हाम्रो नागरिकता अपूर्ण छैन भने देवनारायण, श्यामसुन्दरहरुले किन अवसर पाएनन् ?

Raja Babu Tharuराजाबाबु थारु

बिशाल सिलवालजी, बडो राम्रो तर्कसहित दिपेन्द्रजीलाई जवाफ दिनुभयो। तपाईँ थारु र मधेसी बस्ने ठाउँबाटै हुनुहुँदोरहेछ। खुसी लाग्यो थाहा पाएर। तर मलाई बच्चैदेखि नबुझेको कुरा प्रस्ट परिदिन यसै पत्रमार्फत आग्रह गर्न चाहन्छु। तपाईँ मधेसकै हुनुहुन्छ तर तपाईँलाई पहाडीले आफ्नो समुदायमा चिनाउँदा पहाडी तर त्यही ठाउँको अर्को कालो बर्णको मान्छेले चिनाउँदा मधेसी कसरी? एउटै भूगोल भएको ठाउँको मान्छे एउटा पहाडी अर्को मधेसी कसरी? (सेतोपाटीमा प्रकाशित बिशाल सिलवालको ब्लग पढ्नुस्:)

हामी खसआर्य समुदायबाट सबैबाट त्यस्तो के गल्ती भयो?
तपाईँ खसआर्य देख्यो कि शोषक र सामन्ति किन देख्नुहुन्छ ? कारण दिने दुई किसिमिको हुन्छ।
१ inductive: सबै शोषक, सामन्तिहरु खस थिए। त्यसैले शोषकहरु खसआर्य हुन्।
२ Deductive खासहरु शोषक सामन्ति थिए। त्यसैले खस आर्यहरु शोषक, सामन्ति हुन्। गल्ती भयो पहिलो पुस्ताले शोषण गरे होला भन्नुभो तर ब्यवहारमा अहिले पनि त्यस्तै देखाउनुभो। अखण्ड पक्षधरले दुई दिन आन्दोलन गर्दा माग सम्बोधन गर्यो तर थारुले ६ महिना आन्दोलन गर्दा मान्छेलाई टाउकोमा गोली हानियो।

तपाईँको पुर्खाले शोषण गरेको भए अहिले त सुधार्न सक्थियो नि। किन मान्छे मार्ने काम भयो? नेता खराब थिए रे। जनताको माग थिएन भने ६ महिना नेताले आन्दोलन गर्न सक्छ एक्लै?
नेताले पूर्व-पश्चिम मानव साङ्ग्लो बनाए कि जनताले? मधेसी जनताले आन्दोलन गर्दा बिहार जानु भन्ने नेताहरुको सोच के को उपज हो? मिडियामा मिठा कुरा गर्ने अनि यथार्थमा बिहार जाउ भारत जाउ भन्ने? मान्छे मार्दै आँप झार्ने कुरा देशका ठूला नेताले गर्न मिल्छ? आखिर त्यो नेता त खसआर्यको प्रतिनिधि हो नि कि मधेसीको? कसको भोट पाएर आएको हो सम्प्रादायिकता सोँच भएका ती नेता?

म आफैँ असोज ३ मा दीपावली गरेको थिइनँ ?
तपाईँले दीपावली गर्नुभएन ठीक छ। तर एउटा मधेसी मर्दा ऊ ५० लाख पायो भन्दै फेसेबुकका भित्ता भर्ने को थिए? मधेसी कि अरु? अर्को आँप झर्यो भन्ने कसको प्रतिनिधि थियो? तपाईँहरुको मानव संवेदना हराएको हो कि होइन?
मधेसी थारुले राजनीतिक चेतनाको कारणले मात्र ६ महिना आन्दोलन गरेनन्, मानवीय संवेदनाका कारणले पनि हो। यो सरकार वा राज्यले हामीलाई आफ्नो जनता सम्झेन। मेरो दाजु भाइ, बुबा, आमालाई टाउकोमा गोली हानी मारे।
मधेसीले हिंस्रक भएर आन्दोलन गर्यो भन्नुहुन्छ। एउटा भनाइ छ- मर्ता क्या नही करता। आफ्नो ज्यान धरापमा परेपछि अरुलाई जे गर्न नि बाध्य हुन्छ चाहे त्यो मान्छे होस् या अरु जनावर।

राज्यले तपाईँलाई, मलाई र अन्य व्यक्तिलाई दिइएको नेपाली नागरिकताको प्रमाणपत्र तुलना गरेर हेरौँ।
हो, भलै नागरिकतामा पूर्ण अपूर्ण नागरिकता लेखेको छैन। तर ब्यवहारमा मधेसी, थारु, जनजाति, मुस्लिम, राजबंशी, दनुवार आदिलाई नेपालको पूर्ण नागरिकको ब्यवहार गरेको छैन। मधेसी जनता गरिब छन्। कृषि कर्म गर्छन्। खान्छन्। हुनेखाने पढ्छन्। नभए एसएलसी पछि खाडी जन्छन्।

पढ्नमा पछाडी होला पनि भन्दिनँ। किनकि उपत्यकका अधिकांश गणित तथा विज्ञान शिक्षक मधेसी छन्। तराईका जनता शारीरिकरुपमा पनि कम छैन। मेरो साथी श्यामसुन्दर चौधरी इटहरीबाट सशस्त्रको शारीरिकमा प्रथम भयो। तर अन्तरर्वातामा असफ भयो किन?

योग्यता एसएलसी त चाहिने थियो। तैपनि किन फेल भयो। अपूर्ण भनेर त होला नि, अहिले कतारमा फलाम बंग्याँदैछ। यदि ऊ खस भएको भए अहिले सशस्त्रमा हुन्थ्यो। देवनारायण चौधरी जो फुटबलमा नेपाललाई कयौँ खेल जितायो, खोइ अतो पातो छैन। अपूर्ण नेपाली भएर होला नि।

ऊ खस भएको भए आज उच्च ओहदाको खेलकुदको पदमा हुन्थ्यो होला। फुटबलका जनकसिंह थारु, एथलिटक केशरी चौधरी, सरस्वती चौधरी आदिले खसआर्य जतिकै अवसर पाएका छन् त?
तपाईँहरु हिन्दी फिल्म, सिरिअल हेर्नुहुन्छ अनि एउटा शब्द सिक्नु हुन्छ- भैया। शब्द आफैँमा नराम्रो होइन तर गलत अर्थमा प्रयोग गर्नुहुन्छ। तरकारी बेच्ने होस् या कवाडी उठाउने कुनै कालो वर्णको मान्छे देख्यो कि भैया, धोती सम्बोधन गर्नुहुन्छ।
के तराईबासीले टोपी वा दौरा सुरुवाल भनेर सम्बोधन गर्छन् तपाईँहरुलाई? एउटा पहाडी समुदायको ६० वर्षको मान्छेले पनि १० वर्षको मान्छेलाई भैया भन्छ। के ६० वर्षको मान्छेको दाई हो १० वर्षको बच्चा?
कि सम्बोधन गर्ने परम्परा छ- आफूभन्दा सानालाई दाई भनेर? पूर्ण नागरिक हो भने कुनै कालो वर्णका तराईका कुनै व्यक्तिलाई भैया वा बिहारी भनेर किन बोलाइन्छ? तराईका कसैले टोपी वा दौरा सुरुवाल भनेर बोलको छ?
कि कसैले बंगलादेशको राजधानी ढाका (टोपी) भनेर बोलको छ? तराईको एउटा मान्छेलाई बोल्न आओस् नआओस् टुटेफुटेको नेपाली भाषामै दाई भन्छन्। अनि तपाईँहरु भैयो। हाम्रो भाषाबाट अनि अरु नेपालीबाट किन बोल्ने? हामीले नेपाली नबुझ्ने भए पूरै हाम्रो भाषा बोल्नुस् कि पूरै नेपाली। इन्डियनले दाई क्या हालखबर है भनेजस्तै नबोल्नुस्।

चाहे छाला गोरो होस् या कालो शासकलाई शक्तिको अहंकार हुन्छ।

यो भनाई तपाईँको ठीक पार्नलाई मात्र काम लाग्छ। तराईमा निषेधाज्ञा तोड्दा टाउकोमा, छातीमा गोली हान्ने अनि यहाँ काठमाडौंमा राप्रपाका कार्यकर्ता निषेधाज्ञा तोड्दा उनीहरुसँग पानीको होली खेल्ने? के यहाँ विभेद् गरिएन तराईलाई? के मधेसी र राप्रपाका कार्यकर्ता बराबारी भए त शासकको अगाडि?

तपाईँको भाग हामीले खोस्न खोजेको होइन।
हामीले पनि खोस्न लागेको हो भनेका छैनौं। हाम्रो समूह मिलाएर प्रदेश बनाउनुहोस् मात्र भनेका हौं। कहीँ प्रदेश बनाको छ जहाँ थारु मधेसी बहुमतमा पारेको, दुई नम्बर प्रदेशबाहेक।
अझ थारु ६ वटै प्रदेशमा दशौं स्थानमा छ। जबकि उनीहरु देशकै चौथो ठूलो जनसंख्या भएको समुदाय हो। किताकाट गरिएका उनीहरु कसरी निर्वाचनमा आफ्नो प्रतिनिधि विजय गराएर केन्द्रीय सत्तामा पुग्न सक्छन्? कसरी आफ्नो हकहितको लागि कुनै कुरा कर्यन्वयन गराउन सक्छन्?
मिलेर बस्ने कुरा गर्नुभो तर ब्यवहारमा देखिएन। के थारुले अखण्ड सुदूरपश्चिम पक्षको जुलुस बिथोल्न गएका थिए? न समर्थन गरेका थिए, न विरोध नै। थारुले अखण्ड सुदूरपश्चिमको जुलुस बिथोलेन। बरु अखन्ड पक्षधरहरुले थारुको जुलुस बिथोल्न आए।

राज्य र प्रहरीको आडमा थारुको घर, पसल निषेधाज्ञाको बेला जलाइए, यौन दुर्ब्यवहार गरिए, यातना दिइए।

द्वन्द्व कसले चाहेको हो स्पस्ट थाहा हुन्छ। थारु मधेसीलाई बिहारी, धोती, भन्दै फेसेबुकका भित्ता भरे, गालीगलौज गर्दै विभिन्न फेसबुक ग्रुप र पेज बनाइए। केका लागि?
फेरि हाम्रो भाग पनि परोस भन्नुहुन्छ। पहिलो संविधानसभामा खसआर्यले हामीलाई पनि आदिवासीमा सूचिकृत गरियोस् भन्दा न तराईका न पहाडका जनजातिले विरोध गरे। तर तराईमा १ प्रदेश (एक मधेस एक प्रदेश) माग्दा नि हुँदैन, २ प्रदेश माग्दा नि हुँदैन के ३ प्रदेश हुन्छ ? कि ४ प्रदेश ठिक हुन्छ ? भन्नुस अब।

तराईका नेता खराब होला तर त्यसको सजाय किन जनताले पाउने? नेताले उठाएको माग गलत छ उसलाई बुझाउनुस्, जेल हाल्नुस् जनता किन मार्ने। सीमामा आफ्नो जमिन भारतमा पर्दा दुःख पाउने तराईका जनता, सीमामा रेखदेख गर्ने तराईका जनता, भारतीय डाकुसँग लड्ने तराईका जनता अनि राष्ट्रबादको नारा लगाउँदै तराई भारतमा मिलाउन खोज्यो भन्ने आरोप लगाउने?

यस्तै गलत अभिव्यक्तिले गर्दा तराईका जनता आफूलाई अपूर्ण नेपाली नागरिक ठान्न विविश छन्। डा. सीके राउतका समर्थक त्यतीकै बढेको होइन महोदय, जबकि एक साल अगाडिमात्र राउतलाई सबले गाली गर्थे।

तपाई पनि बेलायतमा पढ्नु भएको होइन र?
कमी कमजोरी हुन्छ। हामीले मानव अधिकार आयोगमा, संयुक्त राष्ट्र संघमा पनि ज्ञापन पत्र दिएकै हो। हामीले जनता मरुवा सरकारलाई खबरदारी गरेकै हो। अब योभन्दा बढी त हतियार लिएर लडेमात्र हुन्थ्यो।

के थारु मधेसीले जनसंख्याको आधारमा आरक्षण मागेको हो र? होइन । पिछडिएकाले मागेको हो। पहुँच नभएर मागेको हो। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र मागेको हो। जनसंख्याको आधारमा गाबिस हुन्छ, नगरपालिका हुन्छ, महानगरपालिका हुन्छ भने किन निर्वाचन क्षेत्र हुँदैन?

Leave a Reply

Your email address will not be published.