थारुका दुई अस्त्र

Surendra Chaudhary 01

सुरेन्द्र चौधरी

थरुहट आन्दोलनको दुर्भाग्य

जब जब थरुहट आन्दोलन भएको छ। हरेक आन्दोलनलाई अर्को समुदायविरुद्ध भनेर प्रस्तुत गरिएको छ। यो दुर्भाग्य हो। पहिलो थरुहट आन्दोलनमा पनि प्लानिङको फेजमा काम गरेको थिएँ। त्यतिबेला लक्ष्मण थारु, योगेन्द्र चौधरीलगायतले सुनधारामा बैठक बसेका थिए। दोस्रो बैठकका लागि मैले नै उहाँहरुलाई नेपालगञ्ज बोलाएँ। जुन आन्दोलन विशुद्ध थारुको आन्दोलन थियो। तर त्यो आन्दोलनलाई मधेसविरुद्धको आन्दोलनको रुपमा चित्रण गरियो। दुर्भाग्य यो देशको। जुन समानताका लागि, हकको लागि आफ्नो न्यायको सिद्धान्तलाई टेकेर आन्दोलन भएको थियो। त्यो आन्दोलनमा हामी चुकेका थियौं। थारुहरुको त्यो आन्दोलनलाई मधेसीविरुद्ध हो भनेर काठमाडौंका मिडियाले आमधारणा बनाइदियो। त्यसकै प्रतिफल हो यो।

त्यो आन्दोलन कुनै पार्टीको थिएन। त्यो अधिकारको आन्दोलन थियो। राजनीतिक आन्दोलन थियो। त्यही आन्दोलनलाई मधेसविरुद्ध हुँदाहुँदा भारतविरोधी आन्दोलनसमेत भनेर थारुलाई बदनाम गरियो। हामीले जे माग गरेर आन्दोलन गर्‍यौं त्यो राष्ट्रियस्तरमा आइसकेपछि बंग्याइयो। त्यो नबंग्याइएको भए सायद दोस्रो आन्दोलन गर्नु पर्दैनथ्यो।

दोस्रो आन्दोलन पनि भयो। दोस्रो आन्दोलनमा पनि नेताहरु होम्मिए। त्यो आन्दोलनमा पनि मैले सुरुदेखि सल्लाहकारको भूमिका निर्वाह गरेँ। शान्तिपूर्ण आन्दोलनमा जानुपर्छ भनेर मैले जोड गरेको थिएँ। जसमा कसैको विमति पनि भएन। त्यसले पनि केही उपलब्धि हासिल गरेन। तर संविधानसभाका विभिन्न समितिहरुले धेरै बुँदा समेटिए। त्यो देखेर हामीमा ती बुँदाहरु सम्बोधन हुने आशा पलायो।

अखण्डको बीउ

पछि अखण्ड सुदूरपश्चिम आन्दोलन भयो। उक्त आन्दोलनमा भीम रावल, शेरबहादुर देउवा, लेखराज भट्टलगायतका नेता सहभागी थिए। तर अखण्डको बीउ त्यहाँबाट भएको थिएन। अखण्डको माग चितवनबाट सुरु भएको थियो। त्यतिबेला चितवनको बहसल चल्दै गर्दा प्रचण्डलगायत शीर्ष नेताले सम्बोधन गरेका थिए। त्यही रोग अखण्ड सुदूरपश्चिममा सरेको हो।

अखण्ड सुदूरपश्चिम कुरा उठिरहँदा मैले शेरबहादुर देउवाको खुट्टै समातेर भनेको थिएँ- दाइ तपाईँ गलत गर्दै हुनुहुन्छ। उहाँ मेरै रिलेटिभको विहामा आउनुभयो। उहाँले अखण्डको आमसभामा सम्बोधन गरेर आएको बताउनुभयो। उहाँलाई स्वागत गर्‍यौं। थारु सांस्कृतिक, नाचगान देखायौं। अनि मैले सोधेँ- कस्तो लाग्यो दाइ? उत्तरमा भन्नुभयो- मलाई थारुको सबै मन पर्छ। संस्कृति, पहिचान, रहनसहन सबै। अनि मैले सोधेँ- सबै कुरा मन पर्छ भने तपाईँ ठीक विपरित ध्रुवमा किन उभिनुभयो? तपाईँले गलत गरिरहनुभएको छ। उहाँले भन्नुभयो- मैले जे गरेको छु ठीक गरको छु। मैले फेरि पनि भने- थारु र पहाडियाहरुबीच सम्प्रदायिक भड्केको, झगडा भएको इतिहास छैन। उहाँले नमानेपछि त्यसका विरुद्ध आन्दोलनको सुरुवात भयो। त्यतिबेला हामीले के कमिटमेन्ट गरेका थियौं- हामीले बन्दको आन्दोलन गर्दैनौं। अखण्डले २०-२५ दिन बन्द गरिरहँदा हामीले बन्द गरेनौं। त्यहीबेला मलाई अगुवा बनाइएको थियो। मैले नेतृत्व गरेको आन्दोलन थियो त्यो। त्यतिबेला पनि हामीले टीकापुरबाटै आन्दोलनको सुरुवात गरेका थियौं। जहाँ ५०औं हजारको संख्यामा जनताहरु सहभागी थिए।

एक दिन कञ्चपुरबाट फर्किँदा बेलुका ८ बजे हामीमाथि आक्रमण भयो। हामीमाथि बोतल प्रहार गरियो। हमलामा ३१ जना महिलाको टाउको फुटेको थियो। झडप हुने स्थिति थियो। तर हामीले झडपको स्थिति सिर्जना गराएनौं। अस्पतालमा एम्बुलेन्स माग्न जाँदा दिइएन। अस्पताल लैजाँदा बिरामी भर्ना गर्दैनौं भन्यो। विकल्पमा हामीले भारत लगेर उपचार गरायौं। त्यतिबेला ४ सय बढी घाइते भए।

आन्दोलनलाई गलत अर्थ्याइयो (भिडियो हेर्नुस्)

हाम्रो आन्दोलनलाई गलतमा अर्थमा पनि अर्थ्याइयो। थारु मधेसी आन्दोलनलाई राज्यले शक्ति प्रदर्शको रुपमा ब्याख्या गर्‍यो। हाम्रो मास देखाएर नयाँ संविधानमा सहभागी हुन इच्छा प्रकट गरेका थियौं। तर राजनीतिक दलहरुले यसलाई अतिवादीको रुपमा बुझे। विखण्डनकारीको रुपमा बुझे। जुन देशको दुर्भाग्य हो। अहिले आएर टीकापुर घटना घटेको छ। हामीले भन्दै आइरहेका छौं, मान्छे क्षति गर्नुजस्तो अमानवीय केही होइन। यसको जति निन्दा गरे पनि कम हुन्छ। तर यसलाई बंग्याएर जसरी थारुहरुले मार्‍यो भनिरहेका छन्। तर किन मारिए भन्ने कुराको बहस चिन्तन भएको देख्दिनँ।

म सुरेन्द्र चौधरी। मेरो बुबाले मालई राम्रो स्कुलमा पढाउनुभयो। राम्ररी हुर्काउनुभयो। म समान अनुभूतिको कुरा गर्न चाहन्छु। यदि म बर्दिया या कैलालीको थारुहरुको ठाउँमा हुँदो हुँ। त्यहाँ कुनै थारु छैनन् जसले सयौं वर्षदेखि आफ्नो दिदीलाई, आफ्नो बहिनीलाई, आफ्नो श्रीमतीलाई बलात्कार भएको साक्षी बनेको छैन। त्यहाँ कुनै त्यस्तो घरधुरी छैन, जसले आफ्नो जग्गा गुमेको थाहै पाएनन्। त्यसका बावजुद राज्यको संयन्त्रमा उपचार माग्दा थुनिएको छ , कुटिएको छ।

संसारमा सबैभन्दा पीडा बलात्कारले हुन्छ। चाहे त्यो महिलाले भोग्दा होस् या पुरुषले साक्षी बन्दा। त्यो भोगेको थारु बर्दिया राजापुर क्षेत्रमा सायदै छैन होला। त्यो ठाउँबाट, त्यो अवस्थाबाट सुरेन्द्र चौधरी गुज्रेको भए मैले त्यही गर्थे, दूर्भाग्यवश त्यहाँका थारुले गरे। यद्यपि त्यो घोर मानवताविरोधो हो। त्यसलाई मावनअधिकारका विभिन्न सन्धी महासन्धीसँग जोडेर हेर्न सकिन्छ। त्यहाँको पृष्टभूमिलाई हरेर सोचिदिन सबैमा निवेदनसमेत गर्न चाहन्छु। यद्यपि आन्दोलनकारीहरुले त्यसमा हाम्रो संलग्नता नभएको बताइसक्नुभएको छ।

पार्थलेस गार्डेन र संविधानसभा

एउटा मार्मिक कुरा जोड्न चाहन्छु। जिल्लाका साथीहरुले मलाई सुनाउने गर्छन्। हामीले जानेर वा नजानेर बच्चैदेखि गाउँदै आएका छौं- चार जात छत्तिस वर्णको साझा फुलबारी भनेर। तर एउटा प्राजातिको फूल बेस्सरी फुल्ने अर्को प्रजातिको फूल फूल्दै नफूल्ने? अरु किन फूल्यो, हामी किन फूल्न सकेनौं? त्यसको उपचारका लागि सडकमा निस्किँदा हामीलाई अतिवादी भन्ने कहाँको न्याय हो? नागरिक समाजका अगुवाहरुसँग यही प्रश्न गर्न चाहन्छु। चार जात छत्तिस वर्णको साझा फुलबारी यथार्थ हो भने त्यो प्रश्न सोध्ने थारुलाई उत्तर दिउँ- यो कसरी साझा फूलबारी भयो? प्रश्न सोध्ने मान्छेलाई अतिवादी किन भनिन्छ। यसको बहस किन उठ्दैन देशमा।

मेरो बुबाले भावुक भएर कुरा गर्नुहुन्छ। उहाँले एउटा साथीलाई फोन गरेर घरमै खाना खान बोलाउनुभयो। गार्डेन नजिक बसिरहँदा साथीले गार्डेनमै गएर कुरा गरौं भने। त्यसको जवाफमा बुबाले भन्नुभयो- राजेन्द्र गार्डेनलाई यहीँबाट हेरेर इन्जवाय गर। उहाँले त्यतिखेरै ‘पाथलेस गार्डेन’को कुरा गर्नुभएको थियो। अर्थात् बाटोबिनाको बगैँचा। अहिलेको संविधानसभा पनि पाथलेस गार्डेनजस्तै हो। त्यसैले अहिले हाम्रा सभासद्हरुलाई केही भन्ने ठाउँ छैन। यो अवस्थाबाट थारुहरु गुज्रिँदै जाँदा, संघर्षको बाटोबाहेक अरु केही विकल्प नभएपछि यो आन्दोलनको सुरुवात भएको छ। अहिले पनि टीकापुरमा धेरै मानिस बेपत्ता बनाइएका छन्। बेपत्ता बनाइएकाबारे उनीहरुका परिवार जानकार छैनन्। त्यहाँ महिला वृद्धाबाहेक भेटाउनुहुन्न। तर हामीले सेना प्रहरीले बेपत्ता पार्‍यो वा मार्‍यो भनेर आरोप लगाइरहेका छैनौं। तिनीहरु कहाँ छन्? उनीहरुको खोजी नीति कसले गरिदिने?

थारुका दुई अस्त्र

थारुहरुसँग दुइटा अस्त्र पनि छन्। जसले दुनियाँलाई हल्लाइदिन्छ। थारुमा त्यो तागत छ। त्यो अस्त्र प्रयोग गर्न नपरोस् भनेर बारम्बार भनिरहेका छौं। हामी यो देशको नागरिक किन हुँ? यसको मतलब यो होइन कि हामी यो देशबाट छुट्टिन्छु। तर हामी भन्न पाउँछु। न्यायको अधिकार माग्दा मारिनुपर्ने कुटिनुपर्ने। समाजिक सिद्धान्तबाट आवाज उठाउँदा अतिवादी बन्नुपर्ने, चार जात छत्तीत वर्णको साझा फूलबारीमा फूल्न पाउँभन्दा बिखण्डनकारी भन्ने, सम्पूर्ण आरोप खेप्नुपर्ने। अनि उसले भन्छ, भन्न पनि सुरु गर्‍यो, लैजाउ तिम्रो नागरिकता हामीला चाहिँदैन। त्यो अभियान कञ्चनपुरदेखि कैलालीसम्म वा झापादेखि कञ्चपुरसम्मका थारुले यो देशको नागरिकता तिमीहरुले लैजाउ भन्यो भने? नागरिक अधिकार माग्दा मारिन्छौं कुटिन्छौं। आतंकवादी विखन्डकारी भनिन्छौं भने नागरिकता किन चाहियो? उसको भन्न पाउने अधिकार हो। त्यो अभियानको रुपमा गयो भने के हुन्छ? अबको आउने दिनमा त्यो हुने प्रबल सम्भावना छ।

दोस्रो अस्त्र। अधिकार माग्दा कहिले थारु भनेको मधेसविरोधी, कहिले पहाडीविरोधी। आन्दोलन गरेर थारु मधेसी र पहाडीविरोधी भइन्छ भने गैर थारुलाई गाली गर्नु पर्दैन। जुन असयोगको आन्दोलन हुन्छ। त्यो अस्त्र थारुले अन्त्यमा प्रयोग गर्छन्। असयोगको आन्दोलन भनेको जसले थारुको मुद्दा सबालमा असहयोग गर्छ, जसले त्यसको विरोध गर्छ। कुनै समुदाय विशेषको नाम नलिइकन, कुनै नेताहरुको नाम नलिइकन, उनीहरुको थारुले खेत पनि जोत्दैन। त्यसको अधिया पनि लाउँदैन। त्यसको ट्याक्टर पनि चलाउँदैन। त्यसको घरमा दाउरा पनि गर्दैन। त्यसको पसलमा सामान पनि किन्दैन। त्यस्तो आन्दोलन भयो भने त्यो समुदाय एक वर्षमा त्यहाँबाट विस्थापित बन्नेछ। त्यो अवस्था हामी नआओस् भन्न चाहन्छु। दाङबाट त्यस्तो आन्दोलन गरियो भने दाङका बडे बडे जमिन्दारहरु, चाहे त्यो बाहुन क्षेत्री होस् या ठकुरी जमिन्दार होस्। वा अखण्ड सुदूरपश्चिममा जुट्ने मान्छेहरु हुन्। त्यो अस्त्रले एक वर्षमा विस्थापित गराउँछ। जसले उनीहरुको चुलोमा आगो पनि बल्दैन। त्यसले के जन्माउँछ? फेरि पनि विभाजन ल्याउँछ। जसलाई जोड्नै सकिँदैन। जोड्नलाई अर्को दस वर्ष लाग्छ। त्यसैले म निवेदन गर्न चाहन्छु। थारुहरुको आन्दोलनलाई हल्का रुपमा नलिइयोस्।

लेखक अधिकारकर्मी हुन्।

Leave a Reply

Your email address will not be published.