अमरेन्द्र यादव।
असार अन्तिम साता जब केपी ओली नेतृत्वको सरकारबाट सत्तारुढ गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लियो, पुरानो सरकार ढल्ने र नयाँ सरकार बन्ने प्रक्रिया सुरु भयो। नयाँ परिस्थितिमा सरकारपक्षीय नेताहरु सरकार बचाउने दौडधुपमा सक्रिय भए भने विपक्षी नेताहरु नयाँ सरकार बनाउने कसरतमा।
फलतः सिंहदरबारदेखि बालुवाटारसम्म र नेताहरुको निवासदेखि पार्टी कार्यालयसम्म नयाँखालको राजनीतिक भेटघाट र छलफलले तीव्रता भयो। यही तीव्रतर परिदृष्यमा एउटा अलिक फरक चित्र दृष्टिगोचर भइरहयो। त्यो फरक चित्रका निर्माता थिए तत्कालीन सरकारका उपप्रधान मन्त्री तथा भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदार।
गच्छदार कहिले लुसुक्क प्रचण्ड निवास लाजिम्पाट छिर्थे त कुनै बेला देउवा निवास बूढानीलकण्ठ पस्थे। ओली सरकारले फेरि एक पटक जीवनदान पाइहाल्ला कि भनेर बालुवाटार पनि धाइरहन्थे। उनी मन्त्री निवासबाट सुटुक्क निस्कन्थे। कसैलाई थाहै नदिइ नेताहरुलाई भेट्न जान्थे। तर भेटघाटका लागि नेता निवासभित्र पस्नेबित्तिकै मिडिया पनि टुप्लुक्क त्यहाँ पुगिहाल्थ्यो। अनि मन नलागी नलागी मिडियासामु भेटघाटको उद्देश्य प्रष्ट्याउन उनी बाध्य हुन्थे। तर मिडियासामु मुखले जे भट्याए पनि जनताले यसपालि अलिकति पनि धोका खाएनन्। टेलिभिजनको पर्दामा यसपालि आमजनताले जतिपटक उनलाई देखे, उनको बोलीमाथि विश्वास गरेनन्। जनताले पर्दामा जति चोटि उनलाई देखे, उनको आँखामा लोभमात्र देखे। अनुहारमा निर्लज्जतामात्र पढे। अनि बुझिहाले कि उनी नयाँ सरकारमा आफ्ना लागि मन्त्रीका दुई थान कुर्सी सुरक्षित गर्न शीर्ष नेताहरुको घरघर धाइरहेका छन्।
गच्छदार सत्तालोलुपताका पर्यायवाची बनिसकेका छन्। यो मामलामा कमल थापा उनका निकटतम प्रतिद्वन्द्वी भए पनि उनलाई तत्काल कसैले उछिन्न सक्दैन। सत्ता राजनीतिमा हाम फालेदेखि उनी कति पटक मन्त्री भए, आफैंलाई थाहा छैन। सत्ता राजनीतिको धपेडीले गर्दा गन्न पनि भ्याएका छैनन्। सबभन्दा बढी पटक मन्त्री पद खानेमा उनी नेपाल प्रथम नै भइसके होलान्। उपप्रधान मन्त्री मात्रै तीन चोटि भइसके। अब यो जुनीमा उनले जति चोटि सत्तारोहण गर्नेछन्, उपप्रधान मन्त्रीको पद त सुनिश्चितै छ। यस्तै सिलसिला चलिरहे निकट भविष्यमै सबभन्दा धेरै पटक उपप्रधान मन्त्रीको पद पड्काएको विश्व रेकर्ड पनि उनकै नाममा हुनेछ।
२०४६ सालपछिको संसदीय राजनीतिमा मन्त्री पदका लागि उनले केसम्म गरेनन्? कहिले कोइरालाको विश्वासपात्र बनेर कुर्सी हत्याए। कहिले देउवाको दिल जितेर झण्डावाल गाडी चढे। त्यो सिलसिला आधा दर्जनभन्दा कम पटक चलेन। पहिलो संविधान सभा निर्वाचनको मुखमै जब उनी मधेसवादी राजनीतिमा आए। पार्टी प्रवेशको ६ महिनामै मन्त्री पद पड्काउने अवसर पाए। त्यसपछि फोरम फुटाए, माधव नेपालको सरकारमा उपप्रधान मन्त्री बने। प्रधान मन्त्री झलनाथ खनालको पालामा भाग्यले साथ दिएन, छट्पटिए। बाबुराम भट्टराईको सरकारमा ठूलो भाग खान मधेसी पार्टीहरुको मोर्चाबन्दी गरे। फलस्वरूप, उपप्रधान मन्त्रीसहित मालदार मन्त्रालयहरु पाए।
खिलराज रेग्मीको सरकारमा नियमले जान दिएन। चोर बाटो पनि थिएन। त्यसपछि सुशील कोइरालाको प्रधानमन्त्रित्व कालमा पनि तडि्पए। जब केपी ओलीको सरकार बन्न थाल्यो। उनी यति आतुर भए, यति धेरै बेचैन भए! उनलाई मधेसीहरुको रगतले रोक्न सकेन। उनलाई थारूहरुको आँसुले पनि छेक्न सकेन। जुन संविधान निर्माणलाई बहिष्कार गरेका थिए, जुन संविधानलाई रद्दीको टोकरीलायक भनेका थिए। त्यही संविधानको शपथ खाएर उनी रातारात मन्त्री बने। मधेसी राजनीतिको सबभन्दा पछिल्लो आगन्तुक उनी मधेसी नेतामध्ये सबभन्दा बढी पटक मन्त्री हुने सौभाग्य पाएका छन्।
मन्त्री र उपप्रधान मन्त्रीका पद त उनका लागि दालभात भइहालेे। यो जिन्दगीमा अब एउटा मात्रै सपना पूरा गर्न बाँकी छ। जुन एउटा मात्रै लक्ष्य भेट्टाउन बाँकी छ। त्यो हो– प्रधान मन्त्रीको कुर्सी। हुन त कार्यबाहक प्रधान मन्त्री कतिचोटि भइसके। तर त्यसले सिंहदरबारको भित्तामा प्रधान मन्त्रीका रूपमा उनको तस्बिर झुन्डिने होइन। त्यहाँ तस्बिर झुण्ड्याउन के गर्नुपर्छ? बालुवाटारमा विराजमान हुने उपाय के के हुन्? त्यसका लागि उनी जे पनि गर्न तयार छन्।
हुन त उनीसँग के नै बाँकी छ र? नैतिकता त उहिल्यै नै बेचिसके। राजनीतिक आस्था पनि धेरै पहिले नै खुइलिसक्यो। निष्ठा पनि छैन। मुद्दा र अडानको भण्डार पनि रित्तो छ। तैपनि उनीसँग अहिले पनि धेरै छन्। पार्टीका चौध जना सांसद् छन्। खोक्रै भए पनि तीन दशकभन्दा लामो समय राजनीति गरेको इतिहास छ। आफ्नै जातलाई जति धोका दिए पनि थारूको छोरा हुँ भन्ने घमण्ड पनि छ। मधेसी राजनीतिको सबभन्दा ठूलो नेता हुँ भन्ने भ्रम पनि बाँकी छ। एक पटक प्रधान मन्त्रीको कुर्सीमा बस्ने अवसर त देओस् कसैले, त्यसका लागि यी सब सम्पत्ति दाउमा लगाउन तयार छन् उनी। यी सबैलाई वाग्मतीमा बगाउन पनि पछि पर्ने छैनन्।
उनले विद्यार्थी राजनीति गर्दा आफ्नो एउटा आँखा किन गुमाए, अब थाहा हुँदैछ। उनले कहिले कोइराला क्याम्प त कहिले देउवापट्टि कित्ता किन परिवर्तन गरिरहन्थे, भेउ अब खुल्दैछ। मधेसी राजनीतिमा कुन उद्देश्य पूर्तिका लागि आए, अब छर्लंग हुँदैछ। फोरम छिरेको डेढ वर्षमै पार्टी किन फुटाए, रहस्यमाथिको पर्दा अब उठ्दैछ। आन्दोलन छाडेर रातारात ओली सरकारमा किन गए, कारण अब पत्ता लाग्दैछ। माथिका सबै प्रश्नको जवाफबाट निस्केको एउटै निचोडले अर्को एउटा प्रश्नको उत्तर पनि दिँदैछ। प्रश्न हो, अब बन्ने सरकारमा जान गच्छदार किन मरिहत्ते गर्दैछन्? किनकि गच्छदारका लागि सत्ताबाहेक सबै मिथ्या हुन्। उनका लागि सिंहदरबारको कुर्सीबाहेक अरु सबै झुट हो।
सिंहदरबारको कुर्सीका लागि उनी जे पनि गर्न सक्छन्। आफ्नो पार्टी फोड्न सक्छन्। अरुको पार्टी तोड्न सक्छन्। पार्टी–पार्टी जोड्न सक्छन्। फेरि नयाँ पार्टी खोल्न सक्छन्। आफ्ना सबै हितैषी छाड्न सक्छन्। फेरि माउ पार्टीमै फर्किन सक्छन्। बायाँ सर्न सक्छन्। पुरै दायाँ फर्किन सक्छन्। तल–माथि गर्न सक्छन्। टाउकाको बलमा उभिन सक्छन्। नेताका घरघर धाउन सक्छन्। स्तूतिगान गाउन सक्छन्। गणेश परिक्रमा गर्न सक्छन्। हनुमान बन्न सक्छन्। आमरण अनशन बस्न सक्छन्।
सरकार फेरिने चाल पाएदेखि नै उनी कस्सिएर लागेका छन्। दौडधुप तीव्र पारेका छन्। भनसुन सघन बनाएका छन्। तैपनि अहिलेसम्म ‘गुड न्युज’ उनको हात लागेको छैन। किनकि उनको सत्तायात्रामा यसपालि मधेसी मोर्चा तगारो बनेर उभिएको छ। त्यसका नेताहरुले उनलाई सिंहदरबार छिर्न नदिने कसम नै आएका छन्। तर हेर्दै जानुहोला, सिंहदरबारबाट उनी धेरै दिन टाढा बस्ने छैनन्। कुनै न कुनै राजविद्या प्रयोग गरी वा चोर बाटो उपयोग गरी सिंहदरबार अवश्य छिर्ने छन्। किनकि उनी सत्ताका ‘निर्लज्ज’ खेलाडी जो हुन्।