गच्छदारले बोलेको कुरो कार्यान्वयन गरे पत्याउछौं : रामजनम (अन्तर्वार्ता)

Ramjanam Chaudhary
एक साताअघि आफ्ना अध्यक्ष विजयकुमार गच्छदारले सीमांकनको सहमतिपत्रमा हस्ताक्षर गर्दैगर्दाको मध्यरात मधेसी जनअधिकार फोरम महासचिव रामजनम चौधरीले त्यसलाई मृत्युपत्रको संज्ञा दिँदै आफूलगायत थारु सभासद् नेताहरु गच्छदारको निर्णयसँग ‘सती नजाने’ कडा प्रतिक्रिया दिँदै थिए । हिजो बिहीबार र आज शुक्रबार जारी दलको राजनीतिक समिति बैठकमा नेताहरुले गच्छदारविरुद्ध चर्को आक्रोश पोखे । दोस्रो दिनको बैठक सकिनेबित्तिकै महासचिव चौधरीसँगको कुराकानी :

तपाईको पार्टीको बैठकमा के-के कुरा भएको छ ?
अध्यक्षज्यूले हिजो बैठक सुरु हुनेबित्तिकै आफ्नो कुरा राख्नुभयो । थरुहटविनाको सीमांकनमा चित्त नबुझे पनि राष्ट्रको परिस्थिति हेरेर हस्ताक्षर गरेको बताउनुभयो । नेता साथीहरुले आफ्नो कुरा राखिसक्नुभएको छ । विजय दाइले उठेका प्रश्नमाथि भोलि जवाफ दिनुहुनेछ । निर्णय भोलिमात्रै हुन्छ ।

तपाईंहरुले अध्यक्षको चर्कै आलोचना गर्नुभएछ ।
आलोचनाभन्दा पनि सहमतिमा तपाईंको ‘नोट अफ् डिसेन्ट’ को अर्थ के हो भनी सोध्यौं । उहाँले  संवाद समितिमा फरक मत राख्दै संविधानको बाटो खोल्ने साहस गरेको बताउनुभयो । ‘मुद्दा छाडेको होइन, यो सीमांकनमा फेरबदल नभए स्वीकार गर्दिनँ’ भन्नुभएको छ ।

अध्यक्षको जवाफमा तपाईंहरुले चित्त बुझाउनुभयो त ?
बैठकमा हामीसँग बोलेका कुरा कार्यान्वयन गरेर देखाउनुहोस्, अनि पत्याउछौं भनेका छौं ।

तपाईंहरुको पार्टी फुट्ने हल्ला छ नि ?
कुनै पनि साथीले औपचारिक रुपमा यस्तो कुरा गरेका छैनन् । हाम्रो पार्टीले जनताको अधिकार र राष्ट्रिय निकासका लागि मध्यमार्गी बाटोबाट जाऔं भनेको छ । यस भावनाबाट कोही विचलित भइहाल्ला भन्ने लाग्दैन ।

थरुहट आन्दोलन चर्किरहेछ, तर तपाईंहरुले औपचारिक रुपमा केही रेस्पोन्स गर्नुभएको छैन नि ?
हाम्रो पार्टीले निर्णय नगरे पनि हाम्रो अनौपचारिक समर्थन छ । पार्टीका सबै साथीहरु सडकमा निस्किसकेका छन् । पार्टीले सहयोग पनि गर्छ । तपाईंको कान्तिपुरमा हाम्रो पार्टीको झन्डा बोकेका मानिसहरु सडकमा ओर्लेको फोटो छापिएको छ ।

तपाईहरुलाई संविधानसभाबाट राजीनामा दिएर सडकमा आउन दबाब परेको हो ?
त्यस्तो त कसैले भनेजस्तो लाग्दैन । जनताले हामीलाई निर्वाचित गरेर पठाएका हुन् । हामीलाई संविधान बनाउने, अधिकार रक्षा नहुने भए सदनभित्रै लड्ने जनादेश छ । त्यसैअनुसार हामी रातदिन सडक र सदनमा लडेका छौं । लोकतन्त्रमा सदनको लडाइ कमजोर हुनुहुन्न ।

मधेसी मोर्चासँग तपाईंहरुको तिक्त सम्बन्ध सुधार्नुहुन्न ?
उनीहरु आफ्नो काम गर्छन् । हामी आफ्नो काम गर्छौं । उनीहरुको पार्टी–पार्टीबीच मोर्चा छ । हामी झन्डाहरुको तल बसेर काम गर्छौं । मधेसी सभासद्, कार्यकर्तासँग हाम्रो सहकार्य सुरु भएको छ ।

मधेसी मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ, यसमा तपाईंहरुको भूमिका के हुन्छ ?
हामी त पहिल्यैदेखि संघर्षमै छौं । थरुहट संघर्ष समिति, थारु कल्याणकारी सभा र थारु सभासद् संघर्ष समिति तीन संस्था मिलेर संघर्ष गरिरहेका छौं । हामीलाई पो उहाँहरुले सघाइरहनुभएको छ ।

सरकार र ठूला दलले के गरे भने आन्दोलन छाड्नुहुन्छ ?
थारु बहुल कैलाली कञ्चनपुर र पूर्वका मोरङ, सुनसरी, झापाको भूगोललाई उचित ढंगले सम्बोधन गर्नुपर्‍यो । यी दुवै भूगोललाई कुनै पनि हालतमा पहाडमा मिसाउनु हुँदैन । बरु सप्तरी सिरहासँगै मधेस प्रदेशमा मिलाए पनि हुन्छ । तर, पहाडमा चाहिँ मिसाउनुभएन।

बसन्त बस्नेत/कान्तिपुर

Leave a Reply

Your email address will not be published.