कारी महतो/चितवन।
करोडौं रुपैयाँ बराबरको जग्गा निःशुल्करुपमा दिए पनि रत्ननगर नगरपालिकाले जग्गादातालाई उचित सम्मान गर्न सकेको छैन। रत्ननगर नगरपालिका वार्ड नं. १, निपनीका कृष्ण चौधरीले निजका बुवा स्वर्गीय नाथुराम महतोले रत्ननगर नगरपालिकालाई निःशुल्करुपमा जग्गा दिए पनि नगरपालिकाले स्वर्गीय बुवाको सालिक बनाउन नमानेको जनाएको छ।
स्वर्गीय नाथुराम महतोले वि.सं. २०२२ साल पुस १० गतेका दिन साविक डेबैली गाविस तथा हालको रत्ननगर नगरपालिकालाई १९ कट्ठा ३ धुर क्षेत्रफल जग्गा निःशुल्क दिएका थिए। तर संरक्षणका अभावमा पछि त्यो जग्गा ११ कट्ठा १२ धुरमा सिमित हुन पुग्यो। त्यस जग्गामा नगरपालिकाले भवन बनाएर भवनको भित्तामा एउटा एक वर्गफिटको शिलालेखमा उक्त जग्गा स्व. नाथुराम महतोले दिएको कुरा उल्लेख गरेको छ।
नगरपालिकालाई मात्र होइन, उहाँले २०२७ सालमा हरिहर मन्दिरलाई पनि एक बिघा जग्गा निःशुल्क दिएका हुन्। हाल भैरहेको जग्गा खरिद बिक्रीको मूल्यअनुसार नगरपालिकालाई दिएको जग्गाको मूल्य पाँच करोडभन्दा बढी हुन्छ। मन्दिरलाई दिएको जग्गा राजमार्गमा मोहडा परेकाले त्यसको मूल्य दश करोडभन्दा बढी हुन जान्छ। तर ती जग्गा निःशुल्क रुपमा दिए पनि सम्बन्धित निकायले जग्गादातालाई उचित सम्मान गर्न नसक्नु निकै लज्जास्पद कुरा हो। विगतमा नगरपालिकाले स्व. नाथुराम महताको शालिक बनाउन औपचारिक निर्णय पनि गरिसकेको थियो। तर कार्यान्वयन भएन।
स्व. नाथुराम महतो वि.सं. १९९१ साल वैशाख २१ गते मंगलबार रत्ननगर नगरपालिकाको वडा नं. ४, भोकहा गाउँमा सम्पन्न परिवारमा जन्मेका थिए। उहाँका पिता सुखली चौधरी आर्थिक रुपले निकै सम्पन्न थिए। स्व. नाथुराम महतो ५ वर्षको छँदा नै उनको आमाको देहान्त भएकोले लालनपालन कान्छी आमाबाट भएको थियो। उहाँको बाल्यकाल भोकहा, मझुई र कठारमा बितेपनि पछि उनी २०१२ सालमा निपनीमा जिम्दारी किनेर बसोबास गरेका थिए।
उहाँको बाल्यावस्थाको समयमा थारु समुदायका बालबालिकालाई पढाउने चेतना र अध्ययन अध्यापन गर्ने ठाउँको अभावमा पढाउने चासो लिइँदैनथ्यो। तर उहाँको बुवा निकै समझदार भएकाले उनलाई कलैया र वीरगञ्जमा राखेर कक्षा १० सम्म पढाएका थिए। उनका चार छोरा र बुहारीहरु निपनीमा बसोबास गर्छन्। उनका भाइ स्व. रामसिंह चौधरीका चार छोराहरु भोकहामै बसोबास गर्छन्। उनका दुई श्रीमती, चार छोरा र बुहारी, ६ छोरी र ज्वाई तथा २३ जना नातिनातिना छन्।
स्व. नाथुराम महतोले आफ्नो जीवनकालमा शैक्षिक संस्था, बाटोघाटो, नहर कुलो, पर्यावरणप्रति निकै जागरुक हुँदै निरन्तर इमान्दारी र निष्ठाका साथ समाजसेवा गरेको कुरा नेपाली कांग्रेसले उनको श्रद्धाञ्जली प्रतिवेदनमा उल्लेख गरेको छ। उहाँ २०२१ सालमा सक्रिय राजनीतिमा प्रवेश गरी २०२३ सालमा जनपक्षीय प्रधानपञ्चमा निर्वाचित भएका थिए। राजनीतिलाई विकास र समाजसेवाको माध्यमको रुपमा लिने स्व. नाथुराम महतोले राजनीतिमा लागेर केही कमाउनु भएन बरु नगरपालिका, विद्यालय, हरिहर मन्दिरलाई जग्गाजमिन दान गर्नुभयो। तर यसरी जग्गा जमिन निःशुल्क दिए पनि जग्गादातालाई कुनै सम्मान गर्न नसकेको सम्झेर निजका सम्पूर्ण सन्तान दुःख व्यक्त गर्न्।
स्व. नाथुराम महतोले आफ्नो जीवनकालमै नगरपालिकाले सालिक निर्माण गरिदिन र आफ्ना परिवारका दुई सदस्यहरुलाई योग्यता अनुसारको रोजगार प्रदान गर्न बारम्बार अनुरोध गर्नु भए पनि नगरपालिकाले बेवास्ता गर्दै आएको छ। उहाँको चाहना पूरा नहुँदै आखिरमा वि.सं. २०६५ चैत २८ गते उहाँको ७५ वर्षको उमेरमा निपनी गाउँमा निधन भयो। जीवनभर नेपाली कांग्रेसको सक्रिय सदस्य रहेर सेवा गर्नुभएका स्व. नाथुराम महतोको सपना पूरा गर्न त्यस दलले पनि उहाँको श्रद्धाञ्जली सभामा दुई शब्द गुणगानबाहेक केही गर्न चाहेको छैन।
नगरपालिकाले चाहेमा एउटा सालिक त के दर्जनौं सालिक बनाइ दिन सक्छ। तर किन यस विषयमा चासो नदेखाएको, त्यो त नगरपालिकालाई नै थाहा होला। विगतमा यस विषयमा नगरपालिकाले औपचारिक निर्णय पनि गरिसकेको थियो। तर त्यो निर्णय कार्यान्वयन हुनुका सट्टा निर्णय पुस्तिका नै गायब हुनु निकै रहस्यमय बनेको छ।
हरेक वर्ष करोडौं रुपैयाँ फ्रिज भएर फिर्ता पठाउने नगरपालिकाले एक दुई लाखको सालिक बनाउन नसक्नु निकै लाजमर्दो कुरा हो। आवश्यक परेको बेलामा एउटा सोझो समाजसेवीलाई ललाइफकाई जग्गा दान गर्न उक्साउने अनि पछि खोलो तरेर लौरो बिर्से झैं नगरपालिकाजस्तो जिम्मेवार स्थानीय निकायलाई लाजमर्दो कुरा नभइ के हुन सक्छ?
नगरपालिकाजस्तो सरकारी स्थानीय निकायले त यस्तो धोकापूर्ण र घटिया काम गर्छ भने विगत साठी-सत्तरी वर्षमा चितवनका भूमिपुत्र आदिवासी समुदायलाई, उनीहरुको सोझोपनालाई आयातित वर्गले धोका र जालसाजी तरिकाले कति जग्गाजमिन हड्पेर लिएका होलान्? यी र यस्ता विषयलाई थारु समुदायले उठान गर्यो भने उल्टै फलानोले साम्प्रदायिक कुरा गर्यो भनेर दोष दिने गरिन्छ। यस्ता यथार्थ विषयवस्तुलाई उजागर गर्दा चाहे साम्प्रदायिकताको बिल्ला नै भिर्न किन नपरोस् तर थारु अगुवाहरुले आवाज बुलन्द गर्नैपर्छ।