संघर्ष समिति कैलालीले भन्यो- टीकापुरमा आतंक सिर्जना बन्द गर

tikapur 02

राज्यले टीकापुरमा अझै आतंक सिर्जना गरेको भन्दै थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आन्दोलनकारीलाई आक्रोशित बनाउने किसिमले यसअघि जोशीपुर–पररिया निवासी चुनीराम चौधरी र चैत २३ गते टीकापुरबाट विश्राम चौधरीलाई पक्राउ गरेको र सोही दिन रातसि साढे नौ बजेतिर भजनी त्रिशक्ति नगरपालिकाको जबरपुरस्थित रमेश चौधरीको घरमा छापा मार्ने क्रममा नीज रमेश चौधरीको बुबा र पत्नीलाई तथानाम गालीगलौच गरी सर्वसाधारण जनतालाई त्रसित पार्ने काम तत्काल रोक्न अनुरोध गरेको छ।

‘त्यसो नभएको खण्डमा सम्भावित नकारात्मक क्रियाकलापको जिम्मेवारी राज्यपक्षको हुने व्याहोरा जानकारी गराउँदछौं। यसर्थ प्रहरी प्रशासन निश्पक्ष हुन जरुरी छ। टीकापुरमा ८ गतेको लुटपाट तथा आगजनी गर्ने अपराधीलाई तत्काल कानुनी दायराभित्र ल्याई कडा कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति व्यवस्थापन गर्न यसै ज्ञापनपत्रमार्फत आग्रह गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ।

ज्ञापन पत्र पढ्नुस्

थरुहट-थारुवानको राजनीतिक अधिकारमा साझा अभियान

आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेशको निर्माण

थरुहट-थारुवान संयुक्त संघर्ष समिति

जिल्ला संयोजन समिति, कैलाली

मितिः २०७२-१२-२४

श्री माननीय गृहमन्त्री ज्यू

गृह मन्त्रालय सिंहदरबार, काठमाण्डौं

मार्फत

श्री प्रमुख जिल्ला अधिकारी ज्यू,

जिल्ला प्रशासन कार्यालय, कैलाली

विषय : ज्ञापन–पत्र सम्बन्धमा ।

नेपालको नयाँ संविधानमा आम नेपाली जनता आ–आफ्नो अधिकार सुनिश्चितताका लागि राज्यसँग माग राख्नु स्वभाविक प्रक्रिया हो । नेपालमा वर्षौंदेखि उत्पीडनमा परेका वर्ग समुदाय क्षेत्र लिङ्गको विविध चरणमा विभिन्न संघर्षहरु भएका छन् । यसै क्रममा थरुहट-थारुवान संघर्षको शुरुवात भयो र विभिन्न संघर्ष पश्चात राज्यले पहिचान र अधिकारलाई आत्मसात गरी कञ्चनपुर कैलालीसहित तराईका जिल्लाहरुलाई समेटेर पहिचान सहितको थरुहट-थारुवान स्वायत्त प्रदेश कायम गर्ने सहमति गरेको तर संविधान जारी गर्दा थरुहट-थारुवान आन्दोलनकारी र समग्र आन्दोलनरत उत्पीडनमा परेका वर्ग, क्षेत्र र लिङ्गको मागलाई बेवास्ता गरेको र प्रहरी प्रशासनबाट आन्दोलनलाई दबाउने विभिन्न प्रयत्न गरियो ।

tikapur 01

तत्पश्चात थरुहट-थारुवान संर्घषका क्रममा भदौ ७ गते थरुहट-थारुवान आन्दोलनकारीहरुले थरुहट-थारुवान स्वायत्त प्रदेश भनि भित्ते तथा बोर्ड लेखन गर्ने आन्दोलनको कार्यक्रम अगाडी बढाउने क्रममा प्रहरी प्रशासनले हस्तक्षप गर्दा दोहोरो झडप भई ८ जना सुरक्षाकर्मीको ज्यान जानेगरी दुःखदायी टीकापुर घटना घट्यो । तत्पश्चात कफ्र्यूको समयमा प्रहरी प्रशासनको आडमा केही अराजक तत्वहरुले भदौ ८ गते थारू समुदायको घर, भवन, पसल तथा व्यापार व्यवसाय छानीछानी लुटपाट र आगजनी जस्तो अमानवीय क्रियाकलाप भएको कुराले प्रहरी प्रशासनको पनि यस घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्नता रहेको हाम्रो ठहर छ । तसर्थ भदौ ७ गतेको घटनामा संलग्न भएको भनि निर्दोष सोझासाझा थारू समुदायका व्यक्तिहरुलाई सामुदायिक रुपमा धड्पकड, मानसिक र भौतिक रुपमा तनाव यातना भएको कुरा अवगत गराउँदछौ ।

हालसम्म पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा आन्दोलनकारी आन्दोलनको नेतृत्व र समग्र आन्दोलनकारीहरुलाई विभिन्न बहानामा मानसिक तनाव दिने डर त्रास देखाउने कार्यहरु प्रशासनबाट भएको छ । तर भदौ ८ गतेको घटनालाई लिएर पिडित पक्षले टीकापुर ईलाका प्रहरी कार्यालय मार्फत किटानीजाहेरी दिन खोज्दा प्रशासनले लिन नमानेकोले हुलाक मार्फत २९ जनाको नाममा किटानी जाहेरी दिदा पनि अहिलेसम्म प्रहरी प्रशासनले कुनै क्रिया प्रतिक्रिया नदिनुले प्रहरी प्रशासनको निश्पक्षता माथि गम्भीर प्रश्न चिन्ह लागेको छ । उता भदौ ७ गतेको घटना घटेको २ घण्टा पश्चात दुई वर्षे बालक टेक बहादुर साउँदको गोली हानी रहस्यमय मृत्यु हुनुले पनि सबैलाई मर्माहित बनाएको छ । तसर्थ निश्पक्ष ढंगले सो घटनाको अनुसन्धान हुन जरुरी छ ।

आन्दोलनकारीहरुलाई आक्रोशित बनाउने किसिमले यसअघि जोशीपुर–पररिया निवासी चुनीराम चौधरी र मिति २०७२ चैत २३ गते टीकापुरबाट विश्राम चौधरीलाई पक्राउ गरेको र सोहि मितिमा राती साढे नौ बजेतिर भजनी त्रिशक्ति नगरपालिकाको जबरपुरस्थित रमेश चौधरीको घरमा छापा मार्ने क्रममा नीज रमेश चौधरीको बुवा र पत्नीलाई तथानाम गालीगलौच गरी साधारण जनतालाई त्रसित पार्ने काम तत्काल रोक्न यसै ज्ञापनपत्रमार्फत अनुरोध गर्दछौं । त्यसो नभएको खण्डमा सम्भावित नकारात्मक क्रियाकलापको जिम्मेवारी राज्यपक्षको हुने व्याहोरा जानकारी गराउँदछौ । यसर्थ प्रहरी प्रशासन निश्पक्ष हुन जरुरी छ । टीकापुरमा ८ गतेको लुटपाट तथा आगजनी गर्ने अपराधीहरुलाई तत्काल कानूनी दायरा भित्र ल्याई कडा कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति व्यवस्थापन गर्न गराउँन हुन यसै ज्ञापनपत्रमार्फत आग्रह गर्दछौ ।

कार्यवाहक संयोजक

थरुहट-थारुवान संयुक्त संघर्ष समिति

बोधार्थ

श्री सम्माननीय राष्ट्रपाति ज्यू

राष्ट्रपातिको कार्यालय , शितलनिवास महाराजगंज काठमाडौं

श्री सम्माननीय प्रधानमन्त्री ज्यू

प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौं

श्री माननीय अध्यक्ष ज्यू

राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय काठमाडौं

Leave a Reply

Your email address will not be published.