गच्छदार नेतृत्वको लोकतान्त्रिक मोर्चाले भन्यो- आन्दोलनको मुख्य कारण सीमांकन

Bijay

विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले प्रदेशको सीमांकनमा मधेस थरुहटका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला विवादको केन्द्र रहेकाले यो विषयलाई अविलम्ब वार्ता र सहमतिबाट टुंग्याई आवश्यक संविधान संशोधनको माग गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले मधेस र थरुहटको आन्दोलन मुख्य रुपमा संघीयताको विषयमा केन्दि्रत रहेको ठहर गरेको छ ।

‘यो कानुन र व्यवस्थाको विषय  नभई पूर्णतः राजनीतिक विषय हो,’ मोर्चाद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘उक्त कुरा सरकार र अन्य दलले बुझ्न आग्रह छ ।’ मोर्चामा आवद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संघीयताको विषय सँग सँगै जनसंख्याको हिसाबमा निर्वाचन क्षेत्रको निर्धारण, राज्यको हरेक निकाय र तहमा समानुपातिक समावेशी प्रतिनिधित्व मधेसको प्रमुख माग रहेको बताए ।
बैठकले मधेस र थरुहटको आन्दोलनमा अन्य मोर्चा र राजनीतिक संगठनहरुसँग एकता र सहकार्यको गरी अघि बढ्ने समेत निर्णय गरेको छ । यादवले भने ‘राज्य जुन ढंगले दमनमा उत्रेको छ । त्यस विरुद्ध लड्न मधेस र थरुहटमा आन्दोलित सबै पक्ष एक हुनुको विकल्प छैन ।’
बैठकले आन्दोलनमा मृत्यु भएकालाई सहित घोषणा गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, झुठा मुद्दा लगाएर थुनिएकाहरुलाई तत्काल मुक्त गर्न पनि माग गरेको छ । चुनौति पूर्ण वर्तमान अवस्थामा प्रधामन्त्री सुशील कोइराला विदेश जानु उपयुक्त नहुने पनि मोर्चाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.