आशिष चौधरी।
हिजो राति म एकाएक महान भएको अनुभुत गरें,
खै के भयो
म एउटा बालक दुर्घटनामा मर्दा
सारा समुदायलाई श्राप दिने
देशकै आदिवासीलाई अर्को देश लखेट्न खोज्ने
र अर्को बालक मारिँदा, म ठीक पर्यो
आतङ्ककारीलाई मार्नैपर्छ
भनेर खुसीयाली मनाउने मान्छे भएको थेँ।
साँच्चै खुसी थिएँ
मेरो मन एक्कासी रातारात विकास भएको देखेर।
अनि म ऊ सडकमा आफ्नो अधिकारको लागि
महिनौसम्म भोकै प्यासै
लडिरहेको जनतालाई गोली नखुवाएकोमा
सरकारसँग नाराज हुन्थे।
मात्र तीस वटा??
म भन्थे, ‘तीस लाख मान्छे कराउँदैछन्
कम्तिमा तीन हजारलाई ढाले पनि के नै फरक पर्छ।’
लटरम्म फलेको आँपको वृक्षबाट
दुई-चार कुहिएको आँप झर्दैमा केही फरक पर्दैन भनेर
हाम्रो बा ले भनेको सम्झेँ।
कम्ता खुसी थिइनँ म, मेरो ठूलो महान मन!!
आहा, म जे भन्थे मेरा साथीहरु पनि साथ नै दिन्थे
वासतवमा मेरो मनमात्र हैन
मेरो जात नै फरक भएको थियो हिजो राति।
उच्च जात बनेको थिएँ म।
मेरै सरकार थियो,
मेरै समाचार थियो
साँच्चै भनु भने चारैतिर
मेरै जय जयकार थियो।
अनि म जे भन्थे जे लेख्थे त्यही हुन्थ्यो।
म ‘मेरो’ देशको कुरा गर्ने भएको थिएँ,
भन त म ‘मेरो’ देशको एउटा रौं पनि
कसरी त्यो तल्लो जातलाई दिन सक्थे?
आखिर देश त हाम्रो बाउहरुको बिर्ता थियो नि।
म आफूलाई गजब भाग्यमानी सम्झिन्थे,
कसम निकै गौरब महसुस हुन्थ्यो!
तर फेरि एकदिन अचानक
मेरो कानमा केही गुञ्जियो
‘ओइ पागल’,
एउटा बच्चाले मलाई बोलाउँदै थियो सायद।
म फर्किनँ, मेरो नाम पागल थियो र?
तर केही समय पछि दुईटा बालकले पागल भनेर
बोलाएँ, म फर्केर हेरेँ।
‘ए केटाहरु मेरो नाम त पागल हैन नि’
हपकाउँदै भने।
दुई वर्षको बालकले केही बोलेन, सायद ऊ डरायो
तर चार वर्षकाले चाहिँ भन्यो,
‘हाम्रो देशको संविधानमा त ‘उच्च जात’लाई ‘पागल’ भन्ने
शब्द प्रयोग गर्ने भनेर बहुमतले पारित गरेको छ।’
म झसँग भएँ,
मेरो पहिचान नै गुम्यो भनेर म
आन्दोलनको तयारी के गर्न लागेको थेँ ब्युँझिएँ।
धन्न ब्युँझिए।
उठ्दा खुसी भन्दा पनि
राहत महसुस भयो मलाई, म त सानै मान्छे हुँ।