तराईमा दनभरि तनाव : प्रहरीको गोलीबाट एकको मृत्यु, चौकी र एमाले पार्टी कार्यालयमा आगजनी

Photo tharu

आन्दोलनकारीले वीरगन्जको रानीघाट र गण्डकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी तथा पर्साको रामगढवा गाविसको मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ बजेदेखि वीरगन्ज उपमहानगरपालिका निषेधाज्ञा घोषणा गरेपछि आक्रोशित भएका आन्दोलनकारीको समूहले प्रहरी चौकीमा कार्यरत रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरी लखेटेपछि चौकीमा राखिएको फर्निचर, कागजपत्रलगायत सामानमा आगजनी गरेका हुन्।

त्यस्तै एमाले पार्टी कार्यालय भवनको ढोकाको ताल्चा फुटाली कार्यालयमा राखिएका फर्निचर, कागजपत्र, पार्टीको झन्डालगायत सामान जलाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फबो बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा मोडदेखि घन्टाघरसम्म र जिल्ला प्रशासन कार्यालयको चारैतर्फका सहायक मार्ग, पावरहाउस चोक, राधेमाई चोक क्षेत्रमा निषेधाज्ञा लगाइएको प्रजिअ केशव घिमिरेले बताए।

प्रहरीको गोली लागेरक एकको मृत्यु

त्यस्तै वीरगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक आन्दोलनकारीको मृृत्यु भएको छ। केही घाइते भएका छन्। कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले प्रहरी चौकीमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर घाइते भएका पर्सा मनियारीका ३० वर्षीय दिलिप चौरसियाको उपचारका क्रममा नारायण उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको छ। श्रीपुर १४ राधेमाइ टोलीमा भएको झडपमा प्रहरी हानेको गोली उनको ढाडमा लागेको थियो । वीरगञ्ज २५ जगनाथपुरका चौरसिया वीआईटीका विद्यार्थी समेत हुन्।
प्रहरीको गोली लागेर पन्नाला यादव घाइते भएका छन् । उनलाई घुाडामा गोली लागेको छ ।

प्रहरी र बन्दकर्ताबीच झडप

बन्दकर्तासँगको झडपमा एक प्रहरी सामान्य घाइते भएका छन्। पाँच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। शान्तिचोकमा मोटरसाइकललाई जर्बजस्ती रोक्न खोजेको अवस्थामा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयल मोरङले जनाएको छ।

बन्दकर्ताको आक्रमणबाट प्रहरी जवान खिलबहादुर मगरको टाउको र निधारमा सामान्य चोट लागेको बताइएको छ। मगरको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

बन्दकर्ताले बोतलमा पेट्रोल बोकेर मोटरसाइकललाई जर्बजस्ती रोक्ने प्रयास गरेका प्रहरी उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । सोही क्रममा विराटनगर–१४ बस्ने साहिर खान, वडा नं १३ निवासी सुमन मण्डल, राजन यादव र विन्देश्वर राम तथा वडा नं १८ निवासी दारुपलाल यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एमाले पार्टी कार्यालयमा तोडफोड

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल र्‍याली सुरु गरी र्गाचौक, शङ्करचोक हुँदै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेका हुन् ।

अनिश्चितकालीन मधेस बन्द र मधेस आन्दोलनलाई एमालेले असहयोग गरेको भन्दै तोडफोड र आगजनी गरेको मोर्चाले जनाएको छ।

निषेधित क्षेत्र घोषणा तीन दिनका लागि बढाइयो

जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित घोषणा क्षेत्र तीन दिनका लागि थपेको छ। यसअघि एकसातासम्म घोषणा गरिएकै क्षेत्रमा थप तीन दिन समय थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए। यसअघिको निषेधित क्षेत्र घोषणाको समय सोमबार बेलुकी सकिँदैछ।

पूर्व–पश्चिम लोकमार्गको भुताहादेखि सुनवलसम्मको १२ किलो क्षेत्र, यसको दायाँबायाँका ५०० मिटर क्षेत्र, भैरहवा भूमही सडकखण्डको बालगोविन्द पेट्रोलपम्पको पश्चिम मञ्जरिया चोक हुँदै रामग्राम नगरपालिकाको दक्षिण भेगबाहेक रामग्राम नगरपालिकाको सबै क्षेत्र, परासीको बुद्धचोकदेखि सुनवल चोकसम्म दायाँबायाँ ५०० मिटर क्षेत्रमा एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, सम्मेलन तथा प्रदर्शन गर्न, जुलुस धर्ना गर्न नपाउने गरी निषेधित क्षेत्र थप गरिएको उनले जानकारी दिए।

सरकारी कार्यालयमा आगजनी

जिल्ला प्रशासन कार्यालयले काजजात राखेको जिल्ला विकास समिति रौतहटको पुरानो भवनको कोठामा सोमबार बिहान आगजनी भएको छ। मधेसी मोर्चाले गरेको बन्दको १६औँ दिनमा जिविस रौतहटको पुरानो भवनमा आगजनी हुँदा कागजातहरु जलेर नष्ट भएका छन्। जिल्ला प्रशासन कार्यालयको भवन निर्माणको क्रममा रहेकाले जिविस भवनको कोठामा कागजपत्र स्टोर गरी राखिएको थियो।

आगो लागेपछि सुरक्षाकर्मीले वारुणयन्त्रको सहयोगमा आगो निभाएका छन्। आगजनीबाट जिल्ला प्रशासन कार्यालयका फाइल तथा विभिन्न कागजपत्र र केही फर्निचरहरु जलेर नष्ट भएको छ। आगो मधेसी मोर्चाका कार्यकर्ताले लगाएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.