लेखीको कार्यक्रम दाङका सभासद्ले बहिष्कार गरे

Lekhiथारु कल्याणकारिणी सभाको क्षेत्रीय समिति देउखुरीको अधिवेशन थारु सभासद्हरुले बहिस्कार गरेका छन्। कार्यक्रमको प्रमुख अतिथिमा सभाका पूर्वमहामन्त्री एवं सचिवालय सदस्य राजकुमार लेखीलाई निम्त्याएपछि सभासद्हरुले देउखुरी समितिको १५औं अधिवेशन बहिस्कार गरेका हुन्। कार्यक्रमका लागि दाङका थारु सभासद्लाई निम्त्याइएको थियो।

मंगलबारबाट सुरु अधिवेशन दुई दिन चल्नेछ। कार्यक्रम सञ्चालक छविलाल कोपिलाले दाङका सबै थारु सभासद्लाई निम्त्याएइ पनि कोही उपस्थित नहुनु दुःखपूर्ण भएको जानकारी गराए। फोरम लोकतान्त्रिकका प्रमुख सचेतक एवं सांसद योगेन्द्र चौधरीले लेखी उपस्थित कार्यक्रममा दाङका थारु सभासदहरुले सल्लाह गरेरै बहिष्कार गरेको बताए।

सांसद चौधरीले भने, ‘लेखीले बैठक नै नबसाली आफूलाई थरुहट थारुवान संयुक्त संघर्ष समितिको संयोजक भएको भ्रम छरिरहेका छन्। उनी थाकसको आन्दोलनको संयोजक हुन सक्छन्, समग्र थरुहट थारुवान संयुक्त संघर्ष समितिको होइन।’

‘लेखीले थारु सभासदलाई बहिष्कार गर्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएको छ। उनी उपस्थित कार्यक्रम हामीले किन बहिस्कार नगर्ने?,’ सांसद चौधरीले भने।

आन्दोलन जारी रहने : लेखी

अधिवेशनलाई सम्बोधन गर्दै लेखीले ठूला दलहरुले विगतका सम्झौताहरु तोडेर थारु र मधेसीविरोधी संविधान घोषणा गरेको बताए। थारु आयोगको नाममा वर्तमान संविधानमा बिना कामको अर्थात् अंपाङ्ग आयोग बनाएको उनको आरोप थियो। आत्मनिर्णयको अधिकारसहितको प्रदेशको सीमाङ्कन नभएसम्म हाम्रो आन्दोलन जारी रहने उनले बताए।

क्षेत्रीय सभापति हिरालाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाकसका केन्द्रीय कोषाध्यक्ष जयराम पञ्जियार, केन्द्रीय सदस्य टिकेन्द्र चौधरी, रामकृष्ण चौधरी, यशोदा चौधरी, क्षेत्रीय सल्लाहकार राजेन्द्र चौधरी, कैलालीका कार्यबाहक अध्यक्ष होरीलाल चौधरी, गढवा उद्योग वाणिज्य संघका युवराज पोख्रेल र जनता उमाविका प्राचार्य रामसुरत यादवलगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published.