राजधानीको माघी महोत्सवमा फुट, रंगशालामा प्रधानमन्त्री र खुलामञ्चमा बाबुराम आउँदै

Maghi Mahotsaw

राजधानीमा बसोबास गर्ने थारु समुदायकोे माघी महोत्सवमा विभाजन भएर दुई ठाउँमा मनाउने तयारी गरेको छ। माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको दुवै आयोजक पक्षले जनाएका छन्। खुलामञ्चमा माघी महोत्सव मनाउने पक्षले पुस २८ गते रिपोर्टस क्लब, भृकुटी मण्डपमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। थारु कल्याणकारिणीसभा (उपत्यका समिति) बाट असन्तुष्ट पक्षहरुले छुट्टै महोत्सवको आयोजना गरेका हुन्। थारु कल्याणकारिणीसभा उपत्यका समितिले गर्ने महोत्सवमा आर्थिक पारदर्शिता नभएको र युवाहरुलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट पक्षले खुलामञ्चमा छुट्टै महोत्सवको तयारी गरेका हुन्।

खुला मञ्चको महोत्सवको प्रमुख अतिथिमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुने मूल आयोजक कमिटीका संयोजक चन्द्रप्रसाद चौधरीले बताए। थारु विद्यार्थी समाज लगायत विभिन्न २५ थारु संघ संस्थाले मनाइरहेको सो महोत्सवमा ६० देखि ७० वटा विभिन्न परिकारका स्टलहरु रहने जानकारी गराइयो।

यता दशरथ रंगशालामा हुने अर्को माघी महोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली तय भएको आयोजकले जनाएको छ। प्रधानमन्त्री ओलीले थारु पोशाकमा महोत्सवको उदघाटन गर्ने कार्यक्रम तय भएको महोत्सव मूल आयोजक कमिटीका संयोजक तथा थारु कल्याणकारिणीसभा (उपत्यका समिति) का अध्यक्ष सत्यनारायण चौधरी सुमनले जानकारी दिए। दशरथ रंगशालामा हुने महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री, विशिष्ट अतिथि उपप्रधानमन्त्री तथा फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, अतिथिहरु थारु मन्त्री तथा सांसदहरु रहने छन्।

दुबै महोत्सवको प्रमुख आकर्षणमा थारु संस्कृति, हस्तकला, थारु फुड फेस्टिबल, थारु झाँकी तथा नृत्यहरु, थारु समुदायको विभिन्न पोशाक, पत्रपत्रिका तथा उदघाटन सत्रमा थारु समुदायले उठाउँदै आएको मागको विषयमा राजनीतिक सन्देश दिने रहेको आयोजकले बताएका छन्।

थारु पत्रकार संघ लगायतको प्रयासमा दुवै पक्षलाई मिलाउने प्रयास अन्तिम समयसम्म गरिए पनि सम्भव नभएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रेमीलाल चौधरीले बताए। थरुहट थरुहट थारुवान संयुक्त संघर्ष समितिले माघीलाई आन्दोलनका रुपमा मनाउने निर्णय गर्दै थरुहट थारुवानको माग विरोधी नेता तथा सरकारमा रहेका मन्त्रीहरुलाई सामाजिक तथा राजनीतिक बहिष्कार गर्दै कालोझण्डा प्रदर्शन गर्दै बिरोध गर्ने एवम् थरुहट थारुवान भूगोलमा प्रवेश निषेध गर्ने निर्णय गरेको थियो।

समितिको मुख्य घटकमध्ये एक थारु कल्याणकारिणी केन्द्रिय सभा छ । निर्णय बिपरित सभाको उपत्यका समितिले मंत्री तथा सभासदलाई बोलाउने निर्णय गरे पनि थाकस केन्द्रले कुनै चासो देखाएको छैन । यसरी अतिथि विवादका कारण पनि २०७२ को माघी महोत्सव विभाजन भएको देखिएको छ । थरुहट आन्दोलनलाई बल पुयाउन मिलेर जानु पर्नेमा माघी महोत्सवको फुटले भाइ फुटे गँवार लुटेको स्थितिलाई चरितार्थ गरेको छ ।

Leave a Reply

Your email address will not be published.