउन दिने छैनौं,’ नेपाली काँग्रेस गढवाका इकाइ सभापति बालचन्द्र हमालले भने।

राप्तीपारीका ६ गाबिसमा ६३ हजारबढी जनसंख्या रहेको र यसलाई एक राखेपछि भबिष्यमा नगरपालिका पनि बनाउन सकिने एमाले गढवाका अध्यक्ष रामप्रसाद गैरेले बताए।

संघर्षका लागि समन्वय समिति गठन

यसैबीच शुक्रवार गढवामा आयोजित सर्बपक्षिय सर्बदलिय भेलाबाट राप्तीपारीका ६ गाबिसहरुलाई टुक्रिन नदिन आन्दोलन, समन्वय र संघर्षका लागि गढवा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय समन्वय समिती गठन भएको भेलापछि जारी गरिएको बिज्ञप्तीमा जनाईएको छ ।

जसका सदस्यहरुमा रघुनन्दन चौधरी(राजु), रामप्रसाद गैरे, तिलक घिमिरे, लिला यादव, दिनमणी आचार्य, रामदास यादव(आर.डी.), बिष्णुमाया घिमिरे, दिपककुमार यादव, नरेन्द्र यादव, बालचन्द्र हमाल ,हुकुमराज यादव, बिरबहादुर आले, कैलास चौधरी र सबिना खातुन रहनु भएको छ भने राजपुर तथा कोईलावास गाबिसका एक एक जना प्रतिनिधि रहने गठित समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.