आन्दोलन सशक्त बनाउन थारु कल्याणकारिणी सभाले डाक्यो राष्ट्रिय भेला

Rajkumar Lekhi

थारु कल्याणकारिणी सभाले कात्तिक ८ र ९ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। थारु आन्दोलनलाई अझ सशक्तरुपले उचाइमा पुर्‍याउन सोमबार बसेको सभाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रिय भेला नवलपरासीको डन्डामा हुने सभाले जनाएको छ।

भेलामा काठमाडौं उपत्यका र तराईका हरेक जिल्लाका थारु आन्दोलन परिचालन समितिका संयोजक र कमान्डरहरु सहभागी हुनेछन्। भेलामा करिब डेढ सय जनाको सहभागिता रहने सभाले जनाएको छ।

भेलामा थारु आन्दोलनलाई अझै सशक्तरुपले अगाडि बढाउनेबारे रणनीति बनाउने र संयोजक तथा कमान्डरहरुलाई त्यहीअनुरुपको प्रशिक्षण दिने थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले जानकारी दिए। उनले अबको आन्दोलन सीमा नाकामा कडाइ गर्ने रहेको बताए। ‘आन्दोलनको स्वरुप र रणनीति तय गर्न राष्ट्रिय भेला डाकेका हौं,’ लेखीले भने, ‘सहभागी जिल्ला संयोजक र कमान्डरहरुलाई सीमाकेन्द्रीत आन्दोलनाई सशक्त बनाउनेबारे प्रशिक्षणसमेत दिइनेछ।’

लेखीले प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आन्दोलनकारीलाई गरेको वार्ताको आह्वान आन्दोलन रोक्नका लागि मात्रै गरिएको आरोप लगाए। आन्दोलनकारीको माग मुद्दा सम्बोधनप्रति कुनै गम्भीरता र चासो प्रधानमन्त्रीको पत्रमा उल्लेख नगरिएको उनले बताए। ‘दुई महिनाको आन्दोलनमा चार दर्जन नेपालीको गोली हानी हत्या गरिएको छ। सयौं आन्दोलनकारीलाई गोली हानी घाइते बनाइएको छ। सयौंलाई झुठा मुद्दा लगाइएको छ। सयौंलाई थुनामा राखिएको छ। सरकार र चार दलको नियत वार्ताबाट आन्दोलनकारीको माग पूरा गर्ने देखिन्न। त्यसकारण आन्दोलनकारीहरु आन्दोलन छोडेर नौटंकी वार्तामा जानुको अर्थ छैन,’ लेखीले भने।

थरुहट थारुवान संघर्ष समितिमा सहभागी विभिन्न घटकहरुले आन्दोलनलाई बेवास्ता गर्दै सरकारमा सहभागी भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरी अगाडि बढ्नुपर्ने थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले बताए। उनले थारु सभासद्हरुको संयोजक नै मन्त्रीको शपथ लिएको आरोप लगाउँदै यसले आन्दोलनलाई कमजोर बनाउने बताए। ‘आन्दोलनमा सहभागी विभिन्न दलका सभासद्हरु नै मन्त्री बन्ने होडमा लागेका छन्। थारु सभासद्का संयोजक रामजनम चौधरीले मन्त्रीको शपथ खाइसक्नुभएको छ। एमाओवादीका सभासद्हरु पनि मन्त्री बन्न हानथाप गरिरहनुभएको छ। यसले थारु आन्दोलनलाई कमजोर बनाउने हाम्रो ठम्याइ हो। त्यसैले आन्दोलनको स्वरुप परिर्वत गरेर अघि बढ्नुपर्छ,’ अध्यक्ष चौधरीले भने।

त्यस्तै थारु आन्दोलनका कैलाली संयोजक होरिलाल चौधरीले पनि नेताहरुले मन्त्रीको शपथ खाएर नैतिकता गुमाएको आरोप लगाए। उनले दोहोरो चरित्र देखाएर जनतालाई भ्रममा नपार्न सुझाव दिए। ‘नैतिकता गुमाएर थारु सभासद्हरु मन्त्री बनेका छन्, कोही बन्ने दौडमा छन्’ उनले भने, ‘दोहोरो चरित्र देखाएर जनतालाई भ्रम नपारे हुन्छ।’

Leave a Reply

Your email address will not be published.