थारू समुदाय, साहित्य र मेरो सपना

Krishnaraj Sarwhari

कृष्णराज सर्वहारी।

हिन्दी कवि पाशले भनेका छन्– जिन्दगीमा सबैभन्दा खतरनाक भनेको हाम्रो सपनाको मुत्यु हुनु हो। जसले सपना देख्न सक्दैन, त्यसले कहिल्यै उन्नति गर्न सक्दैन। फेसबुक थारू कम्युनिटी वालले हालै आफनो वार्षिकोत्सव मनाउने क्रममा वक्ताहरूलाई विषय दिएको थियो– तपाईले हालसम्म आफ्नो समुदायको लागि के गर्नु भयो? भविष्यमा के गर्ने सोँच छ? वास्तवमा सोंच भन्नु नै सपना हो। वक्ता विद्यार्थी नेताहरूले आफ्नो सपनाको कुरा ठ्वाक्क ठ्वाक्क बुँदागत रूपमा भन्न सकेनन्। यसको अर्थ उनीहरूको कुनै निश्चित सपना थिएन, छैन। अनि ती विद्यार्थी नेताहरू कसरी नेतृत्वको सर्वोच्च तहमा पुग्लान्? यस आलेखमा मैले पाइला टेकेको थारू समुदाय, साहित्य र मैले देखेको सपनाको खाका कोर्न चाहन्छुँ।

२०५३ सालमा गृह जिल्ला दाङदेउखुरी छाडेर काठमाडौँ उक्लिनुको मेरो जम्मा ३ उद्देश्य थिए। स्थापित पत्रिका हाउसमा छिर्नु, साहित्यिक वातावरणमा भिज्नु र एमएको सर्टिफिकेट लिनु। ६ वर्षको बसाइको दौडानमा मैले यी सबै प्राप्त गरिसकेको थिएँ। कामना प्रकाशन समूह हुँदै, अन्नपूर्ण पोष्ट दैनिकमा छिरेको थिएँ। २०५५ देखि २०६० सालको अवधिसम्म मेरो थारू भाषामा उपन्यास, मुक्तक, हाइकु संग्रह, लोककथा संग्रह प्रकाशित भए, जुन थारू भाषामा ती विधामा पहिला थिए। मार्टिन चौतारीको लेखनवृत्तिमा खगेन्द्र संग्रौला, भुवन ढुंगानाजस्ता अग्रजहरूसँग डेढ महिनाको लेखन शिविरमा लेखिएर तयार पारेको मुक्त कमैयाहरूको विषयवस्तुमा लेखिएको मेरो गन्तव्य उपन्यास पनि छापिइ सकेको थियो। साहित्यिक कार्यक्रममा पनि मेरो बाक्लो उपस्थिति थियो। यस अर्थमा मा साहित्यिक कार्यक्रममा पनि भिजिसकेको थिएँ। थेसिस नलेखी कथा सिर्जना गरेर मैले एमए पनि टुंग्याइ सकेको थिएँ। यसरी काठमाडाँै छिर्नुको तीनवटै उद्धेश्य भेटिइ सकेपछि, मेरो सपनाले साकार रूप ग्रहण गरिसकेपछि मलाई काठमाडौ बस्न मन लागेन।

मलाई लाग्यो, मलाई मेरो थारू समुदायले खोजिरहेको छ। मैले आफ्नो समुदाय केन्द्रित पत्रकारिता गर्नुपर्छ। आफनै समुदाय केन्द्रित साहित्य लेख्ने सिकारुहरूलाई उर्जा दिनुपर्छ। यहाँ बसें भने नेपाली भाषाको मात्र पत्रकारितामा सीमित हुनुपर्छ। त्यसैले, ६ वर्षको राजधानी बसाइलाई गुडबाइ गरेर नेपालगञ्ज ओर्लिएँ। थारू भाषाको रेडियो कार्यक्रम हमार शहिदान उत्पादनको म प्रमुख थिएँ। यो कार्यक्रममा सातामा तीन दिन रेडियो नेपाल सुर्खेत, घोडाघोडी एफएम कैलाली तथा रेडियो स्वर्गद्वारी दाङबाट प्रसारित हुन्थ्यो। काठमाडाँै बसाइको क्रममा पत्रिकामा सीमित मेरा पाठक रेडियोको श्रोताको रूपमा ह्वात्तै बढे। नेपालगञ्ज एक वर्ष बसाइमा कुनै महिना नबिराइ थारू साहित्यिक श्रृंखला त गरियो नै, गाउँ गाउँमा पनि साहित्यिक अभियानमा लगियो। थारू समुदाय केन्द्रित पत्रकारिता तालिम दिलाइयो। यसरी मैले देखेको सपना नेपालगञ्ज बसाईमा पनि सार्थक भए। रेडियो कार्यक्रमको लागि बोलाउने साथीहरुले मलाई ५ बर्षे कार्यक्रम भनेर सुनाएका थिए, तर बर्ष दिनमै रेडियो कार्यक्रम सकिएको जानकारी दिइयो। श्रोतको आधार सुकेपछि मेरो सपनाका पखेटा पनि कुँजो भए। त्यसो त राजधानी बसाइमा वर्षमा एक अंक थारू पत्रिका बिहान प्रकाशन गर्ने गरेकोमा नेपालगञ्जबाट अग्रासन मसिक ६ अंक प्रकाशन गर्दाको क्षण जेनतेन २ वर्ष नेपालगञ्जको बसाइलाई मैले ६ वर्षे मूल्याङ्कन गर्न रुचाउँछु।

मनले भन्न थाल्यो, तेरो सपना पुनः राजधानी बन्नु पर्छ। तँ यहाँ कुजिएर न बस्, तैँले थारू समुदायमा पत्रकारिता, साहित्यको बीउ यहाँ छरिसकिस्। यसरी म पुनः काठमाडाँै हानिएँ। एसएनभी संस्थाको अनुसन्धानमा तीन बर्ष होमिएँ, जसको नतिजा थारू गुर्वा र मन्त्र ज्ञान पुस्तक प्रकाशन भयो। थारू पत्रकार संघ गठन तथा दर्तामा भूमिका खेलें। मैले लोककथा संग्रह निकालेको प्रतिफल साझा प्रकाशनले लोक साहित्य पुरस्कार प्रदान गर्‍यो। रुम टु रिडले ती कथा भित्रका ४ कथालाई सचित्र कथाको रूपमा प्रकाशन गर्‍यो। पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा १ देखि ५ सम्मको थारू पुस्तकमा मेरो सहलेखन त छँदै थियो। राजधानी पुनः फिर्तीपछि प्राइवेट प्रकाशनको लागि कक्षा १ देखि ५ सम्मको एकल रुपमा थारू पुस्तक लेख्ने अवसर जुट्यो। मातृभाषा सेवामा लागेको भनेर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा सेवा पुुरस्कार अनि संस्कृति मन्त्रालयले क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गर्‍यो। यी यावत पुरस्कारले मलाई आफ्नो समुदायको साहित्यिक विकासको लागि लागी राख्न कुत्कुत्याइ रह्यो। विगत २ वर्षदेखि कीर्तिपुर त्रिभुवन विश्वविद्यालय परिसरमा मेरै संयोजकत्वमा थारू साहित्यिक श्रृंखलालाई निरन्तरता दिएको छौं। फलस्वरूप यसपाली मातृभाषा दिवसको अवसरमा २०७१ फागुन ८ र ९ गते राजधानीमा भएको दक्षिण एशियाली कवि सम्मेलनमा यो पंक्तिकार पनि प्रतिनिधि कविको रूपमा भाग लिने मौका पायो।

राजधानी पुनः उक्लिुनको मेरा पुरानै उद्धेश्य, सोंच, सपना थिए। बीचमा राजधानी छाडेर गल्ती गर्‍यो भन्नेहरू पनि छन् तर मलाई त्यस्तो लाग्दैन। अहिले गोरखापत्र दैनिकमा थारू भाषा पृष्ठ संयोजक तथा नेपाली तथा थारू द्वैभाषिक चली गोचाली मासिकको सम्पादक भएर पत्रकारिताको प्राण जोगाएको छुँ। लघुकथा, सामान्य ज्ञान, निबन्ध, कथा संग्रहको पाण्डुलिपी तयार छन्, प्रकाशनको खोजीमा छुँ। थारू संस्कृतिमा नेपाल संस्कृत विश्वविद्यालयबाट पिएचडी गर्दैछु। जिन्दगी पुनः पत्रकारिता, साहित्यिक चिन्तन, अध्ययन मननमा फर्किएको छ। खास कुरो यी सबै थारू समुदाय केन्द्रित छन्।

भाषा हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान। थरुहट प्रदेश बन्ला कि नबन्ला? त्यो भविष्यको कुरा हो। तर थारू भाषा, संस्कृतिको संरक्षण नहुँदासम्म नाम मात्रको थरुहट प्रवेशको औचित्य रहन्न। त्यसैले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बनेर दर्शन छाँट्ने मेरो कुनै सपना छैन, मेरो त सपना छ, कक्षा १ देखि एमएसम्मको पाठ्यपुस्तक तयार पार्ने। यसको लागि गतिलो साहित्यिक अभियान चाहिन्छ। र, त म दौडिरहेछु काठमाडाँैबाट घरी दाङ, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, कपिलबस्तु, चितवनसम्म थारू साहित्यिक अभियान लिएर। साहित्य नखारिँदासम्म डिग्री लेखनसम्म पठनपाठन गर्न सकिने विषपवस्तु प्राप्त गर्न सकिँदैन। म विगत एक दशकदेखि टेन टु फाइब जागिरे नभएर स्वतन्त्र लेखनमा छुँ, यसले मलाई थारू साहित्यिक अभियानमा लाग्ने समय पनि मिलेको छ। अहिले नयाँ शैक्षिक सत्र संघारमा छ। यस वर्ष आफ्नो गृह जिल्ला दाङदेउखुरीमा कक्षा १ देखि ५ सम्मको थारू पुस्तक लागु गर्ने अभियानमा होमिएको छुँ। जाँदा जाँदै मेरो प्रश्न छ– कोही छ? यो बुढो तन्नेरीलाई आफ्नो गाउँ गाउँठाउँबाट अभियानमा साथ दिने? कि आफ्नो समुदायप्रति तपाईका कुनै सपना छैनन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *