राज्यले ठग्यो, अब निर्णायक आन्दोलन : चितवनका थारु

कारी महतो थारु
थारु कल्याणकारिणी सभा (थाकस) चितवन प्रगन्न नं. १ (माडी प्रगन्ना)मा अगुवा थारुहरुको समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय सभापति टुमराज महतोको अध्यक्षता तथा केन्द्रीय सदस्य सन्तबहादुर महतो र जिल्ला सभापति विश्राम महतोको उपस्थितिमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा एक निश्कर्ष निकालिएको छ।
राज्य र शासकहरुले थारुहरुलाई बारम्बार ठग्दै आएकोमा नयाँ संविधान निर्माणको क्रममा पनि ठग्न खोजेको हुँदा चितवनको थारुहरु बसोबास गर्ने थरुहट भूमि पहाड र हिमालमा गाभेर प्रदेश बनाउन नहुने कुरा विगतदेखि नै आवाज उठाउँदै आएकोमा हाल आएर फेरि पनि चितवनको थरुहट भूमिलाई पहाड र हिमालमा मिसाएर सीमाङ्कनको खाका ल्याउन लागेकोले चितवनका मूलबासी भूमिपुत्र थारुहरुको सम्पूर्ण पहिचान नष्ट हुनुका साथै अल्पमतमा समेत पर्न जाने हुँदा थाकस केन्द्रीय समितिले घोषणा गरेको आन्दोलनमा पूर्ण समर्थन जनाउँदै सबै एकजुट भइ सशक्त संघर्ष गर्ने निश्कर्ष निकालिएको हो।
अन्तरक्रिया कार्यक्रममा थारु पत्रकार संघका अध्यक्ष कारी महतोले वर्तमान वस्तुस्थिति बारे जानकारी गराएका थिए। थारु विद्यार्थी समाजका पूर्व केन्द्रीय उपाध्यक्ष ललित कुमार चौधरी र थाकस पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीलेले विषयवस्तु बारे थप प्रकाश पारेका थिए।
केन्द्रीय सदस्य सन्तबहादुर चौधरी र जिल्ला सभापति विश्राम महतोले केन्द्र तथा जिल्लाका संघर्षका कार्यक्रमबारे जानकारी गराएका थिए। अन्तरक्रिया कार्यक्रममा आदिवसी जनजाति महासंघ माडी समन्वय समितिका कारी प्रसाद महतो, कृष्ण चौधरी, रामकृष्ण चौधरी, लीलकुमार गुरौ, विश्वमति चौधरी, सुक्रमी चौधरी, जगत प्रसाद महतो, सिताराम पावे, चित्रमणी महतो लगायत २३ जनाले आफ्ना राय व्यक्त गरेका थिए।
कार्यक्रम थाकस माडीको निर्माणधिन भवन अगाडि भएको थियो। भोलि पश्चिम चितवनको टार प्रगन्नामा कार्यक्रम हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published.