दुई तिहाईको संविधाधान एकदिन टिकाएर देखाउन लेखी चुनौती

Rajkumar Lekhi at rautahat

थारु आन्दोलनका अगुवा राजकुमार लेखीले श्रीपेच बिनाका तीन जना राजाको कारणले देश गृहयुद्धतर्फ धकेलिने खतरा बढेको आरोप लगाएका छन्। लेखीले थारु, आदिबासी, जनजाति, मधेसी, दलितलगायत ७० प्रतिशत जनतालाई किनारा लगाएर र संविधानसभालाई तीन जनाको बन्दी बनाएर जारी गरिएको संविधान एक घन्टा पनि नटिक्ने दाबी गरे।

रौतहटको चन्द्रनिगाहपुरमा बुधबार थारु कल्याणकारिणी सभाले गरेको पत्रकार सम्मेलनमा बोल्दै थारु नेता लेखीले नेपाली कांग्रेसका सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तीन जनाले संविधानसभालाई आफ्नो निर्णय लादेर आदिबासी, जनजाति, मधेसी, थारु, दलितसहित ७० प्रतिशतलाई अधिकारबाट वञ्चित गराएको आरोप लगाए।

‘दुई तिहाईको अहंकारले संविधान जारी गर्छन् भने एक दिन पनि टिकाएर देखाउन म चुनौती दिन्छु,’ लेखीले भने, ‘साढे दुई सय वर्षसम्म चलेको एक भाषा, एक भेष, एउटै संस्कृतिको एकात्मक र निरंकुश राज्य तीन दलले चलाउन खोजेकाले संविधान जारी भएको एक घन्टामात्र पनि टिकाएर देखाउन चुनौती दिन्छु।’

भाषिक, सांस्कृतिक र जातीय विभेद कम गर्नुपर्नेमा तीन दलले बढाउन खोजेको दाबी गर्दै लेखीले तीन जनाले बनाएको संविधान जनताले नमान्ने चेतावनी दिए। आफूहरुले संविधानसभाबाट नै संविधान चाहेको तर सबैको सहमति र राज्यले पहिले गरेका सहमति तथा सम्झौताहरुको आधारमा देशलाई निकास दिने किसिमले संविधान जारी गर्नुपर्ने वातावरण राज्यले बनाउनुपर्ने लेखीले बताए।

Leave a Reply

Your email address will not be published.