संजय थारु- वैशाख १ गते पूर्वी तराईमा थारुलगायत तराईबासीले शिरुवा तथा जुर शितल पर्व मनाउँदै आएका छन्। यो पर्व नयाँ वर्षको पहिलो दिन मनाउने भएकाले यो दिन नयाँ लुगा लगाइन्छ। यो पर्व बुढापाखा तथा अग्रज ब्यक्तिबाट बिहानै टाउकोमा पानी छर्केर मनाइन्छ।
बृद्ध तथा जेष्ठ नागरिकहरु बिहानै नजिकको पोखरी, ताल अथवा खोलामा नुहाउँछन्। नुहाएपछि नयाँ पहिरन लगाएर एउटा भाँडो (कमन्डोल)मा पानी लिन्छन्। त्यसलाई पिपल, आप, अम्बा आदि रुखको बोटको जरा अथार्थ शिर (थारु भासामा जरा)मा पानी चढाउँछन्। यस दिन रोपेको वा लगाएको बोटविरुवा नमर्ने विश्वाश पनि छ। त्यसैले कतिपयले यस दिन पारेर बोट बिरुवा लगाउँछन्।
यसका साथै सरा (मरेपछि जलाएको वा गाडेको ठाउँमा बनाएको माटोको ढिक्की)लाई पनि माटोले लिपिन्छ। लिपन कार्यको लागि चिक्नी माटो प्रयोग गरिन्छ। जुन (चिक्नी) माटोलाई थारु समुदायमा शुभ कार्यहरूमा घर, आँगन लिपन प्रयोग गरिन्छ। सरामा लिपेर आफ्नो बितेका पुर्खालाई पूजा गरिन्छ। त्यसपछि बुढाहरु आफूभन्दा सानाको टाउको अथार्त शिरमा पानी छर्किदै जुर शितल भनेर यो पर्व मनाइन्छ। सबै जना आफूभन्दा अग्रजबाट आशिर्वाद थाप्छन्।
यो दिन नयाँ वर्ष परेकाले सार्वजनिक विदा भए पनि सरकारबाट शिरुवा तथा जुर शितल भनेरै विदा दिएको पाइँदैन। यसलाई सरकारबाट अन्य जातको पर्वलाई विभेद्को रुपमा लिन सकिन्छ। यस पर्वको दिन ऐतिहासिक मेलाहरु लागिन्छ। यी मेलाअन्तर्गत सिराहाको फूलवारी मेला, सप्तरीको विभिन्न ठाउँमा पनि मेला लाग्छ। फूलवारी मेलालाई एक विशेष मेलाको रुपमा लिइन्छ। यस मेलामा सल्हेस देवतालाई पूजिन्छ। सल्हेस देवता मुसहर जातिको देउता हुन्। तर सल्हेस मन्दिरको पूजारी भने दनुवार जातिका छन्।
यसको अर्को विशेषता सल्हेस मन्दिर वरिपरिका बस्ती थारु बाहूल्य छन्। यस मेलाको मुख्य आकर्षण सल्हेस मन्दिरको छेउमा सेतो फूल फूल्छन्। जुन वर्षको एक पटकमात्र फूल्ने फुल हो। यहाँको मेलामा नेपालको मात्र नभएर भारतको विभिन्न ठाउँबाट पनि मेलामा सहभागी हुन्छन्।