शीर्ष नेतासँग माेर्चाको वार्ता सीमाकंनमा अड्कियाे

1447588294324_RS-KTM-morcha 3 dal meeting-1प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ। बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर कुनै सहमति हुन भने नसकेको जानकारी दिए। आजको छलफलमा उठेका विषय आ–आफ्नो पार्टीमा थप छलफल गरेर फेरि बस्ने गरी वार्ता टुङ्गिएको उनले बताए।

उनले आजको बैठकमा सीमाङ्कनको विषय उठेपनि त्यसको विकल्पबारे भने छलफल नभएको बताए। मोर्चाका नेता सङ्घीय समाजवादी फोरम (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पहिलो र दोस्रो मधेस आन्दोलनको दौरान भएको आठ बुँदे सम्झौता र २२ बुँदे सम्झौता कार्यान्वयनको माग मोर्चाले वार्तामा राखेको बताए।

उनले आफूहरुले नयाँ माग नउठाएको जिकिर गर्दै पुरानो सम्झौता कार्यान्वयन गर्ने जिम्मा प्रमुख दलकै भएको बताए। यादवले आजको वार्तामा प्रमुख दलले ठोस कुरा नल्याएको बताउँदै अर्को वार्तामा ल्याउने आश्वासन दिएको जानकारी दिए।

बैठकमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भोलि साँझसम्म आफूहरुले केही नयाँ प्रस्ताव ल्याउने आश्वस्त पारेको यादवले जानकारी दिए।।

उनले सरकारले यसअघि घोषणा गरेको आन्दोलनका क्रममा घाइतेको उपचार, पक्राउको रिहाई र मुद्दा फिर्ता लिने प्रतिबद्धता अझै पूरा नगरेको जिकिर गरे।

सिंहदरबारस्थित व्यवस्थापिका-संसद् सचिवालय परिसरमा भएको वार्तामा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्यायमन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा (नेपाल)का संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी सहभागी थिए।

मोर्चाबाट सङ्घीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी थिए।

नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पहिलोपटक सहभागी भएको हो । रासस

Leave a Reply

Your email address will not be published.