बाँकेका पहाडेहरु थारुसँग मिलेर बस्न हुने, कैलालीका थारुहरु पहाडेसँग मिल्न नहुने?

ramesh lekhak

नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिले बनेको सात प्रदेशको सीमा एक इन्च पनि फेरबदल नहुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अघिल्लो सरकारले पेश गरेको संविधान संसोधन विद्येयक अगाडि बढाए धेरै समस्या समाधान हुने भन्दै सीमांकनमा फेरबदल गर्न नसकिने बताए।

‘दोस्रो संविधान सभाले जातीय राज्य हुँदैन भनेर निर्णय गरेपछि सात प्रदेश बनाएका हौं। नेपाली कांग्रेसले जातीय राज्य कहिल्यै मान्दैन। ९० प्रतिसत जनप्रतिनिधिले सर्वसम्मतिले बनाएको सीमांकनमा पाँच जिल्लालाई विवादित भन्ने हो भने कैलाली, कञ्चनपुर, सुनसरी, मोरङ र झापमा जनमत संग्रह गर्नुपर्छ।’

लेखकले कैलालीमा थारुको बस्ती छ भन्दैमा कैलाली टुक्राउने कुरा कुनै पनि हालतमा नमान्ने भन्दै बर्दिया, बाँकेका पहाडे थारुहरुसँग मिलेर बस्न हुने अनि कैलालीका थारुलाई पहाडेसँग मिलेर बस्न किन नहुने भनि प्रश्न गरे।

उनले कैलाली र कञ्चनपुर इतिहासमा कहिल्यै पनि थरुहट र मधेसको भूमि नभएको दाबी गर्दै भने, ‘त्यो क्षेत्र पहिला सिंजा राज्यमा थियो, त्यसपछि डोटी राज्यमा थियो, डोटी राज्यबाटै नेपालमा एकीकरण भयो।’

लेखकले कैलाली र कञ्चनपुरमा कुनै पनि हालतमा पुर्नविचार नहुने भन्दै कैलाली र कञ्चनपुरलाई च्यात्ने काम भयो भने नेपालको इतिहासमा अहिलेसम्म नभएको आन्दोलन हुने चेतावनी दिए।

Leave a Reply

Your email address will not be published.