मानपुर चौधरी र प्रभु साह संविधानसभामा आएनन्

Manpur chaudharyनेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथिको मतदानमा नेपाली कांग्रेस र एकीकृत माओवादीका गरी चार ससभासद अनुपस्थित छन्। संविधानको संविधानसभाको बैठकले परिमार्जित बिधेयकका धारा पारित गर्ने महत्वपूर्ण समयमा चार सभासद अनुपस्थित भएका हुन्।
नेपाली कांग्रेसका सभासद प्रदीप गिरी र शिला गौतम संविधानसभाको जारी प्रक्रियामा सहभागी छैनन् भने एमाओवादी सभासद प्रभु साह र मानपुर चौधरी जारी प्रक्रियामा सहभागी छैनन्।  संविधानसभाको बैठकमा अनिवार्य उपस्थित हुने पार्टीले दिएको निर्देशन विपरित उनीहरु संविधानसभाको बैठकमा अनुपस्थित भएका हुन्।

नेपाली कांग्रेसका सभासद उदयशमशेर राणाका अनुसार सभासद गिरी राजधानी बाहिर रहेका छन भने शिला गौतम पति खुमबहादुर खड्का विरामी भएपनि उपचारको लागि दिल्ली गएकी छिन्। ‘प्रदीप दाई राजधानी बाहिर हुनुहुन्छ,’ राणाले नागरिकन्युजसँग भने,’ शिला गौतम खुमबहादुर खड्का विरामी भएपछि उपचारको लागि दिल्लीमा हुनुहुन्छ।’

गिरी भने संविधानसभा बैठकमा विरलै मात्र उपस्थिति हुने गरेका छन्। उनी सभासदको शपथ ग्रहण गर्ने दिनपनि अनुपस्थित भएका थिए भने मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यौदाको प्रारम्भिक प्रतिवेदन बुझाउँदा पनि बैठक बहिष्कार गरेका थिए। उनी अहिले पनि मधेसका माग सम्बोधन गरेर मात्र संविधान जारी गर्नुपर्ने पक्षमा छन्। तर उनले बैठक नै बहिष्कार भने नगरेको कांग्रेसले जनाएको छ।

यसैगरी एमाओवादी सभासद साहले भने मधेसका मुद्दा सम्बोधन नगरी संधिवान जारी गर्न लागिएको भन्दै बैठक बहिष्कार गरेको बताए। ‘मधेसका मुद्दा सम्बोधन नगरी संविधान जारी गर्ने तयारी गरेका कारण मैले संविधानसभा बैठक बहिष्कार गरेको हो,’ साहले भने। यसैगरी मानपुर चौधरीले पनि संधिवानसभाको बैठक बहिष्कार गरेका छन्।

Leave a Reply

Your email address will not be published.