प्रधानमन्त्री र बाबुरामलाई थाकसको ज्ञापन पत्र

Dhaniram Chaudhary with PM Shushil Koirala copy

थारु कल्याणकारिणी सभाले ४५ बुँदे माग राख्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ। स्वायत्त प्रदेश र संवैधानिक थारु–थरुहट आयोगलगायत मागसहित सभाका अध्यक्ष धनिराम चौधरी नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बुझाएको हो। शनिबारमात्रै संविधान सभाभित्रका थारु सभासद्हरुले आठ बुँदे मागसहित प्रधानमन्त्रीलगायत शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाएका थिए।

Dhaniram Chaudhary and PM Shushil Koirala

तराईको मूल आदिवासी थारु भएको र उनीहरुको छुट्टै पहचिान हुँदाहुँदै अब बन्ने संविधानको मस्यौदामा थारुका हक अधिकार नसमेटिएको भन्दै दबाब दिनुपरेको अध्यक्ष चौधरीले बताए। उनले अब बन्ने नयाँ संविधानमा स्वायत्त थरुहट प्रदेशलगायत थारुका मुद्दा सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिए। ‘तराईको मूल आदिवासी थारु भएको थाहा हुँदाहुँदै राज्यले हामीलाई विभेद गर्दै आएको छ,’ ज्ञापन पत्र बुझाउँदै चौधरीले भने, ‘अब बन्ने संविधानमा हाम्रो माग सुनुवाइ होस्। अन्यथा हामी आन्दोलन गर्न विवश हुनेछौं।’

Dhaniram Chaudhary with Krishna Prasad Sitaulaप्रधानमन्त्रीले थारुहरु साँच्चै नै राज्यको मूल आदिवासी र पुरानो जाति भएको बताए। उनले थारुहरु विभेद्मा परेको स्वीकार्दै माग जायज रहेको बताए। ‘थारुहरु राज्यका मूल आदिवासी र पुरानो जाति हो। उनीहरुलाई पहिचान र अवसर दिलाउनु राज्यको दायित्व हो,’ प्रधानमन्त्री कोइरालाले भने, ‘सतप्रतिशत माग पूरा गर्न नसकेपनि राज्य तपाईँका मागप्रति सकारात्मक छ।’

माग पत्रमा तराई जिल्लालाई उत्तर–दक्षिण नभएर चुरेसहितको पूर्व–पश्चिम सीमाकंन गर्न सुझाइएको छ। ‘प्रदेशको सीमांकन गर्दा पश्चिम कञ्चनपुर, कैलालीदेखि सुर्खेत, दाङ, नवलपरासी, चतिवन, उदयपुर उपत्यका हुँदै पूर्व झापासम्म चुरेसहतिको दक्षिणी भूभागलाई समेटेर पहिचानका पाँच र सामर्थ्यका चार आधारमा स्वायत्त प्रदेश निर्माण हुनुपर्छ,’ माग पत्रमा उल्लेख छ, ‘प्रदेशभित्र जातीय वा भाषिक अल्पसंख्यकहरुको सघन क्षेत्रमा अधिकार सम्पन्न स्वायत्त र संरक्षित क्षेत्र बनाउनुपर्छ।’

Tha Ka Saअध्यक्ष धनिराम चौधरीकै नेतृत्वमा सभाले आइतबारै राजनीतिक सम्बाद तथा सहमति समितिका अध्यक्ष बाबुराम भट्टराई र संविधान मस्यौदा समितिका सभापति कृष्ण्प्रसाद सिटौलालाई ज्ञापन पत्र बुझाएको छ। समितिका सभापति बाबुराम भट्टराईले मागलाई सहजरुपमा लिँदै शीर्ष नेताहरुबीच कुरा राख्ने प्रतिबद्धता जनाए। सिटौलाले पनि थारुका माग सम्बोधन हुनुपर्ने बताए।

टोलीमा सभाका पूर्वमहामन्त्री राजकुमार लेखी, नेपाली कांग्रेसका सभासद् पद्मनारायण चौधरी, सुरेन्द्र चौधरी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की सभासद् रुक्मिणी चौधरीलगायत सहभागी थिए।

Leave a Reply

Your email address will not be published.