मिनराज चौधरी।
२०७२ साउन २७ गतेबाट उठेको थरुहट/थारुवान आन्दोलन नेपाली जनताहरुको अपार साथ सर्मथ र सहयोगले उत्कर्षमा पुग्यो। आत्मसम्मान, पहिचान, न्याय, अधिकारका लागि थरुहट तराईमा उर्लिएको जनसागर लाई जबर्जस्त नेपाल सरकार गृहप्रशासनले बुट, लाठी, अश्रुग्ँयास, बन्दूक प्रयोग गर्दै दबाउन खोज्दा कैलाली टीकापुरमा अनपेक्षित दुःखद घटना भयो। यही घटना पश्चात थरुहट आन्दोलन बिस्तारै सेलाएको अनूभुति गराएको छ। नौ महिना पुरा बितिसकेको छ तर संघर्ष समितिले उठाएका १३ बुँदे माग र सात बुँदे सर्तहरु ज्यूँका त्यूँ छन्। सरकार यसप्रति पूर्णरुपमा उदासीन रहँदै ऐतिहासिक थरुहट आन्दोलनलाई नजर अन्दाज गर्दै अनदेखा गरिरहेको छ।
थरुहट आन्दोलनकर्मी नेता तथा कार्यकर्ताहरु लाई राजनीतिक प्रतिशोधका आधारमा झुट्ठा मुद्दा लगाएर निकै कष्टकर जेलबन्दी जीवन बिताउन बाध्य पारिएको छ। थारुहरुको घर र व्यवसायीक केन्द्र छानी/छानी आगो लगाउने पहिचान विरोधीहरु गृहप्रशासनको आडमा खुलेआम हिंडिरहेका छन्। घाइतेहरुको औषधोपचार, भौतिक संरचना तोडफोड एवम् लुटपात गरिएको करोडौ सम्पत्तिको क्षतिपूर्ति अहिलेसम्म सरकारले दिएको छैन। यस किसिमको गम्भिर अवस्थामा शासकहरुको गलत नियत र षड्यन्त्रकारी हर्कतका विरुद्ध थरुहट/थारुवान आन्दोलन अझै सशक्तरुपले निरन्तर जानु पर्ने हो तर यसो किन हुन नसकेको हो? आम थरुहटवासी जनजनको सवाल छ। यसप्रति गम्भिररुपले विश्लेषण एवं समिक्षा गर्न जरुरी छ।
थरुहट/थारुवान आन्दोलन दिन प्रतिदिन यसरी कमजोर हुँदै जानु मुख्य कारण केन्द्रीय नेतृत्व प्रंक्ति प्रति जनताहरुले औंला ठड्याई रहेका छन्। हुनपनि हो संघर्ष समितिका संयोजक धनीराम चौधरी लाई गृह प्रशासनले टीकापुर घटनाको विषयलाई लिएर चौबिस घण्टे पक्राउ पूर्जि जारी गर्दै झुट्ठा मुद्धा लगाए पछि अहिले उनी गुमनाम छन्। प्रहरी प्रशासनको आँखा अगाडि सिंहदरबार जादा केही नहुने, वार्ता संवाद एवम् आफ्नो जागिर थमौतीका लागि अनुनय विनय गर्न मन्त्री, प्रधानमन्त्री क्वार्टर तिर धाईरहने धनीराम प्रहरीको प्रकाउ पर्ने बनावटी डर देखाउखै अर्धभूमिगत जस्तै भएका छन्। शान्तिपूर्ण आन्दोलनका नाइके नै यसरी डरले थरथर काँप्दै विज्ञप्तिमा हस्ताक्षर मात्रै गरेर आन्दोलन उठ्छ? नेतृत्वपंक्ति जनताहरुलाई सड्कमा ओरालेर, कुटाई खुवाएर, जेलबन्दी गराएर नेता लुकेर बस्ने के राजनीतिक चरित्र हो? के राजनीतिक संस्कार हो? पक्कै पनि होइन।
शान्तिपूर्ण आन्दोलनमा नेताहरु जहिले पनि जनताका अगाडि हुनछन् तर संघर्ष समितिको संयोजक उनी जनता भन्दा कयौं गुणा पछि छन्। प्रहरी प्रशासनबाट पक्राउ पर्ने भय त्रासको नौटंकी गर्दै थरुहट जनताको आँखामा छारो हाल्दै गेटअप नै परिर्वतन गरेर काठमाण्डौका गल्ली गल्ली घुमीरहेका छन्। साच्चिकै गृहप्रशासनले उनलाई टीकापुर घटनाको अपराधीको रुपमा समाउन खोज्यो भने छिनभरकै कुरा हो। यो कुरा सबै आमथरुहटवासी राम्ररी बुझिसकेका छन्। आफुलाई थरुहट/थारुवान आन्दोलनको ठेकेदार जस्तै ठानेका उनी ठेकेदारी शैलीबाट संघर्ष गर्न खोजिरहेका छन्। ठूलो ठेकेदार भएर ठेक्का लिने, तर कार्य अरुबाट मात्रै गराउन खोज्ने ठेकेदारी शैली र प्रवृतिबाट थरुहट आन्दोलन उत्कर्षमा पुग्नै सक्दैन न त माग नै पुरा हुन्छ। जबसम्म संयोजकले केन्द्रीय मोर्चाको नेतृत्व गर्दै भएका कमी कमजोरीलाई आत्मसाथ गर्दै जनताको बिचमा जान सक्दैनन् तबसम्म उनको नेतृत्व प्रति जनताहरुको विश्वास, साथ, सर्मन, सहयोग बढनवाला छैन भन्ने कुरा उनले राम्ररी बुझ्नु पर्दछ। उनीसंग कि गर, कि छोर भन्ने दुईवटा मात्रै बाटो छ। पहिलो बाटो उनले सशक्त जनताहरुको बिचमा स्वयं उपस्थित भई जनताहरुको गिरेको मनोवल उठाउदै संघर्षको नेतृत्व गर्ने र दोस्रो बाटो थारु कल्याणकारिणी सभाका कसैलाई कार्यवाहक दिएर असफल नेतृत्वबाट बिदा लिने। उनलाई संघर्ष समितिको बैठकमा बारम्बार यही कुरा भनीरहदा उनले कहिल्यै पनि संवेदनशील भएनन्।
थरुहट/थारुवान आन्दोलनलाई सुनियोजत रुपले विभक्त गराई कमजोर बनाउनका लागि केही तत्वहरुले सक्रिय भएर संयोजकलाई खेलाउदै प्रयोग गरिरहेका छन्। आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, खसहरु एक भएर शासकहरु संग संघर्ष गर्ने बेलामा मिल्न नदिने हर्कतहरु गरिरहेका छन्। मधेसी राजनीतिबाट यात्रा शुरु गरी टुटफुटको फुटकर राजनीति गर्दै, विगतमा पनि थारु नेतृत्व बिच र थरुहट आन्दोलनमा भाँडभैलो मच्चाउनेहरु आज पुनः आन्दोलनलाई कमजोर बनाउन उद्दत रहेका छन्। सोझा साझा धनीरामको गलत फाईदा उठाउदै सल्लाहकार जस्तै बनेर आफुलाई थारुको मसिहा सम्भि्कदैछन्। नीरिह धनीराम गलत नियत भएकाहरुको पेरिफेरीमा पानीको भुमरी जस्तै घुमीरहेका छन्।
थरुहट/थारुवान आन्दोलनलाई भाँड्न खा्ज्ने भडुँवाहरु मधेसी संग मिल्नु हुँदैन रे, थारुलाई मधेसी बनाउने षड्यन्त्र हुँदैछ रे, संघीय गठबन्धनको आन्दोलन देशी विदेशीबाट सञ्चालित रे भन्दै मिडियामा सस्तो लोकप्रियताको लागि फँलाक्दै बेतूकका कुरा गर्दै हिंडिरहेका छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिमा आवद्ध भएको दशदिन भाको छैन थरुहट/थारुवान नेताहरुलाई छिन्न भिन्न पार्दै आन्दोलन कमजोर बनाउन सुनियोजित रुपमा सक्रिय भएर लागि परेका छन्। यस्ता गलत हर्कतको हामीले भण्डाफोर गर्नै पर्दछ। यस्ता तत्वहरुबाट हामी सदैव उच्च सर्तकता अपनाउनै पर्दछ। थरुहट आन्दोलनमा दश जना ल्याउन नसक्ने सिंह न पुच्चछर भएकाहरु संयोजकलाई भकुण्डो जस्तै खेलाउन खोजिरहेका छन्। यो थारु समुदायको दुर्भाग्य हो।
मधेसी पार्टीबाट राजनीतिक जीवन शुरु गरी जुठोपुरोमा रम्दै अधिकांश समय उतै बिताएकाहरुलाई आजकाल ‘मधेसी फोबिया’ भएको छ। निहित राजनीतिक अभिष्ट पुरा गर्नको लागि थारु मधेसी मिल्न नदिने प्रपञ्च रचिदैछ। संघीय गठबन्धको आन्दोलनमा थरुहट नेता संलग्न भएको भन्दै सत्य तथ्य नबुझी, विधि विधान मिच्दै निश्काशन गरिको तानाहशाही प्रवृति देखाउन उद्दत रहेका छन्। लाग्छ संघर्ष समिति उनीहरुको बपौती हो। निजी कम्पनी हो जसरी चलाए नी हुने, जे गरे नी हुने। हामी कसैले घमण्ड नगरौं। थरुहट/थारुवान आन्दोलन सबैको साझा हो। हामीले सबैले सबैको सहअस्तित्व स्वीकारे जानु पर्दछ। भएको कमी कमजोरीलाई मिहिन ढंगले आत्मसमिक्षा गरी संगठित भएर संगै जानु पर्दछ। यो नै अहिलेको उत्तम विकल्प र समय परिस्थितिको प्रमुख आवश्यकता हो।
माग मुद्दाको सवालमा थारु र मधेसीमा केही फरक छन तर अधिकांश एउटै प्रकृतिका छन्। तर पनि हामीले विगत देखि अहिलेसम्म एक्ला एक्लै लड्यौं, अहिले पनि निरन्तर लडिरहेका छौं। थारु, मधेसी, जनजाति, खस आदि विगतमा एक्ला एक्लै संघर्ष गरेको कारण शासकहरुलाई परास्त गर्दै निर्णायक बनाउन हाम्रो ताकत पुगेन। अर्थात हाम्रो सामर्थ्यले नभ्याएको सत्य हो। शासकहरुले हामीहरुलाई लडाउदै, फुटाउदै आए। हाम्रै बुइँ चढेर सदियौं देखि सत्ताको रसस्वादन गर्दै आए तर हामी प्रयोग मात्रै भयौ। थारु, मधेसी, जनजातिमा केही माग मुद्धा फरक भए पनि हामी माथि सदियौं देखि शासन गर्ने यीनै शासकहरु हुन भन्ने कुरा हामी थारु, मधेसी, जनजाति, मुस्लिमहरु कहिल्यै बुझ्न सकेनौं। यिनीहरुलाई पराष्ट गर्नको लागि पनि हामी एकठाउँमा कहिल्यै आउन सकेनौं।
आज समय परिस्थिति बदलिएको छ। ब्राह्मणवादी सोंच चिन्तन, प्रवृति भएका जनताको प्रतिनिधिको खोल ओढेका शासकहरु नै आज हाम्रो प्रधान सत्रु हुन। मुख्य शत्रुसंग सामना गर्नको लागि हाम्रा माग मुद्दामा केही भिन्नता भए पनि थारु, जनजाति, मधेसी, मुस्लिम, खस, सिमान्तकृत आदि एकठाउँमा आउनै पर्दछ। संयुक्तरुपमा कार्यगत एकता गर्दै वा मोर्चाबन्दी गरी हामीले संघर्ष गर्नु पर्दछ। हामी मिलेनौं भने केही लछारपाटो लाउन सक्दैनौं। यसका लागि हामी गम्भिर छलफल गरी निर्णय लिनु पर्दछ।
हामीले न गर्न सक्छौं न अरुले गरेको सहन्छौं। यो हाम्रो लागि दुर्भाग्य हो। थरुहट/थारुवान आन्दोलनलाई प्रतिकूल असर पार्ने गरी संघीय गठबन्धनको आन्दोलन ले के नै गरेको छ र? यदि केही कसैलाई लाग्छ भने खुल्ला बहस छलफल गर्दा उत्तम हुन्छ। आफुलाई हिरो बनाउन मिडियाबाजी गर्दै कसैप्रति औंला नठड्याउ, किनकी चार वटा औंला आफैतिर फकेका छन् भन्ने कुरा हामीले भुल्नु हुँदैन। यसरी जाँदा न कोही कसैलाई फाईदा हुन्छ भन्ने कुरा हामी सबैले बुझ्नु पर्दछ। केन्द्रीय संघर्ष समितिबाट सकिन्छ भने सक्रिय साथ समर्थन गरौं, सकिदैन भन्ने भने चुपचाप लागेर मौन बस्दा सबैको हितकर रहन्छ। भनिन्छ बाँदरले न आफ्नो घर बनाउछ न त बन्न दिन्छ भन्ने चरित्र हामीले नदेखाऔं।
संघर्ष समितिलाई केही नेताहरुले आफ्नो कम्पनीको जस्तै ठान्दै चलाउन खोजिरहेका छन्। यस्तो हर्कत कोही कसैले नगरौं थरुहटवासी सबैलाई नियाल्दै मूल्याङ्कन गरिरहेका छन्। हामी फुटे गयौं भने आन्दोलन उठ्नै सक्दैन नत सरकारलाई हामीले जोरदार धक्का दिनसक्छौं। अतः नेतृत्व पंक्ति बेलैमा गम्भिर भएर सोचौं। हाम्रो लडाई शासकहरु संग भएको हुनाले पहिचानवादी संघीयतावादी हिमाल पहाड, थरुहट तराईका पक्षधर एकठाउँमा आउनै पर्दछ। संघीय गठबन्धनको कार्यक्रमा थरुहट/थारुवान प्रादेशिक संयुक्त संघर्ष समितिले सक्रिय साथ समर्थन जनाई सकेको छ। यसर्थ हाम्रो लागि समय घर्किदै छ, हिमाल, पहाड तराई जोडिएर भइरहेको संयुक्त राष्ट्रियमुक्ति आन्दोलनमा थरुहट/थारुवान संयुक्त संघयर्ष समिति पनि काँधमा काँध, हातमा हात मिलाएर सक्रिय साथ समर्थन र सहयोग गर्दै बढनु पर्ने अहिलेको प्रमुख आवश्यकता हो।
लेखक थरुहट तराई पार्टी नेपालका सचिव हुन्।