तराईका पूर्वी तराईका थारु र मधेसी महिलाले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने सामाचकेवा पर्व समापनको सङ्घारमा छ। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन मिथिला क्षेत्रमा मिथिलानीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाउने यो पर्व पूर्णिमा तिथि पारेर बुधबार समापन हुँदैछ।
दिदीबहिनीले आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्साँउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको मिथिलानीहरु बताउँछन्।
समूहमा आफ्नै दाजुभाइको बहादुरी वर्णन गर्दै गाइने गीतबीच ‘चुगला’ (कुरा लगाउने फटाहा) को निर्मित आकृतिलाई सत्तोसराप गर्दै आगाले झोसेर डढाइने पर्व रमाइलो खेल नै भएको बर्दिवास–३ पिपलचौतारीको चौबाटोमा सामाचकेवा खेल्दै आएकी पेसाले स्वास्थ्यकर्मी रश्मि दत्तले बताइन्।
बोलीचालीका भाषामा पनि सामाचकेवा पर्व मनाउनुलाई ‘सामा खेल’ भनिने गरिएको दत्तको भनाइ छ। मध्यरातसम्मको चकमन्न समयमा नगर, गाउँबस्तीको चौबाटामा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आफूप्रति दर्साएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने मिथिलाका युवा बताउँछन्।
‘कात्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौँ बरख जियौँ यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र)ले फेरि अवतार लिएकी छन्, तिमी सयौँ वर्ष बाँच्छौँ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छन्।)
यी गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुनेहरु खुसीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई आफ्ना चाहिँ किन दिदीबहिनी भएनछन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै भटौलिया गाउँका युवा सामाजिक कार्यकत्र्ता प्रवीण कर्णले बताए।
‘चलु बहिना सामा खेल भैयाके आँगन हे…जुग जुग जियथिन भैया अपन हे…!’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऔँ, हाम्रो कामनाले दाजुभाइ युग युगसम्म बाँच्नेछन्।)
मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने इच्छा पालेकालाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ। ‘चोक चोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्छु’ आफ्ना दिदीबहिनी नभएका भङ्गाहा-४ का ३४ वर्षीय युवा भरत यादवले खिन्न हुँदै भने, ‘के गरौँ…? आफ्ना दिदीबहिनी भएनन्।’ यही दिदीबहिनी नभएको न्यास्रोले अब आफ्ना छोराहरुले न्यास्रिनु नपरोस् भनेर एउटी छोरीको कामनामा दुई छोरा भइसक्दा पनि परिवार नियोजन नगरेर अझै छोरी पर्खेको यादवको भनाइ छ।
पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगाले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति फुटाउन लगाई जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ। यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र दक्षिणा दिने गर्छन्।
दाजुभाइप्रति दिदीबहिनीले यस्तो प्रेम दर्साउने यो पर्व करिब साँढे पाँच हजार वर्ष पहिले द्वापर युगदेखि सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन्। द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका संस्कृति विषयका उपप्राध्यापक मनोज मुक्तिले बताए।
कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएको पौराणिक वर्णन रहेको पाइन्छ। दाजु साम्बको त्यही गुणलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको मिथिला क्षेत्रकै प्रसिद्घ साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए।
मिथिलाञ्चल क्षेत्रमा सामाचकेवा पर्वको आकर्षण घट्दै गएकामा भने बुढापाकाले चिन्ता व्यक्त गरेका छन्। नयाँ पुस्ताका छोरीले सामा खेलमा चासो नदेखाएपछि अबका केही वर्षपछि यो इतिहासमा मात्रै पढ्न पाइने विषय हुने हो कि भन्ने लाग्न थालेको नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी ८० वर्षीय वरिष्ठ पत्रकार विन्देश्वरीप्रसाद मण्डलको भनाइ छ। रासस