सुरेशकुमार मण्डल।
तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन असार ६ गते सुरु भयो। नवलपरासीको रामग्राममा भइरहेको यस महाधिवेशनले धेरै आशा र जिज्ञासा सम्बोधन गर्नुपर्ने हुन्छ। तमलोपाको वैचारिक अस्पष्टता चिर्र्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या/विश्लेषण गर्न यो महाधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्ताव गर्नैपर्ने देखिन्छ।विधान र अवधारणापत्रअनुसार तमलोपा मध्यमार्गी लोकतान्त्रिक पार्टी हो।
लोकतन्त्र तमलोपाको ढुकढुकी हो। तर, पनि तमलोपा कतिपय सवालमा स्पष्ट देखिँदैन। उदाहरणका लागि, हामी लोकतान्त्रिक समाजवाद दर्शनमा आधारित दलका रूपमा तमलोपालाई निर्माण गर्न चाहन्छौं कि समाजवादी लोकतन्त्रमा आधारित? यहाँनेर कन्फ्युजन छ। पहिचान, स्वाभिमान र सम्मानको सिद्धान्त अवलम्बन गरेर कसरी मधेस र सिंगो नेपालका आदिवासी जनजाति, दलित, महिला र मुस्लिमलगायतका क्षेत्र, समुदाय, लिंग र धर्मप्रति व्याप्त विभेद, अन्याय र अत्याचार अन्त्य गर्न सक्छौं? कसरी न्यायपूर्ण र गतिशील समाज निर्माण गर्न सक्छौं? यी सवालमा तमलोपा वैचारिक एवंं सैद्धान्तिकतवरले स्पष्ट हुनैपर्छ।
तमलोपालाई यस्तो पार्टीका रूपमा निर्माण गरौँ जसको स्पष्ट राजनीतिक एजेन्डा होस्। त्यसका सदस्य पार्टीले अख्तियार गरेको विचार र सिद्धान्तमा अटाउन सकून्। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक बदलावहरुबारे दार्शनिक प्रष्टता र सुस्पष्ट धारणा बन्न सकोस्। समाजको हरेक पक्षबारे सही राजनीतिक दृष्टिकोण र मौलिक बुझाइ बन्न सकोस्।पार्टीका प्रत्येक सदस्यलाई आफ्नो गन्तव्य र बाटोबारे राम्ररी थाहा होस्। प्रत्येक जातजाति, समुदाय, क्षेत्र, लिंग र धर्मले तमलोपामा आफ्नो अपनत्व र प्रतिनिधित्व भएको महसुस गरुन्। आधुनिक युग सुहाउँदो विज्ञानका सबै प्रविधि र सुविधा उपलब्ध होस्। पार्टीको आय/व्यय कोष र आर्थिक स्रोत साधन पारदर्शी होस्। अध्ययन र प्रशिक्षणको तन्दुरुस्त व्यवस्था होस्। पार्टी सञ्चालन पुरानो ढर्रा, शैली र तौरतरिकाबाट नहोस्।
सिद्धान्त, सडक, सदन र संगठनमा मधेसको नेतृत्व गरिरहेको तमलोपामा अझै वैचारिक तिखार आउनुपर्छ। मधेसमा रहेका अन्य मधेसी दल र देशका तीन ठूला पार्टी कांग्रेस, एमाले तथा माओवादीसँग प्रतिस्पर्धा गर्न सक्ने कार्यकर्ता र संगठन निर्माण गर्न सक्नुपर्छ। त्यसका लागि निरन्तर अभ्यास, अभियान र प्रशिक्षण जरुरी छ।जारी मधेस–थरुहट आन्दोलनबारे मधेसी थारू जनतामा विकसित भइरहेको अविश्वास र भ्रमबारे पार्टी स्पष्ट हुन जरुरी छ। यस आन्दोलनको गन्तव्य र यात्रा (शैली) बारे बेलाबेलामा नेतृत्ववर्गबाट आउने गरेका उत्तेजक अभिव्यक्तिमा नियन्त्रण जरुरी छ। देशै टुक्राइदिने, बन्दुक उठाउने जस्ता जनतामा नकारात्मक छाप पर्ने अभिव्यक्ति रोक्नैपर्छ। नेपालको सीमाभित्र आफ्नो मधेसी पहिचान र अस्तित्वका साथ शान्तिपूर्ण मार्गबाट अधिकार प्राप्तिका लागि संघर्षरत रहने स्पष्ट सन्देश दिन सक्नु आज जरुरी छ। भीड मनोविज्ञानबाट ग्रसित भएर ताली पाउनका लागि लहडमा भाषण गर्दा दीर्घकालीन नोक्सान हुनेप्रति सचेत होऔँं।
आन्दोलनलाई सही मार्ग र माध्यम प्रदान गर्न सकिएन भने मधेस भोलि अनियन्त्रित भेलमा डुब्न सक्ने खतरालाई पार्टी नेतृत्वले सुझबुझका साथ समयमै होसयारीपूर्वक रणनीति बनाउन सक्नुपर्छ। पार्टी नेतृत्वले आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने र दूरदृष्टि सावित गर्ने उपयुक्त समय यही हो। यदि यतिबेला चुकियो भने फेरि उठ्नै नसक्ने गरी हामी पछारिन्छौं। मधेसमा एकताको सूत्रका रूपमा तमलोपा र यसका अध्यक्ष महन्थ ठाकुर अघि सर्नुपर्छ। यसका लागि ठाकुरले मन र मष्तिस्क फराकिलो पार्नुपर्छ। उहाँ समग्र मधेसको नेता बन्न सक्नुपर्छ। सिद्धान्त र विचार मिल्ने सम्पूर्ण दललाई एकसूत्रमा बाँधी मधेसमा एउटा सशक्त राजनीतिक दल निर्माण गर्नु ठाकुरको युगीन अभिभारा हो। मधेसी जनताको एकताको चाहना पूरा गर्ने दायित्व उहाँको काँधमा छ।मधेसी एकता आजको आवश्यकतामात्र होइन, अपितु बाध्यता पनि हो। एकता मधेसी अधिकारका लागि र अधिकार प्राप्तिपछि मधेस निर्माण र समृद्धिका लागि आवश्यक छ।
खाली राज्यलाई गाली गरेर मधेसी दल र नेताहरु आफ्नो जिम्मेवारी र दायित्वबाट पन्छन मिल्दैन। मधेस र पहाडमा उही बजेट र नीति कार्यक्रम जान्छ। पहाडमा विकास, शिक्षा र चेतनाको दायरा फराकिलो हुँदै गइरहेको छ तरमधेसमा दिन/प्रतिदिन विकृति, विसंगति, अशिक्षा र अविकासले प्रश्रय पाइरहेको छ।मधेसका स्कुल कलेज नियमित पठनपाठन र अनुशासनका अभावका कारण दिनानुदिन धराशायी भइरहेका छन्। बाटोघाटो, सडक, यातायात जीर्ण छ। २० कि.मि. यात्रा गर्न एक घन्टा लाग्छ। सरकारी कार्यालयमा अनियमितता र भ्रष्टाचारले जडा गाडेको छ। दाइजो, बोक्सी, छुवाछूत र अन्धविश्वास जस्ता सामाजिक कुरीति उत्कर्षमा छ। यी र यस्ता विकृति विसंगतिबारे मधेसी दल र नेतृत्व बोल्ने कि नबोल्ने? मलाई लाग्छ, तमलोपाले यसको थालनी यही महाधिवेशनबाट गर्न सक्नुपर्छ।
मधेसका युवामा व्याप्त विकृति, विसंगति, दुर्व्यसन र अराजकता समयमै रोक्न सकिएन भने भोलिको मधेस डरलाग्दो र सम्हाल्नै नसकिने हुन्छ। गरिबी, अशिक्षा, अन्धविश्वास र अराजकतासँग लड्न सामाजिक चिन्तन र युवा जागरण सेन्स भएको राजनीतिक दल जरुरी छ। रामग्राम महाधिवेशनलाई नीति, नेतृत्व र संगठन संरचनाको विषयमा केन्द्रित गराउनसके मात्र तमलोपाले राष्ट्रिय राजनीतिमा नयाँ उचाइ प्राप्त गर्न सक्छ। तमलोपाले स्थापना कालदेखि नै पहिचान, स्वाभिमान र सम्मान मान्यताको वरिपरि आफ्नो नीति कार्यक्रमको विकास गरेको छ। यी तीनवटा अवधारणा तमलोपाको नीति र सिद्धान्त हुन्। आधुनिक पहिचानवादी राजनीतिका सर्वाधिक शक्तिशाली अवधारणा पनि यही हो। यही स्थापित मान्यताका आधारमा स्वेतहरुको साम्राज्य भएको संयुक्त राज्य अमेरिकामा कालो वर्णका बाराक हुसेन ओबामा राष्ट्रपति भए भने उनलाई पछ्याउँदै प्रथम महिला राष्ट्रपति हिलारी क्लिन्टन सफलताको नजिक पुगेकी हुन्।
लोकतान्त्रिक समाजवाद तमलोपाको दर्शन हो। जसको केन्द्रमा जनता सर्वोपरि हुन्छ। एक दशकदेखि मधेसमा भएका अधिकारवादी आन्दोलनले धेरै उपलब्धि हासिल गरिसकेका छन्। संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व पहिचानको सुनिश्चितता तमलोपाका उपलब्धि हुन्। यी उपलब्धि संस्थागत गर्नु हाम्रो पहिलो दायित्व हो। त्यस्तै, हाम्रो विविधताको सम्मान, सम्बोधन र व्यवस्थापनका लागि संघर्षरत् रहिरहनु हाम्रो कर्तव्य हो। सामाजिक न्याय, अर्थपूर्ण सहभागिता, समानुपातिक समावेशिताको सुनिश्चितता तमलोपाको कार्यभार हो। समावेशी लोकतन्त्रमा सबै पक्ष र समुदायलाई राज्यसत्ताको मूलधारमा समावेश गरिन्छ। त्यस्तै, उदार लोकतन्त्रमा व्यक्तिको स्वतन्त्रतालाई बढी जोड दिइन्छ। तर समावेशी लोकतन्त्रमा व्यक्ति अधिकारका साथै उसको समुदायको पक्षमा समेत वकालत गर्छ। सामाजिक सुरक्षा, सांस्कृतिक अधिकार र सहभागिता जस्ता महत्वपूर्ण एजेन्डा समावेशी लोकतन्त्रका पक्ष छन्। यसले सामाजिक द्वन्द्व, असमानता र विभेद अन्त्य गर्छ। र, यसैको जगमा तमलोपाले मधेसको आर्थिक विकास र समृद्धिको आधार तय गर्नुपर्छ।
प्रथम महाधिवेशन मूल तयारी समिति सदस्य, तमलोपा