टीकापुर घटनामा लुटिएको हतियारसहित कुकुरा चौधरी पक्राउ

multigunमल्टि ग्यासगनसहित पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीको क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) ले एक थान मल्टि ग्यासगनसहित पक्राउ गरेको कैलाली हसुलिया–८ मनाउका ३९ वर्षीय निर्दङ्ग भन्ने कुकरा चौधरीलाई सार्वजनिक गरेको हो ।

प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वमा खटेको टोलीले अभियुक्त चौधरीलाई डल्लप (बयलगाडा) मा हतियार लुकाएर बिक्रीका लागि जाँदै गरेको अवस्थामा बसौटी–३ स्थित कर्मदेव सामुदायिक वनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद हतियार गत भदौंमा टीकापुर घटनामा लुटिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । मल्टि ग्यासगन नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्रै चलाउने गरेको जनाउँदै सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयकुमार भट्टले उक्त हतियार टीकापुर घटनामा लुटिएको हुन सक्ने बताए ।

‘यो हतियार सम्भवतः नेपाल प्रहरीकै हुनुपर्छ’, उनले भने–‘तर, नम्बर मेटिएकोले हाम्रो हो भनेर यतिकै पुष्टि हुदैन ।’ उन विधि विज्ञान प्रयोगशालाबाट नम्बर पत्ता लागेपछि हतियार कसको हो भनेर पुष्टि हुने पनि जनाए । टीकापुर हिंसात्मक घटनाका क्रममा प्रहरीको एक–एक थान एसएलआर, ग्यासगन, पेस्तोल र सञ्चार सेट हराएको थियो । हराएको एसएलआर भने यसअघि नै टुटफुट भइसकेको स्वयम् प्रहरीले जनाएको छ । ‘एसएलआर टुटफुट भइसकेको पुष्टि भएको छ’ डीआइजी भट्टले भने–‘त्यसैले पेस्तोल, ग्यासगन र सञ्चार सेट खोज्नतर्फ प्रहरीको ध्यान केन्द्रित थियो ।’ प्रहरीले चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

अभियुक्त चौधरीले जोशीपुरमा रहेका आफ्ना आफन्तबाट उक्त हतियार बिक्रीका लागि ल्याएको पत्रकार सम्मेलनमा बताए । उक्त हतियार ५० हजारमा बिक्री गर्ने मोलमोलाई भएको जनाइएको छ । चौधरीले हातहतियार बिक्री गर्ने गरेको सूचनाको आधारमा लामो अनुसन्धानपछि पक्राउ गर्न सफल भएको आरआईटी टोली प्रमुख प्रहरी सहायक निरीक्षक केशव जोशीले बताए । हतियार सहित पक्राउ परेका चौधरीमाथि हातहतियार खरखजाना ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.