चार सहिदको लहानमा श्रदाञ्जली सभा

DSC05700-900x450प्रहरीसँगको झडपका क्रममा सप्तरीको विभिन्न स्थानमा प्रहरीको गोली लागेर मृत्यु भएका चार जनाप्रति संयुक्त मधेसी मोर्चाका शीर्ष नेता तथा सिरहाका स्थानीयवासीले श्रद्धाञ्जली अर्पण गरेका छन्। शवयात्राका क्रममा सिरहाको लहानस्थित सहिद चोकमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएका चारैजनाका पार्थिव शरीरमा फूलगुच्छा चढाएर सिरहाका राजनीतिज्ञ, स्थानीयवासी, नागरिक समाज, बुद्धिजीवीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

चारैजनाको शवलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणपश्चात् सप्तरी सदरमुकाम राजविराज, रुपनी, शम्भुनाथ, कदमाहा हुँदै सिरहाको लहानस्थित सहिद चोकमा श्रद्धाञ्जलीका लागि ल्याइएको हो।

संयुक्त मधेसी मोर्चाको अगुवाइमा सडक अवरुद्ध गर्ने क्रममा मङ्सिर ५ गते राति प्रहरीसँगको झडपका क्रममा सप्तरीको जमुनी मधेपुरा–९ छपकी निवासी ३५ वर्षीय नागेश्वर यादव, भारदहमा डाढा गाविसका १८ वर्षीय वीरेन्द्र रामको गोली लागेर मृत्यु भएको थियो भन्ने त्यसको भोलिपल्ट राजविराज नगरपालिका–१ निवासी दिलीपकुमार साह र शिवशङ्कर दासको मृत्यु भएको थियो।

लहानमा श्रद्धाञ्जलिपश्चात् सप्तरीको भारदह, हनुमाननगर हुँदै राजविराज आएर शवयात्रा समापन गरी सामाजिक परम्पराअनुसार अन्तिम संस्कारका लागि परिवारजनलाई दिइने संयुक्त मधेसी मोर्चा सप्तरीका संयोजक सुनिल झाले जानकारी दिए।

यसअघि सप्तरीको राजविराजमा आयोजित श्रद्धाञ्जलि सभामा संयुक्त मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि मृतक चारैजनाको पार्थिव शरीरमा फूलगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.