आन्दोलनलाई मजाकको विषय बनाइयो : लेखी (अन्तर्वार्ता)

Rajkumar Lekhi 01

थारु नेता राजकुमार लेखीले तराई मधेसमा जारी आन्दोलन नदेख्‍ने सरकारलाई अन्धोको संज्ञा दिएका छन्। उनले तीन महिनादेखि जारी आन्दोलनलाई नसुन्ने, नदेख्‍ने सरकार बहिरा र अन्धो भएको बताए। नागरिकन्युजसँगको कुराकानीमा उनको प्रश्न थियो- आन्दोलनलाई मजाकको विषय बनाइएको छ। तीन महिना आन्दोलन गर्दा आन्दोलन नदेख्ने सरकार कि त अन्धा हुनुपर्छ, कि त बहिरा हुनुपर्छ। कि त पागल हुनुपर्छ। तराईमा आन्दोलन नभए के भइरहेको छ?

उनले केही नेताहरुका कारण थारु मधेसी आन्दोलन प्रभावित भएको बताए। उनले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारजीलाई बहुरुपिया नेताको रुपमा ब्याख्या गरे। ‘ विजय गच्छदारजीले संविधान निर्माणको बेला संविधानको प्रकृयामा भाग लिनु भएन। मतदान नगर्ने, प्रकृयामा भाग नलिने मान्छेले दुई दिनपछि खुट्टा उचालेर सरकारको मन्त्री बन्ने? यो चरित्रलाई बहुरुपिया नभनेर के भन्ने?,’ लेखीको प्रश्न थियो। प्रलोभनका निम्ति गच्छदार जस्तोसुकै त्याग गर्न तयार रहने नेता भएको लेखीले बताए। ‘तपाईँले कुनै प्रभलोभन देखाउनुस् गच्छदार ५ मिनेटमै महिला बन्न सक्छन्। महिला भएरै कुनै पद प्राप्त गर्नसक्छन्। उहाँको बारेमा त के चर्चा गर्नू,’ लेखीले भने।

कुराकानी पढ्नुस्:

थारु आन्दोलन शून्यप्राय छ। उचाइमा पुगेको थारु आन्दोलन किन यस्तो भयो?

थारु आन्दोलन जारी छ। तपाईँ जिल्लाका गाउँ गाउँ गएर हेर्नुस् थारु आन्दोलन जारी छ। कतै पनि थारु आन्दोलन रोकिएको छैन। तर केही कमजोर भएको पक्का हो। थारु आन्दोलन कमजोर हुनुमा सबैभन्दा बढी जिम्मेवार थारु सभासद्हरु छन्। जसले दोहोरो चरित्र पस्तुत गरिरहेका छन्। उनीहरु आन्दोलन पनि गर्छन्। सरकारमा सहभागी भएर मन्त्री पनि बन्छन्। संयुक्त संघर्ष समितिमा दुई घटकका संयोजक पनि सभासद् नै छन्।

संयोजकहरुले महिनौं बितिसक्दा पनि बैठक बोलाउँदैनन्। प्रेस विज्ञप्ती र पत्रकार सम्मेलनको कुरै छाडौं। काठमाडौं बसेर जिल्लाका साथीहरुसँग सम्पर्क गर्दैनन्। कुनै जिल्लामा पाइला टेक्दैनन्। साथीहरुको यस्तै गतिविधिका कारण आन्दोलन केही कमजोर भएको हो। तर आन्दोलन फिर्ता भएको छैन। आन्दोलनकारी सडकमै छन्। प्रत्येक दिन सभा जुलुस र जनप्रदर्शन भइरहेकै छ। जनताले राजमार्ग र नाकाबन्दीको कामलाई निरन्तरता दिएकै छन्। आन्दोलन तलमाथि हुनु प्रकृतिको नियम हो। हरेक दिन आन्दोलन एकरुपले अघि बढ्न सकिँदैन। लेनीनले भनेका छन्- आन्दोलन एक कदम अगाडि दुई कदम पछाडि हुन्छ।

तीन महिना लामो आन्दोलनले तराई मधेसका जनताको दैनिकी कष्टकर बनेको छ। तराईका विभिन्न जिल्लाको यात्रा गर्नुभयो। आन्दोलनले जनता खुसी छन् र?

थारु कल्याणकारिणी सभाको हालसालै नवलपरासीमा भएको राष्ट्रिय भेलाले मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गर्‍यो। राष्ट्रिय भेलाको सन्देश र जनतालाई उत्साह थप्न मलाई चितवनदेखि झापासम्मको कमान्ड सम्हाल्न जिम्मेवारी दिएको छ। त्यसक्रममा मैले चितवनदेखि झापासम्मकै यात्रा गरेँ। तराई मधेसका जनताको कुरा गर्ने हो भने उनीहरु बिल्कूल रुस्ट छैनन्। पहिचान र अधिकारको लडाइँ जितेरै छाड्ने उत्साहउनीहरुमा पाएको छु। तराई मधेसका जनताहरु यो आन्दोलनलाई अन्तिम लडाइँको रुपमा लिएका छन्। जसले उनीहरुले आफ्नो अधिकार पहिचान अबको संविधानमा सुनिश्चित भएको देख्न पाउन्।

जनताहरु के कुरामा प्रस्ट छन् भने मुलुक चलाइरहेका ब्यक्तिहरु अहिले पनि माग, मुद्दा, वार्ता र सम्बादको पक्षमा छैन। हामी वार्ता सम्बाद र सहमतिकै पक्षमा छौं। तर त्यो वार्ता माग, मुद्दामा केन्द्रीत हुनुपर्छ। सीमांकनको कुरामा, जनसंख्याका अधारमा निर्वाचान क्षेत्रको सबाल, समानुपातिक समावेशी प्रतिनिधित्वको सबाल हाम्रो प्रमुख एजेण्डा हो। तर देश चलाउनेहरु हामी सहिद घोषणा गर्छौं, क्षतिपूर्ति दिन्छौं लगायतका कुरामा आन्दोलनलाई कमजोर पार्न हाम्रो ध्यान केन्द्रीत गराउन खोजेका छन्।

हाम्रो आन्दोलनले सीमामा नाकाबन्दी छ। उनीहरुले यो आन्दोलनलाई ‘डाइभर्ट’ गर्न जनतालाई नाकाबन्दी भारतले गरेको भनिरहेको छ। भारतले त स्पष्टरुपमा भनिसकेको छ कि हामीले नाकाबन्दी गरेका छौनौं। आन्दोलनले तीन महिना पूरा गर्न लागिसक्यो। हाम्रो आन्दोलनलाई आन्दोलन नै नदेख्ने सरकार हेर्दा हाँसो उठ्छ। यो मजाकको विषय भएको छ। तीन महिना आन्दोलन गर्दा आन्दोलन नदेख्ने सरकार कि त अन्धा हुनुपर्छ, कि त बहिरा हुनुपर्छ। कि त पागल हुनुपर्छ। तराईमा आन्दोलन नभए के भइरहेको छ? जिम्मेवार निकायका ब्यक्तिहरु अहिले पनि जिम्मेवारी बोध गरिरहेको छैन। समस्यालाई समाधान गर्न चाहिरहेका छैनन्।

Rajkumar Lekhi 02

संघर्ष समितिका एक घटक थारु सभासद संघर्ष समितिका संयोजक नै सरकारमा सहभागी भएका छन्। मन्त्री र सरकारी वार्ता समितिको सदस्यसमेत भएका छन् नि?

थारु सभासद् संघर्ष समितिमार्फत् थारु सभासद्हरु आन्दोलनमा हुनुहुन्थ्यो। त्यो पनि केही सभासदमात्र। ती सभासद्हरु सरकारमा गइसकेपछि, मन्त्री भइसकेपछि यत्रो दिन भइसक्यो कुनचाहिँ माग पूरा गरायो? थारु मधेसी आन्दोलनको कुन माग पूरा भयो? सीमांकनको कुरा छोडिदिनुस्। उहाँहरु हिरासतमा परेका सयौं थारुलाई छोडाउन सकेका छन्? उनीहरुको मुद्दा फिर्ता भयो? त्यस्ता न्युनत्तम कुराहरु यत्रो दिन भइसक्यो पूरा किन गरेन? उपप्रधान भइसके, मन्त्री भइसके एउटा सिन्कासम्म भाँचेको छैन। सिन्का भाँच्ने हैसियत नभएकाहरु मन्त्री बन्ने? आन्दोलनकारीको नेता पनि बन्ने अनि वार्ता समितिको सदस्य पनि बन्ने? दुनियाँमा कहीँ यस्तो हुन्छ? यस्तो अच्चम्मको प्रवृत्ति केही थारु र मधेसीहरुमा देखिएको हुँदा हामी लज्जित भएका छौं। यसले सिंगो आन्दोलन प्रभावित बनेको छ।

विजय गच्छदार पार्टीको नेता हो कि बहुरुपिया

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ८ बुँदे सहमति गर्दै थारु मधेसीको माग पूरा भएको भनिरहनु भएको छ। यसलाई थारुहरुले कसरी लिएको छ?

विजय गच्छदारजीको बारेमा धेरै भनिरहन पर्दैन। दुनियाँलाई थाहा छ उहाँ कुन चरित्रको मान्छे हो। उहाँको प्रवृत्ति कस्तो छ। उहाँ एउटा पार्टीको नेता हो कि बहुरुपिया हो? यो जनतालाई थाहा छ। उहाँ लोभ लालचका निम्ति जे पनि गर्न सक्छन्। तपाईँले कुनै प्रभलोभन देखाउनुस् उहाँ ५ मिनेटमै महिला बन्न सक्छन्। महिला भएरै कुनै पद प्राप्त गर्नसक्ने मान्छे हुन् विजय गच्छदार। उहाँ अहिल्यै दलित हुन सक्छन्, बाहुनक्षेत्री हुनसक्छन्, उहाँको बारेमा त के चर्चा गर्नू।

विजय गच्छदारजीले संविधान निर्माणको बेला संविधानको प्रकृयामा भाग लिनु भएन। मतदान नगर्ने, प्रकृयामा भाग नलिने मान्छेले दुई दिनपछि खुट्टा उचालेर सरकारको मन्त्री बन्ने? यो चरित्रलाई बहुरुपिया नभनेर के भन्ने? उहाँको ८ बुँदे सहमित पनि जनतालाई बेकुब बनाउने सहमति हो। गच्छदारजीको बलबुत्ताले संविधान संसोधन हुन्छ? माग पूरा हुन्छ? उहाँको सहमितले अहिलेसम्म के माग पूरा गरेको छ?

वार्ताबाट भागेका छैनौं भन्नुहुन्छ। अनि वार्तामा पनि जानु हुन्न। शीर्ष नेतासँग मात्र वार्ता बस्ने अडानमात्र लिएर समस्याको समाधान हुन्छ? मधेसी मोर्चाका नेताहरु वार्तामा सहभागी छन् त?

मधेसी मोर्चासँगको वार्तालाई मैले थारु मधेसी फुटाउको रुपमा लिएको छु। सत्ताधारीले थारुसँग वार्ता गर्दा मधेसीसँग गर्दैन। मधेसीसँग गर्दा थारुसँग गर्दैन। यो उनीहरुको ‘डिजाइन’ हो। यो उनीहरुको रणनीति हो। त्यसकारण थारु मधेसीको वार्ता सँगसँगै हुनुपर्छ। थारु मधेसीसँग अलग अलग वार्ता गरेर समस्या समाधान हुन्छजस्तो लाग्दैन।

जहाँ सरकारको कुरा छ। सरकारमा सहभागी मुख्य दुई पार्टीसँग मात्र वार्ता गरेर हाम्रो माग पूरा हुँदैन। हाम्रो माग पूरा गर्नका निम्ति कांग्रेस, एमाले, एमाओवादी तीनटै पार्टी चाहिन्छ। अर्थात् दुई तिहाइ चाहिने हामीलाई थाहा छ। थारु मधेसी आन्दोलनकारीलाई के भन्न चाहन्छु भने हाम्रो माग मुद्दा पूरा गर्न कांग्रेस, एमाले र एमाओवादी तीनटै उतिकै जिम्मेवार छ। तीनटैको सहमितले मात्र हाम्रो माग पूरा हुन्छ।

कसरी वार्ताको वातावरण बन्छ? थारु मधेसीलाई एउटै टेबलमा राखेर वार्ता गर्न सम्भव छ?

एकातिर आन्दोलनकारीमाथि गोली ठोक्ने, हत्या गर्ने, आतंक सिर्जना गर्ने, अनि वार्तामा बोलाउने? कसरी हुन्छ वार्ता। वार्ता गर्ने हो भने हामी तयार छौं। तर वातावरण बनाउनुपर्‍यो। आन्दोलनकारीमाथि कुटपिट हुनु भएन। आन्दोलनकारीमाथि गोली प्रहार हुनु भएन। वार्ता र आन्दोलन सँगसँगै गर्ने हामी भनिरहेका छौं। तर आन्दोलन रोकेर, आन्दोलन फिर्ता गरेर केपी ओलीजी वार्तामा बोलाउनुहुन्छ। त्यो सम्भ्व छैन। त्यसरी वार्ता हुँदैन। थारु र मधेसीले सहकार्य गरेर आन्दोलन गर्न सक्छ भने वार्ताको टेबलमा किन बस्न सक्दैन? सरकारले थारु मधेसीलाई एउटै वार्ताको टेबलमा राखेर वार्ता गरोस्।

तपाईँहरुले शान्तिपूर्ण आन्दोलन भनेर तरबार र भाला प्रदर्शन गरिरहनुभएको छ। तरबार देखाएर कसरी शान्तिपूर्ण आन्दोलन हुन्छ?

तरबार र भाला लिएर कहीँ पनि आन्दोलन भएको छैन। यो गलत आरोप हो। यसमा कुनै सत्यता छैन। हामी शान्तिपूर्ण आन्दोलनका पक्षधर हौं। हामी हातहतियार लिएर आन्दोलनमा आउनुस् भन्दैनौं। त्यसो गर्न पनि हुँदैन। सञ्चारमाध्यमलाई निशाना बनाउनु पनि हुँदैन। एम्बुलेन्सजस्ता अतिआवश्यक गाडीहरु रोकिनु हुँदैन। आन्दोलनकारी साथीहरुसँग अनुरोध पनि गर्न चाहन्छु कि आन्दोलन नै बदनाम हुने किसिमको गतिविधि हामीबाट हुनु हुँदैन। यदि सरकारको तर्फबाट त्यस्तो घुसपैठ भयो भने, सरकारकै भिजिलान्तेहरु तरबार भाला लिएर सादा पोसाकमा आन्दोलन गर्छ भने हामीले त्यसलाई नियन्त्रण गरेर शान्तिपूर्ण बनाउनुपर्छ।

तिहार र छठमा आन्दोलन फिर्ता लिनुहुन्छ ?

हामीले तिहार र छठ भनेका छैनौं। दशैं पनि भनेनौं। हामी हरेक दिन आन्दोलनमै छौं। जिल्ला भेलाहरुमा सक्रिय छौं। गाउँगाउँका अगुवा नेताहरुलाई भेट्ने अन्तरक्रिया गर्ने कार्यक्रम जारी छ। जहाँ चाडपर्वको कुरा छ। हामीले चाडपर्वलाई पनि आन्दोलनकै रुपमा मनाइरहा छौं। तिहार र छठ पनि आन्दोलनकै रुपमा मनाउँछौं।

Leave a Reply

Your email address will not be published.