खाँडो नदीको बाढीले सप्तरीमा आधा दर्जन गाविस डुबानमा

शुक्रबार मध्यरातिदेखि भएको अविरल बर्षापछि खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगका आधा दर्जन गाविसका झण्डै ८ सय बढी घर डुवानमा परेको छ। स्थानीयका अनुसार शनिबार विहानै आएको बाढी खाँडो नदीमा पछिल्लो एक दशक यताकै ठूलो बाढी हो। बाढीका कारण सकरपुरा गाविस पुरै डुवानमा परेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीले जनाएको छ।

टेलिफोनमा कुराकानी गर्दै बोर्डर आउट पोष्टका प्रमुख ज्ञानबहादुर श्रेष्ठले भने, ‘हामी अहिले सकरपुरामै छौ, सिंगो वस्तीनै डुवानमा रहेको छ।’ यता तिलाठी र रम्पुरा मल्हनियाँकोसमेत झण्डै दुई सय बढी घर डुवानमा परेको प्रहरीले जनाएको छ।

‘तिलाठीको ८ र ९ नम्बर वडा डुवानमै छन्, हाम्रो विओपीभित्र पनि बाढी पसेको अवस्था हो’, उनले भने, ‘तिलाठी गाविसको २, ३, ४ र रम्पुरा मल्हनियाँको समेत केही वडा डुवानमा रहेको जानकारी पाएका छौं।’

खाँडो नदीमा आएको उच्च वहावसँगै शनिबार विहानै सप्तरीको तिलाठी तथा भारत विहार राज्यको सुपौल जिल्ला अन्तर्गतको कुनौली ग्रामपञ्चायतबीच रहेको दशगजा क्षेत्रमा भारतीयहरुले बनाएको बाँध तथा कब्रगाहलगायतका विवादित संरचनासमेत कटान भएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार नदीले झण्डै ५० मिटर जति बाँध कटान गरेका छन् भने कब्रगाहको उत्तरी तथा पूर्वी पर्खालसमेत कटान भएर क्षतिग्रस्त भएको छ।

कटान गरिएको बाँध बनाउन भारतीयहरु विहानैदेखि प्रयास थालेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराए। यद्यपी हाल त्यहाँ केही पनि काम नगर्नु गराउनु भनेर आफूले भारतीय सीमा सुरक्षा अधिकारीहरु मार्फत जानकारी गराईसकेको श्रेष्ठले बताए ।

तिलाठी हुँदै दशगज्जा भएर भारततर्फ बग्ने गरेको खाँडो नदीको प्राकृतिक बहावलाई परिवर्तीत गर्न बर्षौ अघिदेखि भारतीयहरुले दशगज्जा क्षेत्रमा उक्त बाँध बनाउँदै आएका हुन्। नेपाल तर्फका गाउँलेहरुले प्रारम्भ देखिनै उक्त बाँधलगायतका संरचनाको विरोध गर्दै आएपनि राज्य पक्षबाट दरो रुपमा भारत समक्ष उक्त गुनासो उठाउन नसकिएको सिमा क्षेत्रका नेपालीहरुको आरोप छ।

भारतीय बाँधकै कारण खाँडो नदीको झण्डै ५ किलोमिटर जति मुहानसमेत पुरिएको तथा नदीले वर्षैनी नेपाल तर्फ निकै क्षति पुर्याउने गरेको तिलाठी अगुवा ललितनारायण झाको भनाइ छ।

यता खाँडो नदीको बवाव बढदै गएर सप्तरीको बभनगामाकट्टी गाविसको तोपा गाउँ जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायव प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराए। ‘बाँध नाघेर पानी वस्तीमा पसेको अवस्था हो’, उनले भने, ‘बाँध कटानको खतरा समेत बढदै गएको छ, स्थानीय करिब ५० परिवार आफ्नो घर छाडेर अग्लो स्थान खोज्दै हिडेका छन् ।’

महुली नदीको बाढीले भारदह पोर्ताहा डुवानमा

यता महुली नदीमा आएको बाढीले सप्तरीको उत्तर पुर्वी भेगमा पर्ने भारदह र पोर्ता गाविसका ६ वटा वडाको ६० घर जति डुवानमा परेको छ । बाढीले पोर्ताहा–त्रिकौलको विचमा झण्डै ३-४ स्थानमा बाँध कटान गरेको स्थानीयहरुले जनाएको छ । बाढीका कारण हाजारौ विघा खेती योग्य जग्गा डुवानमा परेको छ । धान रोपेका खेतहरु समेत डुवानमा परेपछि स्थानिय किसानहरु चिन्तीत भएका छन् । बाढीको पानी भारदह–पोर्ताहा क्षेत्रको केरा वगानमा समेत छिरेको छ ।

Leave a Reply

Your email address will not be published.