भारतका थारुले भने- रोटी-बेटी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाउँ

भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा हालै भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । थारू प्रधान जनकल्याण सेवा समिति चन्दन चौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्म जयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको हो । दुई देशका थारूहरुको राजनीतिक, सांस्कृतिक, शैक्षिक, आर्थिक अवस्थालाई लक्षित गरी भएको सम्मेलनमा ठूलो संख्यामा दुई देशीय थारूहरुको सहभागिता रहेको थियो । सम्मेलनका वक्ताहरुले दुई देशीय थारुबीचको सम्बन्धलाई दीगो बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।

india tharu 04

कार्यक्रमको सभापति समेत रहेका थारू प्रधान जनकल्याण सेवा समिति चन्दन चौकीका प्रमुख रामनरेश रानाले दुई देशका थारूबीच सदियौंदेखि कायमै रहेको रोटी र बेटीको सम्बन्धलाई प्रगाढ बनाउने र अन्य क्षेत्रमा पनि सम्बन्धलाई विस्तार गर्दै जाने बताए । नेपालको तराई–मधेश क्षेत्रमा जारी आन्दोलनको कुनै सुनुवाई नहुनु विद्यम्वना रहेको बताउँदै उनले आफ्ना देशका नागरिकका समस्या समाधानको लागि नेपाल सरकारले गम्भीरताका देखाउनु पर्ने विचार व्यक्त गरे । शिक्षा क्षेत्रमा अझै दुवै देशका थारूहरु पछाडी परेकोले शैक्षिक विकासमा सबै सरोकारवालाहरुको ध्यान जानु पर्ने पनि उनको भनाई छ ।

india tharu 02

सम्मेलनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) चन्दन चौकीका प्रमुख यतेन्द्र सिंहले कुनै पनि वर्ग समुदाय, पेशाकर्मीको लागि पहिचान सवभन्दा ठूलो कुरा भएकोले सबैले संरक्षण गर्नु पर्ने बताए । आफू एक सुरक्षाकर्मी रहेको र आफ्नो पहिचानको झल्को बर्दीले दिएको बताउँदै उनले पहिचान विनाको मानिस पुच्छर नभएको जन्तु झै रहने ठोकुवा गरे । पश्चिम नेपालका थारु र त्यस संग जोडिएका भारत उत्तर प्रदेशका थारूहरु पनि शैक्षिक दृष्टीकोणले पछाडी परेकोले शैक्षिक सुधारमा लाग्नु पर्ने पनि उनको जोड थियो ।

india tharu 05

नेपालको तर्फबाट सम्मेलनमा सहभागिता जनाएकी थारू कल्याणकारिणी सभा कैलाली कोषाध्यक्ष इन्दु चौधरीले देशको सिमाना अलग–अलग भएपनि थारूहरुको मन भने एउटै रहेको बताइन् । अबको पहिचान आन्दोलनमा भारतीय थारूहरुको सहगोग अनिवार्य रहेको पनि उनको भनाई थियो ।

india tharu 03

त्यस्तै थारू अराउण्ड वल्डका संस्थापक तथा थारू यूवा दस्ताका संयोजक महावीर चौधरीले विश्व भरीका थारूहरु एकजुट भएमा मात्रै थारूहरु शैक्षिक, सामाजिक, साँस्कृतिक रुपमा अगाडी बढ्न सक्ने बताए । नेपाल र भारतका थारूहरुबीच रोटी र बेटीको सम्बन्ध सदियौंदेखि चल्दै आएको अन्य क्षेत्रमा सम्बन्ध विस्तार जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा रानाथारू समाज कैलालीका नन्दकुमार रानाले रानाथारू समुदाय अन्य समुदाय भन्दा धेरै पछाडी परेकोले राज्यको ध्यान जानु पर्ने र जारी पहिचान आन्दोलनको निकासबारे राज्य गम्भिर हुने पर्ने बताए ।

Leave a Reply

Your email address will not be published.