उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तराई मधेसमा दुई प्रदेश असम्भव रहेको स्पष्ट पारेका छन् । ‘मधेसमा दुई प्रदेश असम्भव छ । झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन्,’ काठमाडौंमा आइतबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझेपछि गच्छदारले भने, ‘यी जिल्ला दुई नम्बर प्रदेशमा जाने सम्भावना छैन । त्यहाँ म पनि छु । दुई प्रदेशले मधेसको समस्या समाधान गर्दैन । तराईमा तीनसहित आठ प्रदेश बनाए त्यसले सबैको माग सम्बोधन गर्छ ।’
गच्छदारले झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुर जिल्लालाई समेटेर एक प्रदेश र पश्चिममा अर्घाखाँची, पाल्पा, रुकुम र रोल्पालाई बर्दिया प्रदेशबाट हटाएर कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर सीमांकन गरे समस्याको समाधान हुने दाबी गर्दै आफ्नो यो प्रस्तावमा प्रमुख दलका शिर्ष नेताहरुले अस्विकार नगरेको बताए ।
उनले भने, ‘तराईमा दुई प्रदेश हुनु पर्छ भन्ने ‘एक्सट्रिम’ सोच हो । सात प्रदेशबाट आठ प्रदेश गरेर सीमांकनमा पुनर्निर्धारणको आधार मधेसी मोर्चालाई दिनु पर्छ । यसले थारु र मुस्लिमको माग पनि पुरा गर्छ ।’
गच्छदारले सरकार निर्माणको बेला आफूसँग भएको आठ बुँदे सम्झौतामा उल्लेख सीमांकन बाहेकको सहमति पुरा भएको बताए ।
गच्छदारले आफ्नो कारणले केरुङ नाका खोल्न ढिलाई भएको भन्ने आरोपको खण्डन गरे । ‘केरुङ नाकालाई मैले विशेष प्राथमिकता दिएको छु । गल्छी देखि बेत्रावतीसम्मको सडक दुई लेन बनाउन सडक विभागले टेण्डर प्रक्रिया सुरु गरिसकेको छ । बेत्रावतीदेखि स्याफ्रुबेसीसम्मको सडक सडकले नेपाली सेनालाई निर्माणको जिम्मा दिइसकिएको छ । चीनसरकारको सहयोगमा गर्ने भनेको बाँकी काम चीनले चासो नदेखाए सरकारले नै दुई लेन बनाउँछ,’ उनले भने ।