छोरालाई ‘सिकलसेल एनिमिया’ देखिएपछि बाँके, टिटिहिरीया–३ निवासी भग्गुलाल थारुको परिवार यतिखेर तनावमा छ। परिवार भित्रै रोग देखिएपछि सबै सदस्यको रगत अनिवार्य जँचाउनु पर्ने बाध्यता छन्, उनी। रगत जँचाउन प्रतिव्यक्ति कम्तिमा पनि २ हजार रुपैयाँ शुल्क लाग्छ। प्रत्येक सदस्यको रगत जँचाउन ३० हजार भन्दा कम नलाग्ने भएपछि भग्गुलालले आँट्न सकेका छैनन्।
आफ्नै काकाको परिवारमा सिकलसेल रोग देखिएपछि टिटिहिरीयाकै केवलसिंह थारुले प्राइभेट ल्याबमा महँगो शुल्क तिरेर आफ्ना दुई छोरी, आमा र श्रीमतीको रगत जँचाए। चार जनाको रगत जँचाउन नेपालगन्ज आउँदा मात्रै उनको करिब १० हजार रुपैयाँ खर्च भयो । तर सबैमा सिकलसेल नेगेटिभ देखियो। ‘बंशाणुगत रोग भएकाले परिवारको कुनै एक जनामा देखिनासाथ सबैले अनिवार्य रगत जँचाउनुपर्छ,’ केवलसिंहले भने, ‘रोग पत्ता लगाउने उपकरण सरकारी अस्पतालमा नहुँदा निजी ल्याबमा महँगो शुल्क तिर्नुपर्छ।’
सरकारी अस्पतालमा सुविधा दिएको भए गरिब, असहायले प्राइभेट ल्याबमा महँगो शुल्क तिर्नु नपर्ने उनको बुझाइ छ। सरकारले रोग प्रमाणित भइसकेका बिरामीका लागि मात्र १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सहयोग गरे पनि रोग पत्ता लगाउन प्राइभेटमै जानुपर्ने बाध्यताले अधिकांशले चाहेर पनि जँचाउन नसकेको बाँके जिल्ला बार एशोसियशनका पूर्व अध्यक्ष केवलसिंहले बताए।
सिकलसेल रोग जनस्वास्थ्य समस्या रहेको ठहर गर्दै स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कोषमा समावेश गरी प्रत्येक विरामीलाई १ लाख बराबरको निःशुल्क उपचार सहयोग गर्ने निर्णय गतवर्ष गरेको थियो। सोहीअनुसार सरकारले भेरी अञ्चल अस्पताल नेपालगन्ज, राप्ती उप–क्षेत्रीय अस्पताल दाङ, जिल्ला अस्पताल बर्दिया, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल कन्चनपुर, लुम्बिनी अञ्चल अस्पताल बुटवल तथा काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालमा सिकलसेल बिरामीको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ।
रोग पत्ता लगाउन आवश्यक पर्ने ‘हेमोग्लोविन इलेक्ट्रो फोरेसिस मेसिन’ देशका कुनै पनि सरकारी अस्पतालमा नहुँदा थारु समुदायले प्राइभेट ल्याबमा रगत जँचाउनु परिरहेको भेरी अञ्चल अस्पतालका फिजिसियन डा. राजन पाण्डेले बताए। ‘यहाँका प्राइभेट ल्याबले पनि रगतलाई भारत पठाएर रिपोर्ट दिने गरेका छन्, यसले गर्दा जाँच शुल्क महंगो पर्न जान्छ,’ उक्त रोगबारे अध्ययन अनुसन्धान गरेका पाण्डेले भने, ‘जाँच गर्ने मेसिन सरकारी अस्पतालमै उपलब्ध भए थारु समुदायलाई ठूलो राहत मिल्थ्यो।’ मेसिनको खरिद मूल्य करिव ३५ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए।
केही महिनाअघि नेपालगन्ज आएका स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई यहाँका सरोकारवालाले ‘हेमोग्लोविन इलेक्ट्रो फोरेसिस मेसिन’ उपलब्ध गराइदिन ध्यानाकर्षण गराएका थिए। मन्त्री चौधरीले सकारात्मक प्रतिक्रिया दिँदै चाँडै मेसिन खरिद गरी भेरी अञ्चल अस्पतालमा पठाइदिने आश्वासन दिएको अस्पतालका स्वास्थ्यकर्मी राम कोठारी थारुले बताए। ‘मन्त्री ज्यू आफै थारु समुदायको व्यक्ति भएको हुनाले यो समस्यालाई त्यतिबेला सिरियस रुपमै लिनु भएको थियो, तर अहिलेसम्म मेसिन आएको छैन,’ उनले भने।
फिजिसियन डा. पाण्डेका अनुसार भेरी अञ्चल अस्पतालमा धेरैजसो बाँके, बर्दिया, दाङ, कैलाली, कन्चनपुरबाट र कपिलबस्तु तथा नवलपरासीबाट पनि छिटफुट रुपमा बिरामी आएर उपचार गराउने गरेका छन्। ‘अस्पतालमा दैनिक रुपमा १० देखि १५ जना बिरामी फलोअपमा आउँछन्,’ पाण्डेले भने। उक्त अस्पतालमा कुल ६ सय जना विरामी फलोअपमा रहेको उनले जानकारी दिए।
अहिलेसम्म अस्पतालबाट डेढ सय जनाले निःशुल्क उपचार गराइसकेका छन्। पछिल्लो समयमा सिकलसेल रोगका विषयमा थारु समुदायमा जनचेतना बढेपनि रोग पत्ता लगाउँदा महंगो शुल्क लाग्ने भएका कारण सबैले रगत जाँच गराउन नसकेको चिकित्सकहरु बताउँछन्। थारु समुदायमा मात्रै लाग्ने यो रोगमा पटक–पटक जोर्नी दुख्ने, ज्वरो आउने, जन्डिस हुनेलगायत लक्षण देखापर्छ।