एसएलसीकाे नतिजा अाज अाउँदै, काेही फेल नहुने

परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा बिहीबार प्रकाशित गर्दैछ। ग्रेडिङ प्रणाली लागू भएपछिको पहिलो एसएलसी परीक्षा हो। परीक्षानियन्त्रक कृष्ण काप्रीले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए। गत वर्षभन्दा करिब २ साता अगावै नतिजा प्रकाशित हुन लागेको हो।

गत चैत १८ देखि २९ सम्म सञ्चालित एसएलसीमा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी संलग्न भएका छन्। यसपटक उत्तीर्ण र अनुत्तीर्ण सट्टा ग्रेडिङ प्रणालीअनुसार ग्रेडमा राखेर नतिजा आउनेछ। पछिल्ला ग्रेडिङमा परेका विद्यार्थी ग्रेडिङ वृद्धिका लागि पूरक परीक्षासमेत दिन पाउनेछन्।

परीक्षा नियन्त्रक काप्रीका अनुसार बिहीबार प्रकाशित हुने एसएलसी नतिजा ७ तहको अक्षरांकन प्रणालीबाट हुँदैछ। जसको टर्निङ प्लाइन्ट २० देखि ९० प्रतिशतसम्म हुन्छ।

परीक्षार्थीले ग्रेडसिटमा बढीमा दुई विषयमा डि र ई वा डि र डि, वा ई र ई प्राप्त गरेको छ भने उसले एकपटकलाई आफ्नो ग्रेड वृद्धि गर्न सोही वर्ष ग्रेडवृद्धि परीक्षामा सामेल हुनसक्ने नयाँ व्यवस्था पनिकाले गरेको छ,’ परीक्षा नियन्त्रक काप्रीले नागरिकसँग भने, ‘पहिले फेल विद्यार्थीलाई एक वर्ष खेर जान नदिन पास गराउने पूरक परीक्षा हुन्थ्यो।’ उनका अनुसार फेल र पासको प्रावधान हटाइयो। त्यही भएर अब विद्यार्थीले आफ्नो ग्रेड बढाउन र इच्छाअनुसार विषयमा प्लस टु भर्ना हुन ग्रेड वृद्धि परीक्षा दिनुपर्छ। यो परीक्षाको काम विद्यार्थीको ग्रेड वृद्धि गर्नु हो।

यसैगरी, दुईभन्दा बढी विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीका लागि अर्को वर्षको मूल परीक्षामा सामेल हुने व्यवस्थासमेत पनिकाले गरेको छ। विद्यार्थीले आफूलाई अनुकूल हुने गरी परीक्षा रोज्नेमा भर पर्नेसमेत उनले प्रस्ट्याए। बर्सेनि एक लाखभन्दा बढी विद्यार्थी पूरक परीक्षामा सहभागी हुन्छन्।

पनिकाले विगत झैं यस वर्ष पत्रिकामा नतिजा प्रकाशित नगर्ने जनाएको छ। ६ लाख सहभागी सबै पास हुने र सबैको सिम्बोल नम्बर पत्रिकामा राख्न सम्भव नहुने भएकाले यस्तो निर्णय गरेको हो।

विद्यार्थीले आफ्नो नतिजा वेबसाइट, एसएमएसबाट थाहा पाउने व्यवस्था पनिकाले गरेको छ।

 

Leave a Reply

Your email address will not be published.