तेस्रो खिचरा महोत्सवको स्थान परिवर्तन

Khichara Mahotsaw Chitwan

कारी महतो
विगत दुई वर्षदेखि सुल्ताना स्कुलको चौरमा पुस २९ देखि माघ ३ गतेसम्म हुँदै आएको खिचरा महोत्सव यस वर्षदेखि खैरहनी उच्च मा.वि. खैरहनी मा हुने भएको छ । विभिन्न सहयोगी संस्थाहरुको माग र दर्शकहरुको सुविधालाई मध्यनजर गरी यसवर्षको तेश्रो खिचरा महोत्सव महेन्द्र राजमार्गदेखि करीब आधा किलोमिटर दक्षिणमा रहेको खैरहनी उमाविको चौरमा हुने निधो भएको हो । विगत दुई वर्षमा भएको खिचरा महोत्सव राजमार्गदेखि तीन किलोमिटर दक्षिणमा रहेको निमावि सुल्तानामा भएको थियो । तर यसवर्ष नाकाबन्दीले गर्दा इन्धन अभावका कारण दर्शकहरुलाई सुविधा होस् भनी पर्सा बजार नजिक महोत्सव गर्न लागेको कुरा मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले बताउनु भयो । वहाँले सुल्ताना गाउँवासीहरुलाई चित्त नदुखाउन अनुरोध समेत गर्नुभयो ।
महोत्सव स्थल बजार क्षेत्र नजिक स्थानान्तरसँगै पर्सा बजार क्षेत्रका ब्यापारी तथा व्यावसायीहरु निकै उत्साही भएको जनाइएको छ । बजार क्षेत्र नजिक खिचरा महोत्सव भएमा दर्शकको भीडभाडसँगै व्यापार व्यावसायमा सकारात्मक प्रभाव पर्ने भएकोले पर्सा बजारका व्यापारीहरुले खुशी व्यक्त गरेका छन् ।

विगत वर्षमा निकै कम स्टल रहेकोमा यसवर्ष स्टलको संख्या पनि बढ्ने भएको छ । महोत्सवका लागि स्टल बुकिङ्ग धमाधम भैरहेको छ । यस वर्ष थारु खानाका परिकारका स्टलका साथै अन्य स्टलहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ । यसवर्ष बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ । लोकगायक मिलन लामा, शिव परियार, मनोज महतो, हरि योञ्जन लगायतका कलाकारहरु आउने निश्चित भैसकेको कुरा साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानकारी दिनुभयो ।

महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु. २० टिकट शुल्क लाग्ने जनाइएको छ । महोत्सव परिसरमा निःशुल्क वाइफाइको समेत व्यवस्था गरिने कुरा सूचना प्रविधि व्यवस्थापन समितिका संयोजक अञ्जन चौधरीले जानकारी दिनुभयो । प्रत्येक पत्रकार साथीहरुका लागि छुट्टाछुट्टै युजर नेम बनाएर पत्रकारहरुलाई उपलब्ध गराउने तथा अन्य दर्शकहरुका लागि पनि फ्रि वाइफाइ उपलब्ध गराउने योजना रहेको कुरा वहाँले बताउनु भयो ।

विगत वर्ष झैं यसवर्षको खिचरा महोत्सवमा पनि मानवीय कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ । माघ १ गतेको दिन चौधरी पोलिक्लिनिकको सक्रियतामा निःशुल्क मधुमेह परिक्षण, माघ २ गते थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ कै आयोजनामा खुला रक्तदान कार्यक्रम, महोत्सव अवधिभर पाँच दिन निःशुल्क प्राथमिक उपचार केन्द्र रहने कुरा मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.