सिकलसेलको अनुसन्धान वैज्ञानिक तरिकाबाट, अवस्था डर लाग्दो

अविनाश चौधरी
धनगढी- कैलालीको सेती अञ्चल अस्पतालले वैज्ञानिक तरिकाबाट सिकलसेल एनिमिया रोगको अनुसन्धान गरेको छ। फिजिशियन डा. शुभेषराज कायस्थको नेतृत्वमा पाँच जना चिकित्सकको टोलीले अनुसन्धान गरेको हो। छ महिनासम्म गरिएको अनुसन्धानबाट पश्चिमका थारु समुदायमा देखा परेको सिकलसेल रोगको अवस्था डरलाग्दो रहेको पाइएको डा. कायस्थले जानकारी दिए।

उनले भने- ‘हामीले विरामीको मृगौला, रगत सहित विभिन्न परीक्षण र विरामीसंग अन्तवार्ता गरेका थियौं। त्यस क्रममा सिकलसेलले आँखा, कलेजो, फोक्सो, हड्डी, मृगौला लगायतका बहु अङ्गमा असर गरेको देखा पर्‍यो।’

अनुसन्धानमा समेटिएका विरामीलाई आँखा परीक्षणका लागि गेंटा आँखा अस्पताल पठाउँदा १२ जनामा आँखाको समस्या पनि देखिएको जनाइएको छ। सिकलसेल लागेका विरामीले वर्षमा एक पटक र कुनै असामान्य अवस्था आएमा तुरुन्त अस्पतालमा गएर परीक्षण र उपचार गराउनु पर्ने चिकित्सकले सुझाएका छन्।

Sickle-Cell

बढी जसो विरामी जण्डिस, एनिमिया र हड्डी दुखाई भएर उपचारका लागि आएको डा. कायस्थको भनाई छ। विक्रम सम्वत २०७० सालदेखि अस्पतलामा व्यवस्थित तरिकाले सिकलसेल विरामीको तथ्याङ्क राख्न सुरु गरेको अस्पतालले २०१५ को जनवरी १ देखि जुलाई ३१ सम्म अनुसन्धान गरेको थियो। अनुसन्धानबाट ८७ प्रतिशत चौधरी थारु र १२ प्रतिशत राना थारुमा सिकलसेल रोग लाग्ने गरेको तथ्य फेला परेको जनाइएको छ।

६० जना विरामीमा गरिएको अनुसन्धानमा रोगीहरु धेरै जटिल अवस्थामा रहेको पाईएको डा. कायस्थले बताए। उनले अधिकांश विरामीहरुमा जनचेतना अभाव रहेको र रोगै पत्ता नलाग्दै कतिपयले सिकलसेलबाट ज्यान गुमाएको दाबी गरे।
डा. कायस्थले अनुसन्धानबाट प्राप्त नतिजालाई अन्तर्राष्ट्रिय ‘जर्नल’ मा उल्लेख गरिने जानकारी दिएका छन्।

अस्पतालले तथ्याङ्क राख्दै आए यता चार जना विरामीको उपचारको क्रममा ज्यान गएको छ। मृत्यु भएको दुई जना विरामीमाथि पनि चिकित्सक टोलीले अनुसन्धान गरेको थियो।

चिकित्सकका अनुसार कञ्चनपुर पिपलाडीकी १८ वर्षीया सबिना चौधरी र कैलाली उर्माकी १९ वर्षीया संगिता चौधरीको गत जेठमा सिकलसेलबाट ज्यान गएको छ। त्यस्तै, २०७१ सालमा कैलाली गेंटाका मंगल चौधरी र धनगढी क्याम्पस रोडका विपिन चौधरीको ज्यान गएको थियो।

ज्यान गुमाएकाहरु जण्डिस, एनिमिया र हाड दुखाई समस्याका क्रममा अन्तिम अवस्थामा उपचारका लागि आउँदा आयु लम्ब्याउन नसकिएको चिकित्सकको भनाई छ।

विरामीहरुको समयमै पहिचान भएर समयमै उपचार गर्न सकिए आयु लम्ब्याउन सकिने डा. कायस्थले बताए। उनले भने–’नियमित उपचार भएमा सिकलसेलबाट पीडित पुरुष ४२ र महिला ४८ वर्षसम्म बाँच्न सक्छन्।’

सेती अञ्चल अस्पतालले हालसम्म एक सय ३० जना विरामी अस्पतालमा उपचारका लागि आएको जनाएको छ। जसमध्ये ६८ जनाले विपन्न सेवा अन्तर्गत सरकारी अनुदानमा उपचार गराइ रहेको सिकलसेलका फोकल पर्सन यशोदा ढकालले जानकारी दिइन्। उनले ८० प्रतिशत विरामीहरुलाई अस्पतालले ‘काउन्सिलिङ्ग’ गरिरहेको जानकारी दिए।

सिकलसेल रोग लागेका विरामीले जीवनभरीका लागि एक लाख रुपैया बराबरको उपचार सेवा पाउने व्यवस्था सरकारले नै गरेको छ।

सेती अञ्चल अस्पताललाई सिकलसेल रिफरल अस्पतालको रुपमा सेवा दिन सरकारले निर्देशन दिए पनि यहाँ अझै सिकलसेल परीक्षण गर्न सकिने उपकरणहरु छैनन्। अस्पतालले आफ्नो आन्तरिक लगानीमा अनुसन्धानका साथै काठमाण्डौंमा रगत परीक्षण गर्न पठाएको थियो।

यसैबीच, थारु समुदायका अगुवाले सिकलसेलमुक्त समाजको निर्माण हुनु पर्नेमा जोड दिएका छन्। २०७० साउन २० गतेदेखि सिकलसेलको बारेमा गतिविधि थालेका उक्त समुदायले साउन २० गतेलाई जागरण दिवसका रुपमा लिएर अगाडि बढ्ने बताएका छन्।

इञ्जल नेपालको सहयोग र थारु नागरिक समाज कैलालीको आयोजनामा यहाँ भएको सिकलसेलमुक्त समाजको निर्माणमा सरोकारवालाको भूमिका विषयक गोष्ठीमा सहभागि अगुवाहरुले सेती अञ्चल अस्पतालले गरेको कार्यको प्रशंसा गरेका थिए।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सचिव राचरण चौधरी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका गया प्रसाद कुश्मी, अधिवक्ता जोहारीलाल चौधरी, थारु नागरिक समाज कैलालीका अध्यक्ष दिल बहादुर चौधरी लगायतले आधुनिक उपकरणबाट विरामीहरुको स्वास्थ्य परीक्षण र अनुदान रकम बढाउनु पर्ने जोड दिएका थिए। उनीहरुले सिकलसेलमुक्त समाज कसरी निर्माण गर्न सकिन्छ, त्यसतर्फ सरोकारवालाले ध्यान दिन आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागि डा. शुभेषराज कायस्थ सिकलसेलबाट जोगिन सङ्क्रमित महिला पुरुष बीच विवाह रोकिनु पर्ने र सङ्क्रमित विरामीलाई प्राथमिकताका आधारमा उपचार गरिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published.