मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले कैलाली ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारण भएको बताएका छन्।
कैलालीको पहलमानपुरमा आयोजित बृहत् आमसभामा बोल्दै सांसद चौधरीले भने- ‘भदौ ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारणले भएको स्पष्ट हुँदाहुँदै २२ जना थारुलाई पक्राउ गरी जेलमा राखेको छ। ८ गतेको घटनाको जिम्मा यो देशका शासकले लिने कि नलिने ?’
उनले केपी ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिक सात बुँदे सहमतिमा गएको र त्यो सहमति कार्यान्वयनतर्फ अधि नबढे चाँडै सरकार छोड्नसक्ने बताए।
उनले भने, ‘सरकारले मंसीर १७ गते नै टीकापुर घटनामा संलग्न आरोपमा पक्राउ परेकाहरुको मुद्दा खारेज गर्ने र आगजनी भएका घरकालाई क्षतिपूर्ति दिने निर्णय भएको छ। निर्णय कार्यान्वयन नभए धेरै समय सरकारमा बस्दैनौं।’ उनले पक्राउ परेका निर्दोष थारुहरुलाई तुरुन्त बिना सर्त रिहा गनुपर्ने बताए।