नेतालाई घुँडा टेकाउने सभासद्को चेतावनी

tharu_women-2

एनेकपा माओवादीका सभासद् मानपुर चौधरीले सम्पूर्ण शोषित उत्पीडित समुदायहरु एकतावद्ध सशक्त आन्दोलन गरेर राज्यपक्षलाई घुँडा टेकाउने चेतावनी दिएका छन् । थारु महिला कल्याणकारिणी सभा सप्तरीद्वारा राजविराज स्थित शहीद दशन चौकमा आइतवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । तराई–मधेशका थारु तथा मधेशीहरुलाई शासक वर्गले अझैं दास बनाउन खोजेको प्रष्ट्याउँदै उनले भने– थारु, मधेशी, मुस्लिम, दलित लगायतका समुदायहरु एकजुट भई सशक्त आन्दोलन गरेर शासकवर्गलाई घुँडा टेकाउनेछौं ।

प्रधानमन्त्री शुशील कोइराला, एमाले अध्यक्ष  केपी ओलीलगायतका नेताहरुको जन्म भारतमै भएको फेहरिस्त सुनाउँदै सभासद् चौधरीले आफैँ अन्यत्रबाट आएका नेताहरुले थारु भूमीपुत्रहरुलाई विदेशी भन्ने गरेकोप्रति आक्रोश व्यक्त गरे । आफूले प्रतिनिधित्व गरेको पार्टी समेत थारु र मधेशी जनताप्रति जिम्मेवार नदेखिएको बताउँदै उनले भने– हामी थारु, मधेशी, मुस्लिम, दलित लगायतका समुदायहरु यसपटक चुक्यौं भने पहिचान नै मेटिने भएकोले आन्दोलनलाई अझ सशक्त बनाउनु जरुरी छ ।

थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरीले पूर्व–पश्चिम लोकमार्ग रातीको समयमा सवारी साधनहरु स्कर्टिङ्ग गरेर राजधानी काठमाण्डौ पठाउने गरेकोले त्यसलाई रोक्नका मधेशी मोर्चाको ध्यानाकर्षण गराए । थारु कल्याणकारिणी सभा तथा मधेशी मोर्चाले संयुक्त रुपमा हज्जारौं जनमानसका साथ राजमार्ग अवरुद्ध गराए मात्र शासक वर्गको ध्यान केन्द्रित हुने उनले बताए ।

राष्ट्रिय आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष दिलकुमारी चौधरीले कैलाली घटनामा महिलाहरुमाथि सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै हालसम्म सत्यतथ्य कुरा सार्वजनिक हुन नसकेकोमा आक्रोश व्यक्त गरे । सञ्चारमाध्यमहरुले समेत सत्यतथ्य सार्वजनिक नगरेको प्रष्ट्याउँदै उनले भने– मिडियाहरुले सत्य–तथ्य सार्वजनिक गर्नुपर्नेमा एकपक्षीय रुपमा सरकारी पक्षको कुरा मात्रै बोलिरहेको छ ।

थारु महिला कल्याणकारिणी सभाकी अध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाती महासंघका पूर्वाञ्चल सदस्य रघु चौधरी, शर्मिला चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । यसअघि थारु महिलाहरुद्वारा निकालिएको साइकल ¥याली राजविराजको विभिन्न भाग परिक्रमा गरेको थियो ।
यसैगरी बौद्धिक एवम् पेशागत संगठनले समेत आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । र्‍यालीमा प्राध्यापक, शिक्षक, वकिल, नागरिक समाज, बुद्धिजिवी समेतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.