रुपन्देहीको दुई स्थानमा खुल्दैछ थारु ‘होम स्टे’

 tharu-home-stay-rupandehiरुपन्देहीमा थप पर्यटक भित्राउने उद्देश्यले दुई स्थानमा थारु होम स्टे सञ्चालन गर्ने तयारी भएको छ। थारु संस्कृतिको जर्गेना तथा पर्यटक भित्र्याउने उद्देश्यले जिल्लामा राजमार्गसँग जोडिएका देवदह र सैनामैना नगरपालिकाले थारु होम स्टे सञ्चालनको प्रक्रिया आगाडि बढाएका छन्। ‘दुई महिनाभित्र होम स्टे सञ्चालनमा ल्याउने योजना रहेको छ,’ देवदह नगरपालिका कार्यकारी अधिकृत गणेश घिमिरेले जानकारी दिए।

भगवान बुद्धको मावलीस्थलको रुपमा चिनिएको देवदह नगरपालिका-३ सिसपुरमा होम स्टे सञ्चालन गर्न सभाहल निर्माण, गाउँमा सरसफाई तथा मञ्चको काम आगाडि बढेको उनले बताए। थारु बाहुल्यता भएको उक्त स्थानमा लुम्बिनी विकास कोष र नगरपालिकाले लागानी गरेर होम स्टे सञ्चालन गर्ने तयारी छ।

राजमार्गसँग जोडिएको तथा बुद्धको मावलीस्थान भएकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने निकै सम्भावना रहेको स्थानीय थारु अगुवाहरुले भनाइ छ।

यस्तै जिल्लाको सैनामैना नगरपालिका-२ उचडिहवामा होम स्टे सञ्चालनको तयारी सुरु गरिएको छ। बुटवलदेखि १३ किलोमिटर पश्चिम कालिकाचोक नजिक होम स्टे सञ्चालन गरिने छ। उक्त स्थानमा पर्यटकलाई स्थानीय मलमलादेवी मन्दिर, पर्रोहा बोलबम धाम, सैनामैना क्षेत्र, प्राकृतिक चिकित्सा केन्द्र, गजेडी ताललगायत पर्यटकीयस्थल अवलोकन भ्रमण गराउन सकिने विश्वास गरिएको छ।

होम स्टे सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीका अनुसार ‘होम स्टे’ सञ्चालनका लागि स्थानीय २१ जना थारु परिवारले रुचि देखाएका छन्। ‘२१ वटा होम स्टेमा एकैपटक ८४ जना पाहुनालाई राख्न सकिने गरी घर निर्माण गर्न थालिएको छ,’ उनले भने। होम स्टे सञ्चालनका लागि स्थानीय महिलालाई तालिम, सीप र विभिन्न स्थानमा सञ्चालनमा रहेका होम स्टेको अवलोकन भ्रमण गराइसकिएको छ।

सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले होम स्टे सञ्चालनबाट स्थानीय बासिन्दाको आर्थिक अवस्थामा सुधार हुने बताए। ‘होम स्टेले थारुको जीवनस्तरमा परिवर्तन ल्याउँछ,’ उनले भने। रासस

Leave a Reply

Your email address will not be published.