कैलालीम सिलिन्डर विस्फोट, धनगढीमा निषेधाज्ञा यथावत्

Kailali Protest 01

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा आज दिउँसो ११ बजेदेखि अपराह्न ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । सुरक्षाका कारण भन्दै नगर क्षेत्रमा आइतबार दिउँसो ११ बजेदेखि अपराह्न ४:३० बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

यसैगरी, चौबीस घन्टे निषेधाज्ञा लाग्दै आएको टीकापुर नगरपालिका र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविस क्षेत्रमा आज बिहान ५ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यी क्षेत्रमा अन्य समयमा भने निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र यथावत् रहने जनाइएको छ । कैलालीको टीकापुरमा भदौ ७ गते भएको हिंसात्मक घटनापछि टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिका तथा आसपासका गाविस क्षेत्रमा र सदरमुकाम धनगढीमा लगातार स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै आएको छ ।

विज्ञप्तिमार्फत स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यान दिई संविधान जारी भएको खुसियालीमा ठूला दलहरुले आज कैलालीको लम्की, सुखड अत्तरियालगायतका क्षेत्रमा गर्ने भनिएको ¥यालीको आयोजना नगरी जिल्लाको सुरक्षा व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेको छ ।

स्थानीय प्रशासनले कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन सुदृढ र चुस्त बनाउन दुई दिनदेखि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्दै आएको छ ।

आफूहरुका माग संविधानमा नसमेटिएको भन्दै असन्तुष्ट रहेको थरुहट÷थारुवान सङ्घर्ष समितिले निषेधित क्षेत्रबाहेकका ठाउँमा दिनहुँ विरोध सभा र प्रदर्शन गर्दै आएको छ ।

सिलिन्डर विस्फोट

कैलाली जिल्लाको पूर्वी सीमा क्षेत्रको चुहा–लम्की नगरपालिका वडा नं २ को थकालीपुर गाउँमा आज बिहान सिलिन्डर विस्फोटन भएको छ । गाउँको सडक छेउमा मनकामना ग्यासको सिलिन्डर विस्फोट गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जगन्नाथ खनालले बताए। घटनामा मानवीय क्षति हुन नपाएको खनालले बताए। आइतबार जारी भएको नेपालको संविधानप्रति विरोध दर्शाउन विस्फोटन गराएको हुन सक्ने अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published.