पर्साका थारुले राजनीतिक दललाई बहिष्कार गरेर मनाए माघी

maghi mahotsaw-3

पर्साका थारु समुदायले माघी पर्ब राजनीतिक दललाइ बहिष्कार गरेर मनाएका छन् । शुक्रबार माघे सङ्क्रान्तिको अवसरमा वीरगन्जमा आयोजना गरिएको माघी समारोहमा थारु समुदायले राजनीतिक दल र नेताहरुलाइ बहिष्कार गरेका हुन् ।

अघिल्ला वर्षहरुमा थारुहरुले राजनीतिक दल नेतालाइ नै प्रमुख अतिथी बनाएर माघी समारोह र महोत्सव आयोजना गर्थे ।तर शुक्रबार आदर्शनगरको स्विमीङ पुल परिसरमा आयोजित माघी समारोहमा थारु माघी मुल समारोह समितिले कुनै पनि राजनीतिक दलका नेतालाइ निम्तो नै दिएन ।

राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर कृपा सिन्धु चौधरीको प्रमुख अतिथ्यतामा आयोजित समारोहमा थारु अगुवा र विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधीहरुलाइ मात्र अतिथीको रुपमा निम्त्याइएको थियो ।

थरुहट र मधेसको माग प्रति राजनीतिक दल इमान्दार नदेखिएकाले दलका नेताहरुलाइ कार्यक्रममा आमन्त्रण नै नगरिएको थारु कल्याणकारीणी समितिका सदस्य एंव अधिवक्ता अमय दास थारुले बताए ।

थरुहट मधेस पाँच महिना देखि आन्दोलनमय छ , उनले भने ,‘तर हाम्रा मागका विषयमा कुनै पनि दल जिम्मेवार देखिएका छैनन् ,त्यसैले नेताहरुलाइ बोलाइएन ।

थारु नागरिक समाज बारा , पर्सा रौतहटका संयोजक प्रमानन्द चौधरीले आन्दोलनका कारण यस वर्ष माघी समारोह अघिल्ला वर्षहरुको भन्दा खल्लो भएको बताए । पोहोर परार महोत्सव नै आयोजना गथ्र्यौ , उनले भने , तर यसपाली आन्दोलनले समय प्रतिकुल भएका कारण माघी पर्बमा धेरै तडकभडक गर्न सकिएन ।

थारु सम्बद्ध विभिन्न संघसंगठनको समन्वयमा थारु माघी मुल समारोह समितिले आयोजना गरेको समारोहमा युवायुवीहरुले थारु समुदायको रितिसंस्कृति र भेषभुषा झल्किने घाटो नाच, समाचकेवा नाच, झम्टा नाच प्रस्तुत गरे ।

समारोह स्थलमा थारुहरुको विशेष परिकार घोंगी, केकडा, माछा ,परेवा , हाँस लगायतका खानेकुराहरुको स्टल पनि राखिएको थियो । यस्तै माघी पर्बकै अवसरमा शुक्रबार थारु माघी मुल समारोह समितिले रक्तदान कार्यक्रम पनि गर्‍यो । माघी समारोह आयोजना गरिकै स्थलमा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरे ।

थारु माघी मुल समारोह समितिका संयोजक मनोज चौधरीको अध्यक्षतामा भएको माघी समारोहमा थारु अगुवाहरु मोहन गौरो, प्रमानन्द चौधरी, बालेश्वर चौधरी, सन्तोष चौधरी, अमय दास थारु, थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद राजेन्द्र महतो, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, आदीवासी जनजाति पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष जगत राई, आदीवासी जनजाति महासंघ पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल बार एशोसियसन पर्साका अध्यक्ष प्रमोद साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

समारोह अघि थारु माघी मुल समारोह समितिले वीरगन्जमा थारु जातिको संस्कृति झल्कने भेषभुषा सहितको झाँकी र्‍याली पनि निकालेको थियो ।

Leave a Reply

Your email address will not be published.