इन्दु थारु
मैले सुगुंरको मासु खान सानै हुँदा छोडेको। छोड्नुको एउटा विशेष कारण थियो, साथीहरुले सुंगुरको मासु खान्छ भनेर जिस्क्याउँथे। मलाई साह्रै हिनताबोध भएर आउँथ्यो। सुंगुर खाएर गर्नै नहुने अपराध गरेजस्तो। मुसा को हकमा पनि त्यही भयो। सुंगुर र मुसा खान छोडेर देखाउन चाहन्थे– हेर सुंगुर र मुसा खाने थारु म होइन, तिमीहरुको उच्च संस्कृति अंगाल्ने भएको छु।
मलाई राम्ररी याद आउँछ विद्यालय भर्ना भएको सुरुका दिनहरुमा कक्षाकोठाको सबैभन्दा पछाडि गएर बस्थेँ, केवल खस नेपाली भाषा बोल्न नजानेकै कारण। घरमा सधैं आमालाई डाई भन्ने मेरो बालमस्तिष्कमा आ– आमा थोपरियो। नमहा लाई ख– खरायो भनेर पढाउँदा म झन दंग परेको थिएँ। अरु धेरै कुराहरुले मलाई दंग पारेको हुनपर्छ। अहिले याद छैन। अझैसम्म पनि थारु गाउँहरुमा कति बच्चाहरु दंग परिरहेका होलान्। मेरो आफ्नै अत्यधिक थारु बाहुल्यता भएको गाउँमा अझै पनि डाईलाई आमा, नमहालाई खरायो, करछुललाई पन्यु भनि दंग पार्दै बच्चाहरुलाई पढाइन्छ। पढ्दा दंग नपर्ने कति बच्चाहरु स्कुल जान छोड्छन् या फेरि अनिवार्य नेपालीमा फेल हुन्छन् । कैयौं बच्चाहरु कक्षाकोठाको सबैभन्दा पछाडि बस्न बाध्य हुन्छन्, खस भाषा नजानैकै कारण, मैलेजस्तै।
सिक्नैपर्ने भो खस भाषा। नसिकी सुखै भएन, राष्ट्रिय भाषा न पर्यो। धेरै प्रयासपछि जब बोल्न थालेँ, सबै हाँस्न थाले। सबैले मजाक उडाउन थाले। मैले तपाईँ शब्दलाई तपाईँ अनि तिमी शब्दलाई तिमी नै भन्न खोजेको हो। तर मैले बोल्दा तपाईँ टपाई हुने रहेछ अनि तिमी टिमी हुने रहेछ। दाइ डाई हुनेरहेछ, जुन डाई शब्द म सधैं मेरी आमालाई बोलाउन प्रयोग गर्छु। यहाँ आफूभन्दा ठूलो केटा मान्छे दादालाई दाई भनिने रहेछ। सकी नसकी सिकेको खस भाषा सिकेर पनि मजाकको विषयवस्तु भएझैं लाग्यो। फेरि खस भाषा नजानेकोमा अर्को हिनताबोध। फेरि थप अर्को गर्नै नहुने अपराध गरेजस्तो।
आफ्नो परम्परागत पोसाकदेखि वितृष्णा जाग्न थाल्यो बिस्तारै मलाई। गवार अनि अनपढ भएको महसुस हुन थाल्यो, आफ्नो पोशाक लगाउँदा। कता कता लाज पनि लाग्न थाल्यो। अर्को समुदायको पोसाक लगाउँदा नै गर्व हुन थाल्यो। मानौ अर्काको पोसाक लगाएमा मात्रै म आधुनिक देखिन्छु, सभ्य देखिन्छु, शिक्षित देखिन्छु या फेरि नेपाली देखिन्छु।
यही आधुनिक देखिने नाममा मेरो लेहँगा, चोलिया, फरिया लोप हुँदै गयो, अचेल त पाउनै मुश्किल। खासमा भन्ने हो भने ममा आफ्नैप्रति अनि आफू हुनुमा वितृष्णाको भाव जगाउने त यो विभेदकारी समाज रहेछ, अहिले थाहा पाउँछु। मैले मेरो पहिरन लगाउँदा कहिल्यै नेपाली देखेन यो समाजले। मेरो पहिरन जो मेरो पहिचान हो, यो मेरो पहिचानलाई कहिल्यै नेपाली पहिचानसँग जोडिएन। बरु मेरो पहिचानलाई नेपाली हुनुको पहिचानबाट सधैं तल्लो स्तरमा राखियो। त्यसकै प्रतिकुल प्रभाव पर्दै जाँदा आफूलाई आफ्नो पहिचानबाट टाढा राखी अरुको संस्कृति अंगाल्दै गए। यतिमात्रै कहाँ हो र, मेरो पहिरन संगसंगै मेरो ढिक्री, मेरो घोंघी पनि हेपाईमा पर्यो। दिनप्रति दिन ओझेलमा पर्दै गयो। अनि मेरो ढिक्री र घोंघीको ठाउमा सेलरोटीको महत्व बढ्दै गयो। चाहे कसैलाई तेलमा बनाएको परिकार मन नपरोस् तर आफूलाई माथिल्लो स्तरको नेपाली देखाउन भए पनि सेलरोटी बनाउनैपर्ने बाध्यता।
यही त गर्यो यो समाजले मेरो पहिरन, मेरो भेषभुषा, मेरो भाषा, मेरो खानपिन सबै सबै यो समाजमा तल्लो स्तरको बनाइयो। मेरो मौलिक संस्कृति यो समाजमा असभ्य, अशिक्षित, गवार, पाखे अरु कुन्नी के के भन्छन्, सबै बन्यो तर नेपाली संस्कृति बन्न सकेन। मेरो संस्कृतिलाई नेपाली संस्कृति बन्नै दिइएन। सबै संस्कृतिका आफ्नै छुट्टै पहिचान हुन्छन् अनि सबै संस्कृतिका आ आफ्नै छुट्टै विशेषता हुन्छन्। मेरो संस्कृति पनि आफ्नै छुट्टै विषेषता बोकेको संस्कृति, जो विश्वमै एउटा अनुपम संस्कृतिको रुपमा रहेको छ, कहिल्यै सम्मान दिइएन।
आज महसुस हुन्छ, मैले नै आफ्नो संस्कृतिलाई सम्मान दिन जानिन् भने अर्कोबाट के आशा गर्नु? साँच्चै भन्ने हो भने आजसम्म संस्कृतिलाई गरिने सम्मान वा अपमानबाट म अनभिज्ञ थिएँ। अहिले थोरै भए पनि बुझ्दैछु आफ्नो पहिचान, आफ्नो मौलिकता अनि संस्कृतिको बारेमा। ठूला ठूला गाजलु ती आँखामा मात्र सुन्दरता देख्ने यो समाजमा मेरा साना आँखाले मेरो पहिचानको सुन्दरता खोज्दैछु।
साँच्चै एउटा जाति विशेषको धर्म, भाषा, संस्कृति, साहित्य, गीतसंगीतको अधिपत्य स्थापित यो समाजमा मैले मेरो पहिचान खोज्न कम चुनौतीपूर्ण छैन। ठूला आँखामा मात्रै सुन्दरता देख्छ यो समाजले। कतिसम्मको जातीयता भने सुन्दरताको परिभाषा पनि एउटा जाति विशेष हुने अरे। अनि मैले हाँस्दा देखिने मेरा ठूला दाँत देखिँदाचाहिँ सुन्दरता कम हुन्छ र? हाँस्दा बोल्दा देखिने मेरा ठूला दाँत पनि मेरो पहिचान हो, मेरो समुदायमा अधिकांशका दाँत ठूला हुन्छन् अनि आँखा साना हुन्छन्। आज यही साना आँखा, ठूला दाँत भएको शरीरमा मेरो लेहँगा, चोलिया, फरिया लगाउँदा संसारकै सुन्दर मानव भएको अनुभूति हुन थालेको छ। किनभने मेरो अनुहारमा भएको मेरा साना आँखा अनि ठूला दाँतले मेरो मौलिक परिचय दिइरहेको हुन्छ। मेरो छुट्टै पहिचान कसैले स्विकारोस् चाहे नस्विकारोस्, मेरो अनुहारले नै बोलिरहेको हुन्छ, चाहे म मौनतामा नै किन नबसुँ।
अब त म मेरो बोलीमा पनि छुट्टै मौलिक पहिचान पाउँछु। जब म तपाईँ भनिरहेको हुन्छु तर एकाएक टपाईँ भइदिन्छ, हो त्यसमै मेरो पहिचान झल्किन्छ। मेरो समुदायको अर्को व्यक्तिले यसरी नै बोलेको सुन्दा छुट्टै खालको मिठास पनि पाइरहेको हुन्छु। जसरी कलकल बग्ने खोला अनि चरीको चिरबिर आवाजमा आफ्नै मौलिकता छ। युगौं बिते पनि त्यो खोलाको कलकल र चरीको चिरबिराहटमा कुनै किसिमको बनावटीपन आउँदैन। तर अहिलेका तथाकथित शिक्षित र सभ्य भनिनेहरु जो खस नेपाली भाषा बोल्दा विदेशी लवज घुसाउँछन् तिनीहरुको तुलनामा त मेरो टपाईँ अनि टिमी मा बढीभन्दा बढी मौलिकता पाउँछु। साँच्चै भन्ने हो भने त वास्तविक मौलिकता मैले नै जोगाएको छु। आफूमा मात्र होइन, एउटा मधेसी मुलको मान्छेले आइरहेछु, खाइरहेछु भनि बोल्दा, उसको बोलीको मिठास अनि उसको मौलिकतादेखि म दंग पर्छु। मलाई बाँसुरीको धुन, खोलाको कलकल, मादलको ताल, चरीको चिरबिराहट अनि विभिन्न जातजातिका उनीहरुका आफ्नै मौलिक लवजले मन्त्रमुग्ध पार्छन्। कसैले मजाक उडाए नै भने पनि आफ्नो छुट्टै पहिचानप्रति गौरव महसुस हुन थालेको छ।
मेरो फरक पहिचान, मेरो फरक अस्तित्व, मेरो फरक संस्कृतिमाथि सदैव प्रहार अनि विभेद भइनै रह्यो कुनै न कुनै रुपमा। समयको विभिन्न कालखण्डमा विभिन्न किसिमका परिवर्तहरु भए तर यो समाजमा विभेद् भने कायमै रह्यो। कुन्नी किन हो, जहाँतहीँ विभेदमात्रै देख्छु मैले– जातीय विभेद, वर्गीय विभेद, धार्मिक विभेद, लैंगिक विभेद, क्षेत्रीय विभेद, कति हो कति विभेद। विभेद पनि थरीथरीका। प्रत्येक समाजमा। समाजको प्रत्येक तह र तप्कामा। फूलको आँखामा फूलै संसार भन्छन्, मैले त फूल देख्नै सकिन केवल विभेद मात्रै देख्छु। मेरा आँखा फूल बन्न नसकेका पो हुन् कि?
लेखकबाट थप