सिरहाका सभासद्लाई मोर्चाको दबाब पत्र

Madheshi-morcha

प्रादेशिक सीमाङ्कनप्रति आपत्ति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले आज सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सभासद्लाई दबाबपत्र पठाएका छन्। मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनमा समर्थन जनाउँदै संविधानसभामा मधेसी, थारु, दलित र मुस्लिम समुदायको पक्षमा भूमिका खेल्न आग्रह गर्दै सभासद्लाई मोर्चाले दबाबपत्र पठाएको हो।

सिरहा क्षेत्र १ र २ बाट प्रतिनिधित्व गर्ने सभासद्लाई संविधानसभामा मधेसी, थारु, दलितलगायतको पक्षमा भूमिका खेल्न र मधेस विरोधी संविधान निर्माण हुने परिस्थिति उत्पन्न भए सो प्रक्रियाबाट अलग भएर जारी आन्दोलनमा सहभागी हुन आग्रह गर्दै दबाबपत्र पठाएको मोर्चाका जिल्ला सयोजक कृष्णबहादुर यादवले जानकारी दिए।

मोर्चाका नेता कार्यकर्ताले सिरहा क्षेत्र नं १ का नेपाली काँग्रेसका सभासद् पदमनारायण चौधरी, सिरहा क्षेत्र नं २ का नेकपा (एमाले)का सभासद् रामचन्द्र यादव, समानुपातिकतर्फका नेपाली काँग्रेसका सभासद् प्रदीप गिरी, अमियकुमार यादव, नेकपा (एमाले)का समानुपातिक सभासद् ममता गिरी र सभासद् तथा शिक्षा मन्त्री चित्रलेखा यादवलाई दबाबपत्र पठाएको मोर्चाका संयोजक यादवले बताए।

यसैबीच, मोर्चाको लगातारको आमहडतालका कारण सिरहाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाको लहान, सदरमुकाम सिरहा, मिर्चैया, गोलबजार, धनगढीलगायत बजार पूर्णरुपमा बन्द छन्।

निरन्तरको बन्दका कारण दैनिक उपभोग्य सामग्रीका साथै तरकारीको मूल्य अकाशिएको छ। रासस

Leave a Reply

Your email address will not be published.