राजकुमार ह्यारी बर्दियामा, थारु संस्कृति हेर्न ‘डल्ला होमस्टे’ जाने

prince-harry-02-800

नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी बर्दिया पुगेका छन्। उनी चढेको एनए ०५७ कलसाइनको हेलिकोप्टर सोमबार बिहान ९:१९ बजे बर्दिया राष्ट्रिय निकुन्जको गैंडा मचानको हेलिप्याडमा अवतरण गरेका छन्। अवतरण गरेलगत्तै निकुन्जका संरक्षक रमेश थापाको नेतृत्वमा राजकुमार ह्यारी र्याफ्टिङ गरेका छन्। ह्यारी कर्णालीबाट छुट्टिएको गेरुवा नदीको शाखा ‘खौराहा’ मा करिब एक घन्टा र्याफ्टिङको मजा लिए। निकुञ्जको गैँडामोचन पोस्टबाट सुरु भएको र्याफ्टिङ बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो।
र्या फ्टिङसँगै उनी निकुञ्जभित्र डुल्ने कार्यक्रम छ। राजकुमार ह्यारीका लागि निकुञ्जभित्रको बघौरा क्षेत्रमा जंगल ड्राइभको व्यवस्था गरिएको छ। बघौरा निकुञ्जभित्रको ठूलो घाँसे मैदान भएको क्षेत्र हो। यस क्षेत्रमा कहिलेकाही हजारौं संख्यामा मृगको बथान देख्न पाइने निकुञ्जका कर्मचारी बताउँछन्। ‘यो राम्रो घाँसे मैदान हो। यसमा मृग मात्र होइन, बाघ, गैंडालगायत वन्यजन्तु देखिने सम्भावना छ,’ निकुञ्ज स्रोतले भन्यो।

ह्यारीले आजै निकुञ्ज प्रशासन रहेको ठाकुरद्वारामा बाघ संरक्षण र अध्ययन/अनुसन्धानबारे प्रस्तुति सुन्ने कार्यक्रम छ। यसका लागि निकुञ्ज प्रशासनले सबै तयारी पूरा गरिसकेको छ। ‘बाघ कसरी संरक्षण भइरहेको छ? यसको अनुगमन र अनुसन्धान/अध्ययनका तौरतरिकाले बारे छोटो प्रस्तुति दिने कार्यक्रम पनि छ,’ निकुञ्जका एक कर्मचारीले भने। संरक्षणका अनुभवी तथा विज्ञ कर्मचारीले प्रस्तुति दिनेछन्। बाघसहित गैंडा र जंगली हात्तीबारे संक्षिप्त प्रस्तुति दिइनेछ। संरक्षणकर्मीका अनुसार बर्दियामा ५० वटा पाटे बाघ छन्।

संरक्षणसम्बन्धी प्रस्तुति सुनेपछि राजकुमार ह्यारी थारु संस्कृतिको आनन्द लिन निकुञ्जबाट करिब ६ किलोमिटर टाढाको ‘डल्ला होम स्टे’ पुग्नेछन्। त्यहाँ २१ वटा होमस्टे छन्। उनलाई थारु समुदायले स्वागत गर्नेछ। ‘त्यहाँ उहाँलाई थारु संस्कृति झल्किने लठुवानाच देखाइनेछ,’ ती कर्मचारीले भने, ‘पर्यापर्यटनबारे पनि विभिन्न कार्यक्रम देखाइनेछ।’ राजकुमार आउने भनेपछि आइतबारदेखि डल्ला होम स्टेमा अन्य अतिथिलाई राखिएको छैन। डल्ला गाउँका सडक ध्वजापताकाले सिँगारिएका छन्। डल्लाको कार्यक्रम सकिएपछि ह्यारी लमजुङको गौडागाउँ जानेछन्।

Leave a Reply

Your email address will not be published.