मधेसी नेताहरु लालुको अगाडि ‘लम्पसार’ पर्नु लाजमर्दो : गच्छदार

Bijay Gachhadar

मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमणको आलोचना गरेका छन् । उनले बिहारका नेताहरुका अगाडि लम्पसार पर्नु लाजमर्दो भएको बताए । मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव अन्दोलनमा समर्थन जुटाउन पटनामा त्यहाँका नेताहरुसँग भेटघाटमा छन् । उनले मधेसी वा थारुलाई अधिकार समपन्न बनाउन अरु देशबाट जनता ल्याएर नहुने टिप्पणी गरे ।

‘मधेसी नेताहरु बिहार गएका छन्, फोटोमा लालुप्रसाद गद्दीमा बसेका छन्, हाम्रा क्रान्तिकारी मधेसी नेताहरु उनको अगाडि लम्पसार छन् । के यो लाजमर्दो होइन् ?’ गच्छदारले भने । विराटनगरमा एक कार्यक्रममा बोल्दै उनले मोर्चाका नेताहरुको तिखो आलोचना गरे ।

सद्‍भावनाका अध्यक्ष राजेन्द्र महतो अहिले आफूविरुद्ध रहेको बताउँदै गच्छदारले भने, ‘राजेन्द्र महतो अहिले मेरा पछाडि लागेका छन्, घरघर जान्छन्, चिया पिउछन्, भात खान्छन् र मेरो विरुद्धमा बोल्छन् ।’ उनले महतो राजनीतिमा आफूभन्दा निक्कै पछाडि रहेको बताए । गच्छदारले भने–‘म राजनीति सुरु गरेर ०२७ सालमा जेल पर्दा उनी कसै कहाँ नोकरी गर्थे, ठेक्कापटाको काम गर्थे, अहिले आएर मेरो रिस गरेर हुन्छ ?’

मधेसवादी दलका नेताहरू एक अर्कालाई सिध्याउने खेलमा लागेको आरोप लगाउँदै गच्छदारले को ठूलो पार्टी र को ठूलो नेता भन्ने होडवाजी चलेको आरोप लगाए । आन्दोलनको नाममा मधेसी जनतालाई अहिले गुमराह पार्ने कार्य भइरहेको उनले बताए। आफू आन्दोलनबाट फिर्ता नभएको बताउँदै उनले आन्दोलनको माग स्थापित गराउनेका लागि सरकारमा गएको कार्यकर्तालाई प्रष्टोक्ति दिए ।

०६३ साल माघ १ गते अन्तरिम संबिधान जारी हुँदा आफूले नै मधेस आन्दोलनको बिगुल फुकेको गच्छदारले दावी गरे । उनले भने–‘थारु, मधेसी, मसुसलमान, आदीवासी जनजाती लगायतको अधिकार छैन्, अन्तरिम संविधान अपुरो छ अधुरो छ त्रुटिपूर्ण छ भन्दै मैले बिगुल फुकेँ, माघ २ गते मैले पठाएको कार्यकर्ताको सहयोगमा उपेन्द्र यादवले माइतीघर मण्डलामा संबिधान जलाए, राज्य असहिष्णु भएर जलाउनेहरुलाई पक्राउ गर्‍यो, लहान घटना भयो र मधेस आन्दोलन सुरुवात भयो ।’

उनले चक्काजाम, ढुंगामुढा र तोडफोड गरेर मात्र आन्दोलन नहुने बताउँदै सहमतिका आधारमा पनि माग पूरा गराउन सकिने बताए ।

 

Leave a Reply

Your email address will not be published.