थारु आन्दोलनलाई मधेसीको समर्थन

madhesi Morchaकाठमाडौं- संविधान लेखन प्रक्रियाप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलले अखण्ड सुदूरपश्चिमको माग अस्वीकार गर्दै थारु समुदायको आन्दोलनलाई समर्थन जनाएका छन्।

संघीय समाजवादी फोरम नेपालको कार्यालय बालकुमारीमा सोमबार बसेको तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध असन्तुष्ट चार दलको बैठकले थारु समुदायको आन्दोलनलाई समर्थन जनाउने निर्णय गरेको हो।

कैलाली र कञ्चनपुरको थारु बहुल क्षेत्रलाई प्रदेश नम्बर ६ मा समावेश गरेपछि थारु समुदाय असन्तुष्ट बनेको छ। ‘अखण्ड सुदूरपश्चिमको नाममा थारु समुदायलाई फेरि पनि स्रोत–साधनबाट वञ्चित गर्ने प्रयास भएकाले पहिचान, समावेशीकरण र प्रादेशिक स्वायत्तताका लागि जारी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन समर्थनसहित खुला आह्वान गर्दछौं,’ मोर्चामा आबद्ध दलले भनेका छन्।

समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीले थारु आन्दोलनलाई समर्थन जनाउने निर्णय गरेका हुन्।

चारदलीय सहमतिमा जारी गरिएको राज्य पुनर्संरचनाअन्तर्गत प्रदेश सीमांकनको खाका असान्दर्भिक, गैरन्यायोचित र विभेदकारी रहेको उनीहरुको भनाइ छ। थारु समुदायले उठाएको माग र सबै विरोधका कार्यक्रमप्रति पूर्ण समर्थन र ऐक्यबद्वता जाहेर गर्ने निर्णयसमेत उनीहरूले गरेका छन्।

वर्षौंदेखि शोषित, पीडित र अन्यायमा परेका मधेसी, आदिवासी जनजाति, थारुको मागलाई बेवास्ता गर्दै चार दलले एकलौटी रूपमा ल्याएको सीमांकन खाकाविरुद्व उत्रिएका थारु समुदायमाथि प्रहरी दमन भएको मोर्चाको आरोप छ। थारु समुदायको उचित माग तत्काल सम्बोधन गर्न मोर्चाले सरकारसँग मागसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published.