लक्ष्मण थारु : कमान्डरदेखि थारु भिलेजको मालिकसम्मको यात्रा

Laxman Tharu

लक्का जवान छँदै हिटलर, मुसोलिनी र ईदी अमिनहरूको कथा पढिसकेका थिए, लक्ष्मण थारुले । त्यसैले त उनलाई राम्रोसँग थाहा थियो, यी तीन पात्र बन्दुक प्रेमका कारण विश्वनायकबाट खलनायक बने । नायक र खलनायकको कथा पानी पारिनसक्दै लक्ष्मणले अर्को कुरा पनि थाहा पाइसकेका थिए, त्यो के भने- विद्रोहको सार्थक निकासका लागि बन्दुक अनिवार्य सर्त हो । यसबारे उनले धेरै सोचेनन् । एक तुम्लेट पानी र एक पोको सातु बोकेर माओवादी युद्धमा होमिइहाले, लक्ष्मण । सुदूरपश्चिमको कैलालीमा जन्मेका थारु ०५५ सम्म तत्कालीन माओवादीको जिल्ला समिति सदस्य भइसकेका थिए । ‘सायद ०५८ तिर होला म बटालियन कमिसार बनेको,’ लक्ष्मणले कुराकानीको पहिलो ब्याट बजारे । बटालियन कमिसारको रूपमा रुकुमको खारादेखि म्याग्दीको बेनीजस्ता सुन्दै शरीर थर्थराउने लडाइँमा होमिए लक्ष्मण । भन्छन्, ‘०६३ सम्म म बटालियन कमिसार नै थिएँ ।’

Bijay kumar GAchdar and Laxman Tharu

माओवादी जनयुद्धका यी होनहार कमान्डर युद्धकालभरि ‘जिते संसार हारे हत्कडी’को कसम खाएर लडे । जब माओवादीले हतियार बिसायो, पार्टी नेताका गाडीहरू संसदीय राजनीतिको राजमार्गमै हुइँकिन थाले । कार्यकर्ताको मोटरसाइकल र साइकल पछिपछि दौडिए । तर, थारुले भने एकाएक माओवादी छाडिदिए । कुरा ०६४ सालको हो । लक्ष्मण भन्छन्, ‘अन्तरिम संविधानको पहिलो संशोधनमा तराईका २२ जिल्लालाई मधेस भनियो । माओवादीले पनि थारुहरूलाई मधेसी कोटामा राखिदियो । त्यसपछि माओवादी छाडेँ ।’ लक्ष्मणले माओवादी छाड्नुको कारण खोल्दा टेलबमा तातोपानीको कप आयो । उनी तातोपानीको कप समाउँदै तातिए, ‘मैले तराईमा थारुहरूको छुट्टै अस्तित्व छ, जसलाई नेतृत्व आवश्यक छ भनेँ । तर, बाबुराम भट्टराई र मातृका यादवले मानेनन् ।

Tharu Handycraft fair_Tharu village-2

थारुहरूको छुट्टै मोर्चा नबनाउनु पो भन्न थाले ।’ त्यति बेला उनी थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव त थिए । तर, बाबुराम र मातृकाको अगाडि ‘फुच्चे नेता’ जस्तै । बाबुराम र मातृकाले हुन्न भनेपछि उनको एक्लो जोरले केही लाग्दैनथ्यो । आफूभन्दा ठूला नेताले आफ्नो मूल कुरो नखाएपछि लक्ष्मण युद्ध हारेको सिपाहीजस्तै भए । त्यसपछि उनले माओवादीमा रहिरहनुको औचित्य देखेनन् । लगत्तै उनी माओवादी छाडेर आफ्नै मोर्चा सम्हाले । उनी गर्व गर्दै भन्छन्, ‘मैले ०६५ मा थरुहट संयुक्त संघर्ष समिति बनाएँ । एक मधेस एक प्रदेशविरुद्ध आन्दोलन गरेँ । किनकि, मैले मधेसमा थारुको पनि छुट्टै अस्तित्व छ भन्ने मुद्दा राष्ट्रिय राजनीतिमा स्थापित गर्नु थियो ।’ लक्ष्मणले थारुहरुको पहिचान र अस्तित्वको मुद्दालाई राष्ट्रिय राजनीतिको मूल स्वर नै बनाए । उनकै नेतृत्वमा स्थानीय थारुहरुले अधिकारका आवाज उठाउन सक्ने भए । त्यसपछि भने लक्ष्मणको राजनीतिक धार मोडियो । उनी फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरे ।

Tharu Village-3

अहिले लक्ष्मणलाई माओवादी मात्रै होइन, नेपालका कुनै कम्युनिस्ट पार्टी त्यति मन पर्दैन । ‘सच्चा कम्युनिस्ट त मन पर्छ । तर, नेपालका कम्युनिस्ट पार्टीहरू मलाई मन पर्न छाडिसकेको छ,’ उनी भन्छन्, ‘कम्युनिस्ट बनेर झुटा आश्वासन किन बाँड्छन् ? सर्वहाराको नारा भट्याउने करोडपति कम्युनिस्ट देख्दा घिन लाग्छ । त्योभन्दा त डेमोक्र्याटिक नै ठीक ।’ लक्ष्मण बितेका तीन वर्षदेखि फोरम लोकतान्त्रिक पार्टीमा राजनीतिक समिति सदस्य छन् । भन्छन्, ‘यहाँ बसेर पनि मैले आफ्नो मूल मुद्दा त छोडेको छैन । तर, मैले पार्टीको मूल्य, मान्यताअनुसार नै कार्य गर्नुपर्ने हुन्छ ।’

Tharu Village-1

लक्ष्मण अहिले राजनीतिसँगै अर्को पेसामा पनि जोडिएका छन् । अहिले उनी आफ्नो संस्कार–संस्कृति जोगाउन सक्रिय छन्- थारु भिलेजमार्फत्। लक्ष्मणले काठमाडौंको बिजुली बजारमा थारु भिलेज रेस्टुरेन्ट खोलेका छन् । जहाँ, थारु संस्कृति अनुसारका खाना पाइन्छन् भने, थारु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिन्छ । लक्ष्मणले मेची–महाकालीको यात्रा गर्ने नेताले कैलालीतिरका थारु बस्तीमा छिरेर तागतिलो घुँघीको स्वाद चाखेको देखेका थिए । उनी थारु समुदायको विशिष्ट परिकार घुँघीलाई काठमाडौंसम्म ल्याउन चाहन्थे । भन्छन्, ‘थारुहरूको घरमा पाकेको खाना धेरैले मन पराउँथे । नेताहरू थारुबस्तीमा पाक्ने मीठो खानाले पालिएका थिए । तर, त्यो व्यावसायिक हुन सकेको थिएन ।’ आफ्नो संस्कृतिको जर्गेना पनि हुने, आम्दानी पनि हुने । सकेसम्म गरिखाकै राम्रो ।

Tharu Village-7

लक्ष्मणले सबैले मन पराउने थारु संस्कृतिका खानपानसँगै सांस्कृतिक कलाको प्रवद्र्धन हुने गरी व्यवसाय गर्ने र सँगसँगै राजनीति गर्ने अठोट लिए । ‘थारुहरूको संस्कृतिलाई प्रवद्र्धन गर्नु नै मेरो पहिलो लक्ष्य हो,’ लक्ष्मण भन्छन्, ‘यो मेरो व्यवसाय पनि हो । कमिसन, घुसको घेरामा रमाएका नेतालाई नयाँ सन्देश पनि हो । नेताहरूलाई मागेर होइन, काम गरेर खाऊ भन्ने सन्देश दिन पनि रेस्टुरेन्ट खोलेको हुँ ।’ लक्ष्मण एसियाका धेरै मुलुक घुमेका छन् । भ्रमणका क्रममा उनी विभिन्न होटल रेस्टुरेन्टमा पसे, बसे । विभिन्न खालका रेस्टुरेन्टमा बस्दा उनलाई सोच आयो- आफ्नै संस्कृति झल्कने रेस्टुरेन्ट सञ्चालन गर्नु राम्रो हो । उनले ‘थारु भिलेज’ सञ्चालन गरेको चार महिना भइसकेको छ ।

लक्ष्मण आफ्नो व्यवसायलाई पोखरा हुँदै दुबई र मलेसियासम्म विस्तार गर्ने योजनामा छन् ।

घुँघीदेखि अन्डीको निगारसम्म

‘थारु भिलेज’को मुख्य विशेषता ‘थारु टेस्ट’ हो । थारु समुदायमा प्रख्यात ‘घुँघी’को तरकारीदेखि चामलको पिठोबाट बन्ने ‘बगिया’ र अन्डीको निगारसम्म पाइन्छ, थारु भिलेजमा । ‘यहाँ छिर्नेले परेवा, हाँस, बट्टाईको मासुदेखि नयाँ स्वादको बनाना वाइन समेत चाख्न पाउँछन्,’ लक्ष्मणले भने ।

Tharu Village-6

लक्ष्मणको भिलेजमा छिर्नेले मस्त मापसे गर्छ भने बासको चिन्ता गर्नुपर्दैन । त्यहाँ गेस्ट हाउसको व्यवस्था पनि छ । गेस्ट हाउसमा १५ कोठा छन्, त्यसमा पनि सबै डिलक्स । युद्धकालीन कमान्डर लक्ष्मण अहिले आफ्नो रेस्टुरेन्टमा चार घन्टा श्रम गर्छन् । भन्छन्, ‘बिहान बेलुकाको चार घन्टा थारु भिलेजका लागि छुट्याएको छु । अरु बेला राजनीति नै गर्छु ।’ लक्ष्मणको राजनीति र व्यवसायबारे फरक धारणा छ । ‘कहाँ राजनीति कहाँ व्यवसाय ! यो त प्राक्टिकल विषय हो नि । व्यवसाय मान्छेको साँझ–बिहानको जिन्दगीसित जोडिएको कुरा हो,’ उनले भने, ‘व्यवसाय धान्न त जुनसुकै पार्टीका मान्छेको मन जित्न सक्नुपर्छ ।’

दादागिरीको जमाना गयो

रेस्टुरेन्टभन्दा बित्तिकै लफडा हुने ठाउँ भन्ने पनि बुझिन्छ । रेस्टुरेन्टमा सानातिना टोलेदादादेखि राजनीतिक पार्टीको छहारीमा बस्ने गुन्डासम्म आउँछन् । तर, लक्ष्मणलाई यस्तो लाग्दैन । उनी भन्छन्, ‘दादागिरीको जमाना गयो । को छ यहाँ दादा ?’

राजेश भण्डारी/रातोपाटी साभर

2 thoughts on “लक्ष्मण थारु : कमान्डरदेखि थारु भिलेजको मालिकसम्मको यात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *