गच्छदारले सरकार छाड्ने !

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरु गरेको हो।
‘हामी जुन उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौं, त्यसअनुसार काम भएन,’ फोरम लोकतान्त्रिकका उपाध्यक्ष जीतेन्द्रनारायण देवले भने, ‘सरकारमा बस्नुको औचित्य छैन।’

ओली नेतृत्वको सरकारमा सहभागी हुनुअघि भएको समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले चासो नदिएको फोरम लोकतान्त्रिकको गुनासो छ। ‘आठबुँदे माग पूरा गर्न हामीले प्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्यौं ,’ उनले भने, ‘तर त्यसको कार्यान्वयन भएन। आठबुँदे मागलाई धोती लगाउने काम भयो।’ सरकारका उपप्रधानमन्त्रीसमेत रहेका फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारसहित नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भेटी आठ बुँदे माग कार्यान्वयन गर्न स्मरण गराउँदै आएको छ।

त्यस्तै, फोरम लोकतान्त्रिकले ओली नेतृत्व सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको ठहर गरेको छ। सरकार गठन भएको आठ महिना बित्दा पनि भूकम्पप्रभावितलाई राहत, पुनर्वास तथा पुनर्निर्माण, कालाबजारी र महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै देवले भने, ‘सरकारले जनभावनाअनुसार काम त गरेन नै, नेपाल–भारत सम्बन्धमा पनि खलल पुर्याोउने काम गर्योर।’

मुलुकको समस्या समाधान गर्नका लागि वर्तमान सरकारको विकल्प खोज्नुपर्ने ठहर गर्दै पार्टीभित्र छलफल सुरु भएको उनले बताए। ‘सत्तारुढ गठबन्धनभित्रका अन्य घटक पनि वर्तमान सरकारको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छन्,’ उनले भने, ‘हामी जुन उद्देश्यका साथ सहभागी भएका थियौं, त्यो पूरा भएन। अब राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ।’

पार्टी अध्यक्ष गच्छदारका साथै अन्य नेता वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा रहेको दाबी गर्दै उनले भने, ‘आजै (शनिबार) मात्र अध्यक्षसँग लामो छलफल भएको छ। उहाँ पनि सरकारको विकल्पमा देखिनुभएको छ।’

पार्टी केन्द्रीय समितिको आगामी बैठकले सरकारबाट बाहिरिने निर्णय लिने उनले दाबी गरे। केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाइएको छ।

Leave a Reply

Your email address will not be published.